विद्यार्थीहरू समयमा पढ्न नपाएकाले बाहिरिएका हुन् : प्राडा टंकनाथ धमला
काठमाडौँ । नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी घट्दो क्रममा छन् । त्यसको मारमा त्रिभुवन विश्वविद्यालय पनि परेको छ । त्रिभुवन विश्वविद्यालयका कतिपय विभाग त विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यतिबेला सबैको चासो भनेको विश्वविद्यालय कसरी सुधार गर्ने, विद्यार्थीलाई कसरी आकर्षित गर्ने र विदेश जाने विद्यार्थीलाई कसरी रोक्ने भन्नेमा छ ।
विश्वविद्यालयमा राजनीति तथा भागबण्डा बढेको भन्दै त्यो अन्त्य गर्नुपर्ने आवाज समेत उठिरहेको छ । उपकुलपतिको नियुक्तिबाट एक हदसम्म यसको सुरुवात गरिएको छ । खुला प्रतिस्पर्धाबाट २० औँ उपकुलपतिको रूपमा प्राडा केशरजङ्ग बराल आएका छन् । उनी उपकुलपतिमा नियुक्त भएको एक महिना पुगेको छ ।
उनले विश्वविद्यालय सुधारका लागि विभिन्न कार्ययोजना अघि सारेका छन् । बरालसँगै थप दुई जना उपकुलपतिका लागि सिफारिसमा परेका थिए । तीमध्येका एक हुन् प्राडा टंकनाथ धमला । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभाग र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागको समेत प्रमुख भइसकेका धमला त्रिभुवन विश्वविद्यालयकै गोल्ड मेडलिस्ट पनि हुन् । २०४१ सालमा त्रिवि टपर (चान्स्लर गोल्ड मेडलिस्ट) भएका उनले जर्मनीबाट २०५४ सालमा विद्यावारिधी (पीएचडी) गरेका थिए भने २०५७ सालमा क्यानडाबाट पोस्ट पीएचडी गरेका थिए ।
उनै धमलासँग त्रिभुवन विश्वविद्यालयका विविध विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्यो । त्यसमा तपाईंले पनि भाग लिनुभयो । तपाईंले आवेदन दिनुको कारण के थियो ?
कुलपतिले पहिलो पटक दीक्षान्त समारोहमै मेरिटबेसमा लैजान्छु भन्ने धारणा राख्नुभएको थियो । विगतदेखि नै मेरो भनाइ विश्वविद्यालय मेरिटबेसमा हुनुपर्छ भन्ने थियो । मेरो भाषा फरक थियो होला, मैले भागबण्डा गर्नु हुन्न भनेको थिएँ होला तर मेरो भनाइ मेरिटबेसमा हुनुपर्छ भन्ने नै थियो ।
म मेरिट हुँ भन्ने दाबी गर्ने प्राध्यापकले त्यसमा सहभागी हुनुपर्छ भन्ने हिसाबले म सहभागी भएँ । मेरो एउटै योजना थियो । उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्म मेरिटबेसमा हुनुपर्छ भन्ने थियो । विश्वका चर्चित विश्वविद्यालय पनि यही आधारमा अगाडि बढिरहेका हुन्छन् । यो गर्न सकियो भने एउटा सिङ्गल सिस्टमबाट विश्वविद्यालय चल्छ । उपकुलपतिदेखि क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखसम्म दक्षता, कार्यसम्पादनको आधारमा नियुक्त हुन्छन् भने विश्वविद्यालयको सुधारका लागि अरू केही गर्नुपर्दैन । कुलपतिले त्यस्तो गरेर लैजान्छु भनेपछि म भाग लिन नजाने भन्ने कुरा नै भएन ।
उपकुलपतिको लागि सिफारिसमा परे पनि नियुक्त हुनुभएन । त्यो बेला के भएको थियो ?
