आईपीएलमा आज : गिलको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बईलाई चुनौती दिँदै गुजरात
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुजरात र मुम्बईको यो पहिलो खेल हो । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको थियो । तर, यसपटक मुम्बई सर्वाधिक सफल कप्तान शर्माको कप्तानीमा मैदानमा ओर्लने छैन ।
अर्कोतिर, गुजरात टाइटन्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि पनि चुम्न सकेको छ । गुजरात टाइटन्स हालसम्म दुई पटक फाइनलमा पुगेको छ । एकपटक भने गुजरात टाइटन्स फाइनलमा पराजित भएको छ ।
दुवै टोलीमा नयाँ कप्तान
यसपटक मुम्बई र गुजरात दुवै नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लने छन् । यसपटक मुम्बईको कप्तानी हार्दिक पाण्ड्याले गर्नेछन् । गुजरातको कप्तानी भने यसपटक शुभमन गिलले गर्नेछन् । गिलले आईपीएलमा पहिलो पटक कुनै पनि टोलीको कप्तानको जिम्मेबारी पाएका हुन् ।
यसअघि हार्दिक पाण्ड्या गुजरातबाट खेल्थे । उनकै कप्तानीमा गुजरातले दुई पटक फाइनल खेलेको थियो । हार्दिकको कप्तानीमा गुजरात सन् २०२२ मा च्याम्पियन बनेको थियो । सन् २०२३ मा भने गुजरात उपविजेतामा समेटिएको थियो ।
गुजरातविरुद्ध शतक बनाउने मुम्बईका सूर्यकुमार अनुपस्थित
मुम्बई इन्डियन्सका सूर्यकुमार यादव आईपीएलमा गुजराज टाइटन्सविरुद्ध सबैभन्दा सफल ब्याट्सम्यान हुन् । उनले अघिल्लो सिजनको आईपीएलमा गुजरातविरुद्ध शतकसमेत प्रहार गरेका थिए । उनले कुनै पनि टोलीविरुद्ध बनाएको यो नै पहिलो शतक थियो ।
तर, आइतबार खेलिने खेलमा सूर्यकुमार अनुपस्थित रहने छन् । घाइते भएका कारण उनी टोलीबाट बाहिरिएका हुन् । गुजरातविरुद्ध मुम्बईका अर्का सफल ब्याट्सम्यान ईशान किशन हुन् । ईशान किशनले गुजरातविरुद्ध हालसम्म चार खेलमा ८९ रन बनाएका छन् । बलिङतर्फ पियुष चावला सफल देखिएका छन् । उनले तीन खेलमा पाँच विकेट लिएका छन् । आकाश मधवाले पनि दुई खेलमा चार विकेट हात पारेका छन् ।
मुम्बईविरुद्ध गुजरातका सफल बलर मोहित शर्मा
आईपीएलमा मुम्बईविरुद्ध गुजरातका सबैभन्दा सफल बलर हुन्, मोहित शर्मा । उनले हालसम्म मुम्बईविरुद्धको खेलमा ३१ विकेट लिइसकेका छन् । जारी आईपीएलमा थप तीन विकेट लिएमा उनी आईपीएलको इतिहासमै मुम्बईविरुद्ध सबैभन्दा बढी विकेट लिने बलर बन्नेछन् ।
मुम्बईविरुद्ध गुजरातका अर्का सफल बलर हुन्, उमेश यादव । उनले मुम्बईविरुद्ध हालसम्म १५ विकेट लिएका छन् । यसका अतिरिक्त गुजरातका ब्याट्सम्यान ऋद्धिमान शाह मुम्बईविरुद्ध सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् ।
ऋद्धिमानले हालसम्म मुम्बईविरुद्ध २० खेल खेल्दै कुल चार सय २९ रन बनाएका छन् । यो सूचिमा दोस्रो नम्बरमा शुभमन गिल छन् । उनले मुम्बईविरुद्ध हालसम्म ११ खेल खेल्दै कुल चार सय नौ रन बनाएका छन् । उनी यसपटक टोलीका कप्तान पनि हुन् ।
हेड टु हेडमा पनि बराबरी
आईपीएलमा हालसम्म मुम्बई र गुजरातबिच कुल चार खेल खेलिएको छ । त्यसमा मुम्बई र गुजराज दुबैले दुई–दुई खेल जितेका छन् । अहमादाबादमा यसअघि गुजरात र मुम्बईबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा मुम्बई पराजित भएको छ । समग्रमा हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको १० मध्ये ६ खेलमा गुजरात विजयी भएको छ ।
ब्याट्सम्यानका लागि उपयुक्त पिच
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । यो पिच बलरका लागि त्यति उपयुक्त छैन । आईपीएलको अघिल्लो सिजनको फाइनल खेल पनि यही रङ्गशालामा खेलिएको थियो ।
त्यो फाइनलमा गुजरातले पहिले ब्याटिङ गर्दै दुई सय १२ रन बनाएको थियो । तर, चेन्नईले त्यो विजयलक्ष्य पनि पुरा गरेको थियो । अहमादाबादमा हालसम्म आईपीएलको २७ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १३ र दोस्रो ब्याटिङ गर्ने टोलीले १४ खेल जितेका छन् । त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले बलिङ रोज्ने सम्भावना देखिन्छ ।
वर्षाको सम्भावना छैन
मुम्बई र गुजरातबिच खेल हुने अहमादाबादमा आइतबार मौसम सफा रहने छ । आइतबार अहमादाबादको तापक्रम २४ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सम्भावित टोली
मुम्बई इन्डिन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहाल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी वा रोमारियो शेफर्ड, पियुष चावला, जेराल्ड कोट्जी, जसप्रित बुमराह र नुवान थुषरा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान शाह, साई सुदर्शन, अजमतुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान, राहुल तेवातिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जानसन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मिस्टर वर्ल्ड पोर्टो रिकोका डेनियल मेजिया घोषित
-
बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
-
स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस
-
स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित