होलीका परम्परागत गीतलाई विस्थापित गर्दैछन् अश्लील गीतले
काठमाडौँ । ‘शिवमण्ठ पर राम खेलैय होरी, शिवमण्ठ पर...’ तराई मधेसमा डम्फु, ढोलक, झाइलमा यस्ता गीत गाउँदै होली मनाउने चलन हराउँदै गएको छ । अहिले होलीका त्यसको ठाउँ डीजे, साउण्डबक्सले लिएको छ ।
‘देवरा घुसावत मोट पिचकरिया हे सखी जगहे पे डाले ला रंगिया लहरे ला भितरिया ये सखी......’
होली मे जोवन पनियता, देवरा घुसियता हे मोट पिचकरिया हे सखी.....।’
डीजे तथा साउण्ड बक्सहरूमा अहिले यस्ता गीत बजाउँदै युवाहरूले होली मनाउन थालेका छन् । पुराना परम्परा गीत लगभग हराइसकेको बताउँछन् सिरहा, औरही–५ का कलाकार्मी कामेश्वर सिंह । उनी भन्छन्, ‘अहिलेका होली गीतहरू त परिवारसँग बसेर सुन्ने खालको छैन, होलीका लागि भनेर दुईअर्थी अश्लिल गीत बन्न थालेका छन् । जसले हाम्रो लोक संस्कृति हराउँदै गएका छन् ।’
हुन त होलीमा पौराणिक कालदेखि गाउने गीत तथा नृत्यमा पनि यौनिकता र अश्लीलता मिसिएको पाइन्छ । तर लोकभाकाका ती गीत परम्परागत थिए । तर अहिले त्यस्ता लोकगीत हराउँदै गएका छन् । परम्परागत गीतको ठाउँमा नयाँनयाँ अश्लिल गीत आउन थालेका छन् ।
पहिला–पहिला होलीको गीतमा सीताराम र शिव–पार्वती, होलिका, गणेश केन्द्रित हुन्थ्यो तर अहिले भैया, भौजी, छोरी, मौगीले स्थान लिएको छ । आमसञ्चार प्राधिकरण, मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव भन्छन्, ‘आधुनिकतासँगै हाम्रा लोक संस्कृति हराउँदै गएको छ । हाम्रो समाजका लागि यो चिन्ताको विषय बनेको छ । यसलाई जोगाउन कोही अग्रसर छैनन् । सबै त्यसैमा रमाइरहेका छन् ।’
अहिले आधुनिकताको बहानामा समाजमा छाडातन्त्र बढेको बताउँदै उनी यो चिन्ताको विषय बनेको जिकिर गर्दछन् । श्रीपञ्चमी अर्थात सरस्वती पूजाकै दिनदेखि तराई मधेसका टोलटोलमा डम्फुमा होलीको गीत गाउने चलन थियो । त्यो चलन अहिले हराइसकेको छ । अहिले त होलीको दिन पनि परम्परागत होली गीत, सङ्गीत पाइँदैन । होलीको दिन पहिला भाङ खाने चलन थियो । कसैको घरमा जाँदा भाङको शर्बत वा चिनी–पानी कागतीको शर्बत दिने चलन थियो तर अहिले भाङको ठाउँ देशी–विदेशी रक्सीले लिएका छन् ।
पहिलाको होली र अहिलेको होलीमा आकाश जमिनको फरक छ । होलीमा पहिला पनि अश्लिलता र कामुकता हुन्थ्यो । लोकगीत तथा जोगिरामा दुईअर्थी शब्द प्रयोग हुन्थे । तैपनि त्यसमा आफ्नै मौलिक मिठास हुन्थ्यो । अहिलेको गीत अश्लिलमात्र होइन, भद्दा भएका छन् । डम्फु, ढोलकको तालमा होलिया (होली गीत गाउने)ले आफैँ गीत गाउँथे । सबै परिवार मिलेर गीत गाउन साथ दिन्थे । तर अहिले त्यसको ठाउँ डीजे, विभिन्न खालका गीतले लिएको छ, जहाँ आफ्नो परिवारसँग उभिन पनि सकिँदैन ।
मैथिली, भोजपुरीका अश्लिल गीतहरूले नै बजार लिएका छन् । पहिला गाउँघरका बुढापाका तथा युवाहरू डम्फु, ढोलक, हरमुनियम, झाइल लिएर समूहमा गीत गाउँदै घरघर गएर दक्षिणा लिने चलन थियो । होलीमा आदरपूर्वक एक अर्कालाई रङ लगाएर सम्मान दिने चलन थियो । त्यसमा सद्भावना, अपनत्व, भावना मिसिएको हुन्थ्यो । तर अहिले त्यो परम्परा हराएको छ ।
‘कोन तालपर ढोलक बाजे, कोन ताल मृदङ ?
कौन तालपर गोरिया नाचे, कौन तालपर हम ?
जोगिरा सर र र !’
यस्ता कर्णप्रिय गीत तथा जोगिराहरू होलीमा हराउँदै गएका छन् । होलीकै जोगिरा तथा गीतहरूमा सवाल जवाफ हुन्थ्यो । यस्ता गीतमा प्रायः देवी देवताको प्रसङ्ग हुने गर्दथ्यो ।
‘किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
जोगिरा सररर.... !!’
एउटा पक्षले यसरी सवाल गरेपछि अर्को पक्षले गीतमार्फत नै यसरी जवाफ दिन्छन्
रामजी के हाथमें कनक पिचकारी,
सियाजी के हाथअबीर झोरी !
जोगिरा..सररर..!!’
यस्ता गीत सङ्गीत अचेल हराउँदै गएका छन् । अचेल होलीमा पनि भोजपुरी तथा मैथिली अश्लिल गीतहरूले ठाउँ लिने गरेका छन् । परम्परागत होली गीतमा कामोत्सवलाई धार्मिक प्रसङ्गमा जोडेर व्याख्या गरिन्थ्यो । तिनमा प्रेस र सद्भाव झल्किन्थ्यो । ती गीत माधुर्य र कर्णप्रिय हुन्थे । तर अहिले आएका अश्लिल गीत परिवारका सदस्यसँग बसेर सुन्न सक्नेखालका हुँदैनन् ।
पौराणिक कथा अनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु निकै अत्याचारी थिए । आफूलाई देवताभन्दा ठुलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउन खोज्दा होलिका डढेर भष्म भइन् तर प्रह्लादलाई केही भएन । सोही परम्परालाई निरन्तरता दिँदै फागुन शुल्क पूर्णिमाको रातमा होलिका दहन गरी हर्ष बढाइँ गर्ने चलन छ ।