आईपीएलमा आज : जयपुरमा दोस्रो पटक भिड्दै लखनउ र राजस्थान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । जारी सिजनको आईपीएलमा यी दुवै टोलीको यो पहिलो खेल हो ।
राजस्थान र लखनउबिचको खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । उक्त खेल जयपुरस्थित सुवाई मानसिंह स्टेडियममा खेलिने छ । राजस्थानले सन् २००८ मा पहिलो पटक आईपीएलको उपाधि जितेको थियो ।
त्यसयता राजस्थानले आईपीएलको उपाधि जित्न सकेको छैन । हालसम्म १४ पटक आईपीएलमा सहभागिता जनाइसकेको राजस्थान दुईपटक फाइनलमा पुगेको छ । सन् २०२२ मा राजस्थान दोस्रो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा राजस्थानलाई गुजरात टाइटन्सले सात विकेटले हराएको थियो ।
अर्कोतिर लखनउ सुपरजाइन्ट्सको आईपीएलमा यो तेस्रो सहभागिता हो । लखनउले सन् २०२२ मा पहिलो पटक आईपीएलमा सहभागिता जनाएको थियो । यसअघि भाग लिएको दुवै संस्करणमा लखनउ माथिल्लो चारभित्र पर्दै प्ले–अफ चरणमा पुग्न सफल भएको थियो । तर, दुवै पटक लखनउ इलिमिनेटरमा पराजित भएको थियो ।
राजस्थान रोयल्स
जारी सिजनको आईपीएलमा राजस्थानको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट देखिएको छ । राजस्थानका प्रभावशाली ओपनर यशस्वी जैसवाल, जस बट्लर, कप्तान सञ्जु सामसनजस्ता माथिल्लो क्रममा ब्याट्सम्यान लयमा छन् ।
ब्याटिङतर्फ मध्यक्रमका शुभम् दुबे, रियान पराग, रोवमन पावेलजस्ता प्रभावशाली ब्याट्सम्यान रहेका छन् । यसअघि लखनउविरुद्ध यशस्वीले दुई खेल खेल्दै ८५ रन बनाएका छन् । त्यसैले उनीबाट यसपटक पनि राजस्थानले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।
राजस्थानका बलरहरु पनि उत्कृष्ट छन् । नवदीप सैनी, कुलदीप सेन, ट्रेन्ट बल्ट, आवेश खानजस्ता बलरबाट राजस्थानले निकै आशा गरेको छ । तीव्र गतिका बलरको अतिरिक्त टोलीमा युजवेन्द्र चाहल, रविचन्द्रन आश्विनजस्ता प्रभावशाली स्पिनर पनि छन् । चाहल आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि पर्छन् । ट्रेन्ट बोल्टले आईपीएलमा हालसम्म लखनउविरुद्ध तीन खेल खेल्दै पाँच विकेट लिएका छन् ।
लखनउ सुपरजाइन्ट्स
यसैगरी जारी आईपीएलमा लखनउको ब्याटिङ लाइन–अप पनि गतिलो छ । कप्तान केएल राहुलसँगै देवदत्त पडिकल, काइल मेयर्स, निकोलस पुरण, क्विन्टन डी ककजस्ता प्रभावशाली ब्याट्सम्यान लखनउमा आबद्ध छन् ।
केएल राहुलले यसअघि आईपीएलमा राजस्थानविरुद्ध १४ खेल खेल्दै कुल पाँच सय ७९ रन बनाएका छन् । उनी आईपीएलमा राजस्थानविरुद्ध सबैभन्दा प्रभावकारी देखिएका ब्याट्सम्यान हुन् । लखनउको बलिङ पनि कमजोर छैन ।
रवि बिस्नोई, अमित मिश्रा, कुणाल पाण्ड्याजस्ता स्पिनर लखनउमा आबद्ध छन् । शमार जोसेफ, नविन उल हक, मोहसिन खान, शिवम मावीजस्ता प्रभावशाली बलर पनि टोलीमा छन् । अमित मिश्राले त हालसम्म आईपीएलमा राजस्थानविरुद्ध ३० विकेट लिइसकेका छन् ।
हेड टु हेडमा राजस्थान अगाडि
आईपीएलमा हालसम्म राजस्थान रोयल्स र लखनउ सुपरजाइन्ट्सबिच तीन खेलमात्र खेलिएको छ । त्यसमध्ये दुई खेलमा राजस्थान रोयल्स विजयी भएको छ । एक खेलमा भने लखनउले राजस्थानलाई हराएको छ । जयपुरहालसम्म यी दुई टोलीबिच एक खेलमात्र खेलिएको छ । त्यो खेलमा लखनउले राजस्थानलाई १० रनले हराएको थियो ।
सन्तुलित पिच
राजस्थान र लखनउबिच खेल हुने सवाई मानसिंह स्टेडियमको पिच सन्तुलित चरित्रको रहेको छ । यो पिचले ब्याट्सिम्यान र बलर दुबैलाई उत्तिकै सहयोग पुर्याउँछ । यहाँको पिचमा आईपीएलमा दुई सयभन्दा बढी रन बनेको इतिहास छ ।
खेलको सुरुआती ओभरमा तीव्र गतिका बलरलाई सहयोग पुग्नसक्छ । यो स्टेडियमको बाउन्ड्री तुलनात्मक रुपमा ठुलो भएकाले ब्याट्सम्यानलाई रन बनाउन केही अप्ठ्यारो हुन सक्छ । यो स्टेडियममा हालसम्म आईपीएलको ५२ खेल खेलिएको छ ।
यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले १८ खेल जितेका छन् । यसैगरी दोस्रो ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेको इतिहास छ । त्यसैले आइतबार खेलिने खेलमा टस जित्ने टोलीले पहिले बलिङको निर्णय लिने सम्भावना छ ।
मौसमको अवस्था
राजस्थान र लखनउबिच खेल हुने दिन आइतबार जयपुरमा मौसमका अवस्था सफा रहने समाचारमा जनाइएको छ । आइतबार यहाँको तापमान २२ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विभागले जनाएको छ ।
सम्भावित टोली
राजस्थान रोयल्स : सञ्जु सामसन (विकेटकिपर, कप्तान), यशस्वी जैसवाल, जस बट्लर, शुभम दुबे, ध्रुव जुरेल, शिमरन हेटमायर, रोवमन पावेल, रविचन्द्रन आश्विन, युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र संदीप शर्मा ।
लखनउ सुपरजाइन्ट्स : केएल राहुल (विकेटकिपर, कप्तान), क्विन्टन डी कक, देवदत्त पाडिकल, दीपक हुड्डा, कुणाल पाण्ड्या, निकोलस पुरण, मार्कस स्टोइनिस, यश ठाकुर, रवि विश्नोई, नविन उल हक र मोहसिन खान ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र