समितिको सुझावपछि ‘फ्लड लाइट’ जडानका लागि तेस्रो पटक टेन्डर आह्वान
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्न तेस्रो पटक टेन्डर आव्हान गरेको छ । यसअघि आव्हान गरिएको टेन्डरमा विवाद देखिएपछि राखेपले आइतबार फेरि टेन्डर आव्हान गरेको हो ।
दुई पटक टेन्डर आव्हान, न्यायालयमा मुद्दा, परामर्शदाता नियुक्त, छानबिन तथा अध्ययन समिति गठनको चरण पार गर्दै राखेपले आइतबार ‘फ्लड लाइट’ जडानका लागि तेस्रो पटक टेन्डर आव्हान गरेको हो । लामो समयको विवादका कारण ‘फ्लड लाइट’ कार्य सुरु हुन नै अझ केही समय लाग्ने भएको छ ।
खासगरी निर्माण कम्पनी छनोटका क्रममा देखिएको विवादका कारण लामो समय बितिसक्दा पनि कीर्तिपुरस्थित मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने कार्य अन्योलमा परेको हो । ‘फ्लड लाइट’ जडानका लागि निकै अघि प्रक्रिया अगाडि बढाइए पनि ठेक्का प्रक्रियामा संलग्न निर्माण कम्पनीहरूबिच विवाद देखिएपछि हालसम्म निर्माण कार्य नै अगाडि बढ्न नसकेको हो ।
‘फ्लड लाइट’ जडानका लागि पहिलोपटक आव्हान गरिएको टेन्डरमा पाँच वटा निर्माण कम्पनीले टेन्डर बुझाएका थिए । तर, त्यतिबेला आवश्यक मापदण्ड पुरा हुन नसकेका कारण पाँच वटै कम्पनी अनुत्तीर्ण भएका थिए ।
त्यसपछि पुनः नयाँ टेन्डर आव्हान गरिएको थियो । त्यसमा चार वटा निर्माण कम्पनीले टेन्डर भरेका थिए । दोस्रो पटक टेन्डर बुझाउने निर्माण कम्पनीमा एमएसआईपीएल–एएससी पावर जेभी, सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभी, पशुपति रोयल जेभी र ईन्फा कार्की बन्धु जेभी रहेका थिए ।
दोस्रो पटकको टेन्डरमा आवश्यक सबै प्रक्रिया र मापदण्ड पुरा गरेको भन्दै एमएसआईपीएल–एएससी जेभीले ‘फ्लड लाइट’ जडानको ठेक्का प्रदान गरिएको थियो । तर, एमएसआईपीएल–एएससी पावर जेभीले ठेक्का पाएपछि सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले आफूमाथि अन्याय भएको भन्दै उजुरी गरेको थियो ।
त्यो उजुरी सार्वजनिक पुनरावलोकन समितिसम्म पुग्यो । सार्वजनिक पुनरावलोकन समितिले पनि उजुरीमाथि छानबिन गरी सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीकै पक्षमा फै सला सुनायो । सार्वजनिक पुनरावलोकन समितिले सूर्योदय उजा–बुद्धिराज इलेक्ट्रिक्सलाई पनि समेटेर पुनः मूल्याङ्कन गर्न निर्देशन दिएको थियो ।
त्यसपछि सार्वजनिक पुनरावलोकन समितिको उक्त निर्णयमा चित्त नबुझेको भन्दै ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको कम्पनी एमएसआईपीएल–एएससी पावर जेभी कानुनी उपचार खोज्न उच्च अदालत पाटन पुगेको थियो ।
एमएसआईपीएल–एएससी जेभीले आफूले सबै प्रक्रिया पुरागरेर कानुनी रुपमै ‘फ्लड लाइट’ जडानको जिम्मेवार पाएकाले काम गर्ने वातावरण बनाइदिन अदालतसँग माग गरेको थियो । तर, उच्च अदालत पाटनले एमएसआईपीएल–एएससी पावर जेभीद्वारा दायर गरिएको रि ट खारेज गरिदियो ।
समग्रमा उच्च अदालत पाटनले पनि सार्वजनिक पुनरावलोकन समितिको निर्णयलाई नै सदर गर्यो । त्यसपछि राखेपले यस विषयमा छानबिन गर्न छुट्टै परामर्शदाता नियुक्त गर्यो । राखेपले नियुक्त गरेको परामर्शदाताले पनि लामो छानबिन र अध्ययनपछि पुनरमूल्याङ्कन गर्न नै सुझाव दियो ।
त्यसपछि पुनरमूल्याङ्कनको प्रक्रिया अगाडि बढाइयो । तर, यसपटक पनि ‘फ्लड लाइट’ निर्माणका लागि काठमाडौँको सिनामंगलस्थित एमएसआईपीएल –एएससी जेभी नै उत्तिर्ण भयो । त्यसपछि फेरि सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभी आफूलाई उत्तिर्ण गरिनुको कारण माग गर्दै राखेप पुग्यो ।
यसपटक सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले ‘फ्लड लाइट’ जडान गर्ने ठेक्का पाएको कम्पनी एमएसआईपीएल–एएससी जेभीसँग निर्माणको इजाजत नै नभएको दाबी पनि ग¥यो । यस्तो ठेक्का प्रतिक्रियामा संलग्न निर्माण कम्पनीसँग दुई प्रकारको इजाजत–पत्र हुनुपर्नेमा ‘फ्लड लाइट’ जडानको ठेक्का पाउने एमएसआईपीएल–एएससी जेभीसँग निर्माण कार्यको इजाजत नै नभएको दाबी सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले गरेको थियो ।
‘यस्तो ठेक्का प्रक्रियामा संलग्न हुने कम्पनीसँग दुई प्रकारको इजाजत–पत्र हुनुपर्ने रहेछ । एउटा वाणिज्य विमागबाट प्राप्त सामान निर्यातको इजाजत–पत्र र अर्को निर्माण ब्यवसाय ऐन अनुसार निर्माण कार्यका लागि प्राप्त इजाजत–पत्र । सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले एमएसआईपीएल–एएससी जेभीसँग दोस्रो इजाजत–पत्र नभएको दाबी गरेको थियो,’ राखेप स्रोत भन्छ ।
त्यसपछि ‘फ्लड लाइट’ जडान ठेक्का विवाद नयाँ मोडमा पुग्यो । सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीको नयाँ उजुरी र दाबीपछि यस विषयमा छानबिन गर्न राखेपले आफ्ना बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा छानबिन तथा अनुशन्धान समिति गठन गर्यो ।
‘यो करिब २९ करोड रुपैयाँको ठेक्का हो । अहिलेको स्थितिमा यो ठेक्का निकै ठुलो हो । फ्लड लाइट जडानको ठेक्कामा विवाद हुनुको कारण पनि यही हो । त्यसमाथि नेपाली खेलकुद क्षेत्रमा इलेक्ट्रिकल विषयको यो नै पहिलो ठुलो ठेक्का पनि हो,’ राखेप स्रोत भन्छ ।
धमलाको संयोजकत्वमा गठित समितिले पनि यसअघिको टेन्डरमा आवश्यक प्रक्रिया पुरा नगरिएको प्रतिवेदन बुझायो । समितिले राखेपलाई ‘फ्लड लाइट’ जडानका लागि पुनः टेन्डर आव्हान गर्न पनि सुझाव पनि दिएको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।
समितिको प्रतिवेदनमा दिइएको सुझाव अनुसार नै अहिले राखेपले ‘फ्लड लाइट’ जडानका लागि तेस्रो पटक टेन्डर आव्हान गरेको हो । यसरी पटक पटकको विवादका कारण अवरुद्ध बनेको ‘फ्लड लाइट’ जडान कार्य अझ केही समय लम्बिने भएको हो ।
विवादका कारण फ्लड लाइट जडान प्रक्रिया अन्यौलमै रहेका बेला राखेपले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘डिजिटल स्कोरबोर्ड’ जडानका लागि पनि टेन्डर आव्हान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश
-
पेप्सीको नक्कली भ्याट बिल प्रकरण : उच्च अदालतको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सर्वोच्च पुग्यो सरकार
-
सरकार, अख्तियार लगायत संवैधानिक निकायले टेरेनन् लेखा समितिलाई