मेरिट भन्ने कुरा कुरामा मात्रै सीमित भयो । जे मापदण्ड बनाइनुपर्ने थियो, त्यो भएन । बनाइएको मापदण्ड एकदमै न्यूनतम हो । एउटा प्रोफेसरको क्षमता भनेको उसले गर्ने अनुसन्धान हो । उसको प्रशासनिक अनुभव, उसले कति विद्यार्थीलाई अनुसन्धान गराएको छ, कतिको रिसर्च पेपर बनायो भन्नेजस्ता कुरा हेर्ने हो भने त्यो मेरिटलिस्ट हो । यी सबै कुरा भयो भने मात्रै मापदण्ड हो । तर, अहिलेको थोरै मात्रामा भए पनि मापदण्ड चाहिँ हो ।
त्यो कामचलाउका लागि उहाँहरूले माग्नुभयो । यदि त्यो कामचलाउलाई बलियो मापदण्ड बनाएको भए, ती ४० जना हुने नै थिएन । बलियो मापदण्ड बनाइएको भए एउटा क्रिम वर्ग त्यहाँ आउने थियो । क्रिम वर्ग आएपछि भिजन पेपर काम लाग्थ्यो । अनुसन्धान गर्छ, राम्राराम्रा पब्लिकेशन छन्, तर उपकुलपति चलाउन उसको योजना के छ त ? त्यसको लागि हो भिजन पेपर । अहिले गोलमोटलमा सामान्य बनाइयो । त्यसमा म पनि आएँ । म खुसी नै छु ।
उपकुलपतिमा केशरजङ्ग बरालको नियुक्तिलाई कसरी मूल्याङ्कन गरिराख्नु भएको छ ?
उहाँ नियुक्त भइसकेपछि म हेरिरहेको छु । उपकुलपतिको कार्यालय हुँदै आउजाउ गर्छु । त्यहाँ जाँदा कहिले कोही संगठनका मान्छेहरू गएका छन्, कहिले कोही गएका छन् । भेटघाट गर्न आउनेहरूको भिडभाड बढी देखिन्छ । नियुक्ति पाएको एक महिना बितिसक्यो, अहिले पनि निमित्तको भरमा चलाइराख्नु भएको छ । घिउको धुप बाल्नुपर्नेमा तेलको धुप बालिराख्नु भएको छ ।
रेक्टर, रजिष्ट्रार नियुक्त हुन सकेका छैनन् । उहाँ मेरिटमा आएपछि अन्य टिम पनि मेरिटमै आउनुपर्छ । त्यसरी ल्याउनुभएको छैन । हुनसक्छ, उहाँले बुझिराख्नु भएको छ । राम्रो काम पनि गर्न खोजिराख्नु भएको होला । त्यसका लागि शुभकामना दिन्छु । तर, यसरी रुमल्लिएर बस्नु हुँदैन ।
यही ढङ्गले भागबण्डामा गयो भने पहिला जस्तै हुनेछ । रेक्टर, रजिष्ट्रारमा भागबण्डा गयो भने भोलि डीनहरूमा सर्ला । त्यसपछि क्याम्पस प्रमुखहरूमा पर्ला । भागबण्डामा आफू आएपछि अरुले पनि भाग खोज्छ । भागबण्डा गर्दिन । मेरिटबाहेक बाहिर जादिनँ भनेपछि के गर्ने कसो गर्ने भन्ने कुरा हुँदैन ।
सबै कुरा मेरिटमा चलिरहेको छ भने तलमाथि गर्नै मिल्दैन । मेरिटमा छ भने शिक्षक कर्मचारीको आफैँ प्रमोशन हुन्छ । कसैले केही गर्नै मिल्दैन । मेरो चिन्ता रेक्टर, रजिष्ट्रार मेरिटमा नियुक्त हुन्छन् कि हुँदैनन् भन्ने हो । सल्लाह दिन जानेहरू धेरै छन् । सल्लाह दिन जाने नाममा भागबण्डा मौलाउन खोजेको हो कि ! त्यसो हो भने कुलपतिले भन्नुभएको मेरिटको सम्पूर्ण इतिहास समाप्त हुन्छ ।
विश्वविद्यालयमा भागबण्डा चलिरहन्छ । राजनीतिक नियुक्ति व्यापक छ । त्यसमाथि प्राध्यापक तथा विद्यार्थीका राजनीतिक संगठन छन् । उनीहरूले जरा गाडेको अवस्थामा कसरी काम हुन्छ ?
विश्वविद्यालयमा जति पनि संघ संगठन छन्, तिनीहरूको काम के ? उनीहरूले राजनीति गर्ने कि काम ? प्राध्यापकहरूकोे हकहित, अनुसन्धानमा केही पुगेन कि, केही सहयोग चाहियो कि, त्यसमा ध्यान दिनुपर्ने हो । तर, हरेक राजनीतिक दलका छुट्टाछुट्टै संगठन छन्, तिनीहरूको काम के हो ?
मेरो काम विद्यार्थीहरूलाई पढाउने कि राजनीति गर्न जाने ? अनुसन्धान गर्ने, म यो काम गर्छु, अनुसन्धान गरेर मेरो देशलाई सहयोग गर्छु भन्ने पो मेरो काम हो । राजनीतिक संगठनको खम्बा गाड्ने र आफ्ना स्वार्थहरू पूरा गर्नेतिर लाग्ने होइन । त्यो संगठनले त विश्वविद्यालयका कुनै पनि अङ्गलाई चल्न दिँदैनन् । हरेक युनिटमाथि हस्तक्षेप गर्छन् । उनीहरूको काम त प्राध्यापकलाई यो सुविधा हुनुपर्छ, तिमी यो कुर्सीमा बस, यो मान्छे उपकुलपति हुनुपर्छ, यो मान्छे रजिष्ट्रार हुनुपर्छ भन्नतिर छ । तर, त्यो हुनु हुँदैन ।
मेरो भिजन पेपरमा यी दुईवटा कुरा उल्लेख थियो । प्रोफेसरको डिग्निटी हुनुप¥यो, योग्यता पुगेको हुनुप¥यो, योग्यता छैन भने कायम गर्नुप¥यो । मैले विश्वविद्यालयको सम्पत्ति भनेको प्रोफेसर हो भनेको छु । घर, बिल्डिङ केही होइन भनेको छु । विश्वविद्यालयको पुँजी भनेको शिक्षक हुन् भनेको छु ।
विश्वविद्यालयका प्राध्यापकले एउटा समस्या बोकेर हिँड्नुप¥यो । राजनीतिक विचारधारा बोकेर हिँड्ने होइन । प्रोफेसर भनेको त थिङ्क ट्याङ्क हो नि । थिङ्क ट्याङ्क भए बापत राजनीतिकर्मी आफैँ आउँछ र विचार तथा सुझाव, सल्लाह माग्छन् । त्यस्तो खालको प्राध्यापक बनाउन मेरिट सिस्टम हुनुपर्छ ।
उपकुलपति नियुक्त भएको एक महिना पूरा भयो । उहाँसँग काम गर्नका लागि चार वर्ष छ । त्यो अवधिमा उहाँले विश्वविद्यालय सुधारका लागि के गर्नुपर्छ ?
चार वर्ष भनेको धेरै समय हो । चार वर्ष भनेको मेरो लागि ४० वर्ष हो । उहाँले तीन महिनाभित्रै लक्षण देखाउनुपर्छ । पहिलो स्टेपका रूपमा उहाँले फाइल स्टडी गरेर मान्छेका करियर अध्ययन गर्नुपर्छ र मेरिटको आधारमा धमाधम मान्छे नियुक्त गर्नुपर्छ । आफ्नो टिम बनाउनुपर्छ ।
उहाँले एउटै स्टेटमेन्ट दिनुपर्छ कि, ‘म विश्वविद्यालयमा योग्यता र क्षमताको कदर गर्ने मान्छे हुँ । त्यो बाहेक केही सुन्दिनँ ।’ त्यसपछि शिक्षक सबै क्लासतिर जान्छन् । रिसर्चतिर जान्छन् । रिसर्च गर्नेलाई भन्नुपर्छ– तपाईंहरू क्वालिटीको रिसर्च गर्नुहोस्, इम्प्याक्टको रिसर्च गर्र्नुहोस्, तपाईंको कदर हुन्छ ।
जसले राम्रो काम गर्छ, उसलाई बोलाएर अवार्ड दिनुपर्छ । कोहीले १० औँ विद्यार्थीलाई पीएचडी गराइरहेका छन्, जसले रिसर्च गराइरहेका छन्, उहाँहरूलाई कुनै सम्मान छैन, कुनै सपोर्ट छैन ।
विश्वविद्यालय समस्याग्रस्त भयो भनेर चौतर्फी कुरा उठिरहेको छ । के साँच्चै समस्याग्रस्त बनेको हो ?
विश्वविद्यालयप्रति सबै नेगेटिभ छन् । तर, म पोजेटिभ छु । किनभने यी सबै कृत्रिम र सिर्जित समस्या हुन् । रियल समस्या छैनन् । ठुलो कुरा के हो भने त्रिभुवन विश्वविद्यालयलाई संसारले रिकोग्नाइज गरेको हो । संसारले हाम्रा विद्यार्थी लिने गरेका छन् । हामीसँग ठुलो सम्पत्ति छ । हाम्रा विद्यार्थीहरू संसारका जुनसुकै कुनाकाप्चामा बसेर पनि काम गर्न सक्ने क्षमताका छन् ।
सबैले नेगेटिभ सोचेका छन भन्ने होइन । उनीहरूले त चिन्ता व्यक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालय राम्रो हुनुपर्छ भनेर चिन्ता व्यक्त गरेका हुन् । यो समस्या होइन, समस्या हुनको लागि कसैले बेवास्ता गर्नुप¥यो । कसैलाई मतलब हुनुहुँदैन । तर, यहाँ त सबैले चिन्ता र चासो व्यक्त पो गरिरहेका हुन् । त्यसैले यो समस्याग्रस्त होइन । सिर्जित समस्या हुन् । यी त क्षणभरमै समाधान गर्न सकिन्छ ।
नेपाली प्राध्यापकहरूले नेपालमा केही गर्न नसकेको अथवा भ्यालु नपाएको देखिन्छ । तर, विदेशमा भने राम्रो पहिचान बनाइरहेका छन् । राम्रो स्थान पाइरहेका छन्, किन यस्तो भयो ?
योग्य मान्छे आएर काम गरोस् भन्ने भावना हुनुप¥यो । त्यसको अभाव छ । मेरो काम राम्रोसँग गर्न जाओस् भन्ने भावना हुनुप¥यो । यहाँ त फलाना संगठनको मान्छे नै हुनुपर्छ भन्ने छ । त्यो रोग हुँदासम्म काम गर्न सकिँदैन । यो रोग अन्त्य गरियो भने सबै समस्या समाधान हुन्छ । प्राध्यापक वर्गले त्यो कुरा नबुझेपछि विद्यार्थीलाई गाली गरेर हुँदैन । विद्यार्थीलाई हामीले सही बाटोमा लैजानुपर्छ । त्यसका लागि हाम्रो स्वार्थ हुनुभएन । राजनीतिक दलहरू आएर भाटा हान्ने, ढुङ्गा हान्ने । अनि विश्वविद्यालय बिग्रियो, काम गर्न सक्दैनौ भन्ने ! ढुङ्गा नहान्नु त विश्वविद्यालय चलाउन सकिन्छ कि सकिँदैन, अनि मूल्याङ्कन गरौँ ।
विद्यार्थी बाहिरिनुको कारण के हो ?
विद्यार्थी बाहिरिनुको कारण एउटा माथि भनिएअनुसार हो । अर्को कारणमा विश्वविद्यालय नीति नियममा नै छैन । म जर्मनी ८ वर्ष बसेर पढेको । जर्मनीका कुनै पनि विश्वविद्यालयमा क्यालेण्डर हुन्छ । सोही आधारमा सबै कार्यक्रम निश्चित समयमा हुन्छन् । अर्को वर्ष हुने परीक्षासमेत यही वर्ष थाहा हुन्छ । म भिजिटमा जाँदा पहिला नै थाहा हुन्छ । तर, हाम्रोमा यसको कुनै टुङ्गो नै हुँदैन ।
हाम्रोमा त काम गर्न दिएको छैन । काम गर्न खोज्नेले काम पनि पाएको छैन । गर्नेले पनि गरेको छैन । त्यसो हुनाले विद्यार्थी फ्रस्टेशनमा छन् । चार वर्षको कोर्ष ठिक चार वर्षमै विद्यार्थीलाई पठाइदियो भने किन बाहिर जान्छ ?
अर्को कुरा के हो भने हाम्रो पाठ्यक्रम अपडेट हुनुपर्छ । हाम्रो फुर्सद कहाँ छ ? त्यही संगठन चलाउनमा छ । हाम्रो फुर्सद त करिकुलम अपडेट, पढाउनमा भयो भने पो हुन्छ । तर, संगठन चलाउनमा भयो भने हुँदैन । करिकुलमहरू अपडेट गराउन सकेका छैनौँ । हाम्रा उद्योग व्यवसायका कति समस्याको समाधान दिएका छौँ ? यसमा केही भएको छैन । हामीले हाम्रो काम बिर्सेर अर्काको काममा लागेको हुनाले विद्यार्थीहरू समयमा पढ्न नपाएकाले बाहिरिएका हुन् । अन्यथा विद्यार्थी बाहिरिँदैनन् ।
यति गर्न सकियो भने नेपाली विद्यार्थी बाहिरिने होइन्, विदेशी विद्यार्थी पढ्न आउँछन् । हाम्रो कलेजहरू व्यवस्थित गरिदियो भने, समयमै पढाई, परीक्षा तथा समयमै नतिजा निकालिदियो भने विदेशी विद्यार्थीहरू आउँछन् । विदेशी प्रोफेसर आएर पढाउँछन् । यो त सुन्दर भूमि हो । यो स्वर्गभूमि भएकाले मज्जाले विदेशी विद्यार्थीलाई ल्याउन सकिन्छ ।
यसका लागि मैले के कस्तो सहयोग गर्नुपर्छ, त्यसका लागि म तयार छु । कुनै समयमा १० लाख विद्यार्थी थिए भने, अहिले ५ लाख होलान् । त्यसमा कुनै समस्या भएन । यसमा विश्वविद्यालय कमजोर भयो भन्ने, विद्यार्थी फ्रस्टेशन भए भन्ने होइन ।
विश्वविद्यालयमा दुईवटा गाँठो छ । एउटा डोरीको सुरूमा सिर्जित समस्याको गाँठो छ । अर्को भनेको विद्यार्थीको सुन्दर भविष्य बिर्सेका छौँ । त्यो भविष्य सम्झेर गाँठो फुकाएर अघि बढ्यो भने समस्या सकिन्छन् ।
तपाईं विभिन्न देशमा पढाउनको लागि जानुहुन्छ । भिजिटर प्रोफेसरको रूपमा थुप्रै देशका विश्वविद्यालयमा पढाउँदै आउनुभएको छ । ती देशका विश्वविद्यालय र नेपालका विश्वविद्यालयमा के फरक छ ?
ती देशमा पहिलो कुरा भनेको असाध्यै रेगुलेशन छ । त्यहाँका शिक्षकहरूसँग फुर्सद छैन । हामीले पढाउन जाँदा ती देशका शिक्षकहरूलाई भेट्न समय लिनुपर्छ । हामी भने फुर्सदमा हुन्छौँ । हाम्रो फुर्सद विद्यार्थीको पढाइमा भन्दा पनि बाहिर छ । हाम्रा सुविधा समेत सङ्कुचित भएका छन् । हामीले कामै नगरेको अवस्थामा सुविधाहरू सङ्कुचित हुनु पनि स्वाभाविक हो । ती देशहरूमा ‘डु और डाई’ भन्ने हुन्छ । यो काम गरिस् भनेमात्रै प्रोफेसर हुन्छौ भन्ने हुन्छ । हाम्रो देशमा भने प्रोफेसर हुन केही गर्नु पर्दैन । प्रोफेसर हुने सम्भावना निकै बढी हुन्छ ।
यहाँ डु और डाईको अवस्था नभएकाले समस्या भएको हो । यहाँ क्षमतावान र योग्य मान्छे नभएर होइन । यहाँ पनि निकै राम्रा छन् तर, उनीहरूको लागि वातावरण बनेको छैन । नेपालमा त ताला लगाउने प्रोफेसर छन् । कुनै पनि समस्या देखिएको खण्डमा त्यो समस्याको समाधान तालाबाट हुँदैन । तर, नेपालमा प्रोफेसर भनेपछि ताला बोकेर हिँड्ने, आफ्ना मागहरू सम्बोधन भएन भनेर ताला लगाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात