सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुँदै

आइतबार, ११ चैत २०८०, १६ : १८
आइतबार, ११ चैत २०८०

काठमाडौँ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले बताए ।

क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्ने छन् ।

प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगस्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि खेलाडी छनोटको आधार समेत रहेको छ । समान ३–३ पुरुष/महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुने छन् ।

व्यक्तिगत पुम्सेबाट १–१ पुरुष÷महिला खेलाडी छानिने छन् । सिनियरको स्पर्धाबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्ने छन् । सिनियर तौलसमूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान २–२ पुरुष÷महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

एक दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । ६ वटा एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।

राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी रेफ्री रिफ्रेसर कोर्स पनि शनिबार सम्पन्न भएको छ । पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको रेफ्री रिफ्रेसर कोर्स अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सञ्चालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप