धुलोमाण्डु
अलिकति बादलको पर्दा च्यातेर
आकाशले चियाउँदै थियो ।
नागार्जुन ,फुलचोकी चन्द्रागिरिले घेरेर राखेको
धुलोमाण्डुलाई,
धुलो,धुवाँ अनि तुवाँलो ले सिँगारिएको
देवी र देउताहरूको सहर भनेर चिनिने
धुलोमण्डु उर्फ काठमाण्डु सहर
अचेल
बहुराष्ट्रिय कम्पनीहरूको
बहुत ठुलो ईण्ड्रष्टियल एरिया जस्तै बनेको छ,
सडक छन् अस्तव्यस्त
अनेक आयोजना ले
अनेक पटक कोतरेर बनाएको
कुरूप आकृति को परवाह नगरी
अरू देशमा पर्ने लागत भन्दा
कैयौँ गुणा करको भारी भित्रेका
मोटर- गाडी कुदिरहेका छन् ।
कमिला को ताती सरि
अस्तव्यस्त छन् ।
काठमाण्डु उर्फ धुलोमाण्डु
गगन चुम्बी कङ्क्रिटका महलको
जगका जराहरूले
गरेको अतिक्रमण खेपेर
साँघुरिँदै-साँघुरिँदै
आकार बिगारेर ढल बनेर बग्दैछ ।
बागमती, रुद्रमती अनि विष्णुमती
चोभार गल्छीबाट
बग्दैछ
काठमाडौँको इज्जतहरू
पर.... टाढा सम्म पुग्न ।
स्वयम्भू र बौद्धको चक्षुभरि
धुलो,धुवाँ जमेर
अशान्ति को आँसु बगाउँदै
डाक्टर रुईतलाई
सम्झी रहेको छ ।
प्रिय काठमाण्डु उर्फ धुलोमाण्डु
मठ र मन्दिरका गजुर हरूको
रङ ठ्याक्कै
धुवाँ र धुलो जस्तै देखिन्छ,
बाटाभरि असरल्ल कुदिरहेको
छाडा वस्तुहरूको चित्कारले
चसक्क मुटुमा घोचिँदो रहेछ ।
साँच्चै उ आफैँ
कुरूप बनेर सफा हुन बर्खाको झरी कुरिरहेको सहर
त्यहीँ सहरमा
उधुम उधारो सपनाहरू खोज्न
थानका थान सुन्दर मानिसहरू
भित्रिँदा रहेछ ।
दूर गाउँ बाट....
सपनाहरू बाँड्ने देखि
सपनाहरू खोज्ने भिडमा
भोक-तिर्खा सुर्ता बिर्सेर
सुदूर दूर दराजबाट सहर भित्रिएका
सोझा सिधालाई सजिलै
फगत सपना देखाएर फसाउने
इमानदारको मुखौटा ओढेर
बेइमानीको धन्दा गर्नेहरूलाई सम्म
साथ र बास दिने गर्दा रहेछ ।
मीठो मिठाइ जस्तो मन भएको
मनकारी काठमाण्डु,
मज्जाले निधाउन नपाएर बिउँझेको बिहानहरू सँगै
हातमा चियाको थर्मसमा तातो चिया,
पिठ्युँमा बिउँझन नमानेको बच्चा बोकेर
चिया बेच्दै जीवन खोजिरहेको
चियावालीदेखि
सुनका बिस्कुट भित्र्याउन माहिर
अनेक मन भका मान्छेलाई
साथ दिने सुन्दर भएर पनि
बाठा मान्छेहरूको बठ्याइँमा भुलेको
औधी राम्रो धुलोमण्डु!