बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

८४ सालमा रास्वपाका सबै जना मन्त्री, अहिले त ट्रेलर मात्र हो : मन्त्री श्रेष्ठ

शनिबार, १० चैत २०८०, १६ : २६
शनिबार, १० चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् ।  शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको  बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे । 

अहिले आम नेपालीलाई ‘सर्भिस डेलिभरी’को खाँचो रहेकोले पनि पार्टी सरकारमा गएको उल्लेख गरे ।  उनले अहिले आर्थिक सङ्कट, विकृतिका चाङ रहेको बेला टिममा काम गर्नुको विकल्प नरहेको उनले बताए । 

श्रेष्ठले भने–‘कहीँ आशा छ भन्ने कुरा हामीले जनतालाई स्थापित गर्न सक्नैपर्छ । अहिले ७६१ वटा सरकार मध्ये रास्वपा जम्मा एउटा सरकारमा मात्र छ । बाँकी त्यत्रा सरकार खाली छ । मिसन ८४ मा केही नभए पनि ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश लिएर जानुपर्छ ।’

उनले आफूले सम्हालेको मन्त्रालय विदेशमा नेपालको प्रतिनिधित्व गर्ने र राष्ट्रिय झण्डालाई चिनाउने मन्त्रालयको रूपमा रहेको उल्लेख गरे । खेलकुद नै राष्ट्रिय एकताको सूत्रधारको रूपमा रहेको तर्क गर्दै खेलकुद क्षेत्रमा के नयाँ गर्न सकिन्छ भन्ने बारेमा पार्टी नेतृत्वसँग पनि आफूले छलफल गरेको उनले बताए । 

मन्त्रालय सम्हाल्दा बेथिति नै बेथितिको पहाडमा बसेको जस्तो अनुभूति हुने गरेको बताउँदै उनले समस्या समाधान गर्न पुगेको बताए । युवा तथा खेलकुद मन्त्रालय अब तल जाने ठाउँ नै नभएकोले जे गर्दा पनि माथि जाने अवस्थामा रहेको उल्लेख गरे । 

उनले राष्ट्रिय खेलकुद परिषद् राजनीतिक नियुक्तिले विकृतिको अखडा बनेको बताउँदै राजनीतिक खेलका लागि पनि भाग छुट्याउनुपर्ने अवस्थामा रहेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप