फागुमा अबिरको प्रयोग कहिलेदेखि गरियो ?
हिन्दु संस्कृतिका अधिकांश चाडपर्वका पिँधमा केही न केही कथा वा किंवदन्ती र कुनै न कुनै शास्त्रीय आधार भेटिन्छन् । हाम्रो लोकसङ्गीत ऋतुसँग सम्बन्धित पनि छ । फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व नाचगान र रङको उत्सव हाे ।
यस पर्वमा रङ वा अबिर लगाएर उत्सव किन मनाइन्छ ? यसको सुरुवात कहिलेदेखि भयो ? यसको जवाफ खोज्न पुराणहरूसम्म पुग्नुपर्छ ।
फागु पूर्णिमा र यसमा रङ वा चूर्णको प्रयोगका सम्बन्धमा पुराणहरूमा सङ्केतात्मक ढङ्गले उल्लेख भएको पाइन्छ । लिङ्ग पुराणमा फागु पूर्णिमालाई ‘फाल्गुनिका’ भनिएको छ — ‘फाल्गुने पौर्णमासी च सदा बालविकासिनी । ज्ञेया फाल्गुनिका सा ज्ञेयालोक विभूतये ।’ अर्थात्, यो पर्व बालकको विकास वा क्रीडा र मानिसको विभूति (ऐश्वर्य)सँग सम्बन्धित छ ।
फागु पूर्णिमामा ‘पटवास–विलासिनी’ चूर्णको प्रयोग हुने वराह पुराणमा उल्लेख छ— ‘फाल्गुने पौर्णमास्यां तु पटवासविलासिनी । ज्ञेया सा फाल्गुनी लोके कार्यालोक समृद्धये ।’
आफ्नो पुस्तक (धर्मशास्त्रका इतिहास, भाग ४)मा पाण्डुरंग वामन काणेले ‘पटवास–विलासिनी’को शब्दार्थमा चूर्ण (कुन रङको भन्ने उल्लेख छैन)ले युक्त मनोरञ्जनात्मक खेलका लागि तयार व्यक्तिप्रति सङ्केत गरेका छन् । उनले पटवास–विलासिनीको अर्थमा लेखेका छन्, ‘चूर्ण से युक्त क्रीडाओं वाली ।’
काणेले फागु पूर्णिमालाई प्राचीन उत्सव भनेका छन् । उनले जैमिनि सूत्रलाई उद्धृत गर्दै लेखेका छन्, ‘होली वा होलिकाको आरम्भिक शब्दरूप होलाका थियो । जैमिनि र शबरको भनाइ छ कि होलाका सबै आर्यले मनाउनुपर्छ ।’
काणेका अनुसार, काठकगुह्य सूत्रमा ‘राका होलाके’ भन्ने एक सूत्र छ— ‘होला कर्मविशेषः सौभाग्याय स्त्रीणां प्रातरनुष्ठीयते । तत्र होलाके राका देवता ।’ यसको व्याख्या टीकाकार देवपालले गरेका छन्— होला एक कर्म विशेष हो, जो नारीको सौभाग्यका लागि सम्पन्न गरिन्छ । यस कृत्यका देवता हुन् राका अर्थात् पूर्णचन्द्र । अन्य टीकाकारका अनुसार, होलाका प्रसिद्ध २० क्रीडामध्ये एक हो, जुन सम्पूर्ण भारतमा खेलिन्छ ।
लिङ्ग पुराणलाई हेर्दा यो बुझिन्छ— होली पर्व केटाकेटीलाई निडर भई खेल्न र रमाउन प्रेरित गर्ने पर्व हो, अर्थात् यसकै लागि यो पर्व मनाउन सुरु गरिएको हुनुपर्छ । वराह पुराणलाई हेर्दा— नरनारीलाई रमाउने बनाउन वा कोही यौनकुण्ठामा नबसोस्, मनोरोगी नबनोस् भन्ने उद्देश्यले यो पर्व मनाउन थालेको भन्ने बुझिन्छ । वराह पुराणमा जुन शब्द परेको छ ‘पटवास–विलासिनी’; प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ अनुसार ‘पट’ शब्दको अर्थ हुन्छ— वस्त्र, कपडा; मूर्ख आदि । ‘विलासिनी’ शब्दले ‘कामुक चरित्र भएकी; सुन्दरी (स्त्री); वेश्या; गणिका’लाई बुझाउँछ । ‘वास’ शब्दले ‘बसोबासका लागि बनाइएको ओत; घर; गृह; बसोबास गर्ने काम; निवास; बास्ना; सुगन्ध’को अर्थ दिन्छ ।
काणेले लगाएको अर्थ र शब्दकोशले दिने अर्थलाई केलाउँदा ‘पटवास–विलासिनी’ले सुगन्धित चूर्ण लागेको वस्त्र र स्त्रीतिर पनि सङ्केत गर्छ । ‘होलाका’को उल्लेख वात्सायनको कामसूत्रमा पनि छ । जेहोस्, होली उत्सवको पर्व हो, वसन्तको खुसियाली हो । यस पर्वलाई मदनोत्सव र वसन्तोत्सव पनि भनिन्छ ।
कामसूत्र एवं भविष्योत्तर पुराणले यस पर्वलाई वसन्तसँग जोड्छ । पूर्णिमान्त गणनाका अनुसार यो पर्व वर्षको अन्त्यमा मनाइन्छ । अतः होलिका हेमन्त या पतझडको अन्त्यको सूचक हो र वसन्तको काम–प्रेममय लीलाहरूको द्योतक हो । मस्तीपूर्ण गीत, नृत्य एवं संगीत वसन्तागमनको उल्लासपूर्ण क्षणहरूको परिचायक हो ।
काणेले उपर्युक्त पुस्तकमा लेखेका छन्, ‘कामसूत्र एवं भविष्योत्तर पुराणले यस पर्वलाई वसन्तसँग जोड्छ । पूर्णिमान्त गणनाका अनुसार यो पर्व वर्षको अन्त्यमा मनाइन्छ । अतः होलिका हेमन्त या पतझडको अन्त्यको सूचक हो र वसन्तको काम–प्रेममय लीलाहरूको द्योतक हो । मस्तीपूर्ण गीत, नृत्य एवं संगीत वसन्तागमनको उल्लासपूर्ण क्षणहरूको परिचायक हो ।’
नेपालमा फागु पर्वको शुभारम्भ फागुन शुक्ल अष्टमीमा काठमाडौँको हनुमान ढोकाको वसन्तुपर दरबारअगाडि चीर गाडेर गरिन्छ । ऋषिप्रसाद शर्माको पुस्तक ‘नेपाल राष्ट्रिय चाडपर्व’ अनुसार, मल्लकालीन अभिलेखहरूबाट मल्ल राजाहरू आफ्नो दरबारको सामुन्ने मयलको रुख गाडी फागुनमा फागु पर्व मनाउने गर्थे भन्ने कुराको पुष्टि हुन्छ ।
किंवदन्ती
काणेले होलीसम्बन्धी एउटा कथा प्रस्तुत गरेका छन् । कथा अनुसार, ढोण्ढा नाम गरेकी राक्षसीले बालबालिकालाई सताएकी थिई । शिवबाट देवता र मानव कसैले मार्न नसक्ने, जाडो र गर्मीबाट पनि नमर्ने वर पाएकी त्यस राक्षसी उन्मुक्त वा क्रीडायुक्त बालबालिकासँग भने डराउँथी । त्यसैले उसले बालबालिकालाई सताउने गर्थी । फागुन शुक्ल पूर्णिमा अर्थात् जाडो जाने र गर्मी लाग्ने बेला केटाकेटीले अश्लील गीत–नृत्य तथा अट्टहास गरेमा राक्षसी मर्ने रहस्य राजा रघुका पुरोहितले बताए । पुरोहितले भने अनुसार गर्दा राक्षसीको मृत्यु भयो र सोही दिनलाई ‘अडाडा’ या होलिका भनियो ।
अर्को प्रचलित कथा भन्छ— हिरण्यकशिपुकी बहिनी होलिकाले देवताबाट आगोले नजल्ने वर पाएकी थिइन् । हिरण्यकशिपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्न होलिकासँगै प्रह्लादलाई अग्निमा हाल्छन् तर विष्णुभक्त भएकाले प्रह्लादलाई आगोले जलाउँदैन, होलिकालाई जलाउँछ ।
कुनै पनि पर्वमा कथा (मिथक वा किंवदन्ती) जोडिनुको अर्थ यही हो— मानिसहरूको ध्यान त्यसप्रति खिचियोस् । कथाका माध्यमबाट मानिसलाई कुनै कुरा सम्झाउन सहज हुन्छ, त्यसैले हाम्रा पुर्खाले अनेक कथा कल्पे । पर्वहरूमा आउने कतिपय कथामा त्यहाँको लोकले विश्वास गर्ने तर अवैज्ञानिक खालका घटनाक्रम आउँछन्; कतिपय कथाले कोहीप्रति विभेद पनि गरेका हुन्छन् । आगोले नजलाउने वर पाएकी होलिका जलेको तर कुनै वर नपाएका प्रह्लाद नजलेको जुन होलीको प्रचलित कथा छ, यसले स्त्रीले पाएको वर पनि झुटो हुने भन्ने अर्थ दिन्छ । अर्कोतिर कुनै निर्दोष स्त्री जलेकामा पर्व मनाउनुलाई पनि न्यायसङ्गत मान्न सकिँदैन । त्यसैले यस्ता कथालाई सही ढङ्गले अर्थ्याउन र अर्कोमाथि हिंसा वा विभेद नहुने गरी पर्वहरू मनाउनतिर हाम्रो ध्यान जानुपर्छ ।