आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
आईपीएल

एम.चिन्नास्वामी स्टेडियममा पाँच वर्षपछि भिड्दै बैंगलुरु र पञ्जाब

हेड टु हेडमा पञ्जाब अगाडि
सोमबार, १२ चैत २०८०, १० : ३०
सोमबार, १२ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बैंग्लुरुले पञ्जाब किङ्सको सामना गर्दैछ । खेल बैंग्लुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा बैंग्लुरु र पञ्जाब दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । चेन्नईमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले बैंग्लुरुलाई ६ विकेटले हराएको थियो । पञ्जाब भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

पञ्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । एम. चिन्नास्वामी स्टेडियममा पाँच वर्षपछि बैंग्लुरु र पञ्जाब आपसमा भिड्न लागेका हुन् । यसअघि यो स्टेडियममा सन् २०१९ मा बैंग्लुरु र पञ्जाबबिच खेल भएको थियो । त्यतिबेला बैंग्लुरु १७ रनले विजयी भएको थियो ।

हेड टु हेडमा पञ्जाब अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म बैंग्लुरु र पञ्जाबबिच ३१ खेल भएको छ । त्यसमध्ये १४ खेलमा बैंग्लुरु विजयी भएको छ । १७ खेलमा भने पञ्जाबले सफलता हात पारेको छ । एम. चिन्नास्वामी स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा बैंग्लुरु र पाँच खेलमा पञ्जाब विजयी भएका छन् । घरेलु मैदानमा बैंग्लुरुको नतिजा केही उत्कृष्ट देखिन्छ ।

बैंग्लुरुमा उत्कृष्ट ब्याट्सम्यान

बैंग्लुरुको टोलीमा प्रभावशाली ब्याट्सम्यानहरुको उपस्थिति देखिन्छ । तर, टोलीलाई आवश्यक पर्दा प्रभावशाली ब्याट्सम्यानहरु खासै चलेको देखिँदैन । बैंग्लुरुमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिकजस्ता प्रभावशाली ब्याट्सम्यान छन् ।

तर, चेन्नईविरुद्धको खेलमा यी कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । बरु छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावतले २५ बलमा तीन छक्का र चार चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएका थिए ।

पहिलो खेलमा दिनेश कार्तिकले पनि अविजित २६ बलमा ३८ रन जोडेका थिए । यसका अतिरिक्त बैंग्लुरुले अल्जारी जोसेफ, यश दयाल र लोकी फर्गुसनलाई भित्राएर आफ्नो बलिङलाई पनि मजबुत बनाएको छ ।

लयमा देखिन्छन् पञ्जाबका साम कर्रन

पञ्जाबको टोलीमा पनि उत्कृष्ट ब्याट्सम्यानहरुको कमी छैन । टोलीमा शिखर धवन, साम कर्रन, लियाम लिभिङ्स्टोन, जोनी ब्रेस्टो, प्रभसिमरन सिंह, जितेश शर्माजस्ता प्रभावशाली ब्याट्सम्यान रहेका छन् । अलराउन्डर साम कर्रन लयमा देखिएका छन् ।

साम कर्रनले दिल्लीविरुद्धको पहिलो खेलमा ४७ बलमा एक छक्का र ६ चौकाको मद्दतले ६३ रन बनाएका थिए । पञ्जाबको टोलीमा अर्शदीप सिंह, कागिसो राबडा, नाथन एलिस, क्रिस वोक्सजस्ता प्रभावशाली बलर पनि छन् । हर्षल पटेललाई पनि भित्राएपछि पञ्जाबको बलिङ पक्ष अझ सुदृढ बनेको छ ।  

ब्याट्सम्यानलाई साथ दिने पिच

बैंग्लुरुको एम. चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त देखिन्छ । यो पिचमा ब्याट्सम्यानले बढीभन्दा बढी रन बनाउने गरेका छन् । बलिङतर्फ स्पिनरलाई यहाँको पिचले केही सहयोग पुर्याउन सक्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको ८८ खेल खेलिएको छ । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङमा ओर्लिएको टोलीले भने ४७ खेल जितेको छ । चार खेल भने अनिर्णित रुपमा सकिएको छ । यस्तो स्थितिमा टस जित्ने टोलीले पहिलो बलिङ गर्ने बढी सम्भावना देखिन्छ ।

छैन वर्षाको सम्भावना

बैंग्लुरुमा सोमबार मौसम सफा रहने समाचारमा जनाइएको छ । जल तथा मौसम विभागका अनुसार, वर्षाको कुनै पनि सम्भावना छैन । सोमबार बैंग्लुरुको तापक्रम २१ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

रोयल च्यालेन्जर्स बैंग्लुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, कर्ण शर्मा, अल्जारी जोसेफ, मयंक डागल र मोहम्मद सिराज ।

पञ्जाब किङ्स : शिखर धवन (कप्तान), जोनी ब्रेस्टो, साम कर्रन, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), हरप्रित बरार, हर्षल पटेल, कागिसो राबडा, राहुल चाहर, अर्शदीप सिंह र सशांक सिंह रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप