बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

नर्सिङ क्याम्पसको पाठ्यक्रम विवादबारे शिक्षा मन्त्रालयमा छलफल

शुक्रबार, ०९ चैत २०८०, २२ : १४
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगन्जमा देखिएका पाठ्यक्रम विवादबारे छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विवादबारे छलफल गरेकी हुन् । छलफलको क्रममा उनले विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु गर्न निर्देशन दिएकी छन्। 

कलेजको बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै तालाबन्दी गरेका छन्। तालाबन्दीपछि मन्त्री श्रेष्ठले सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेकी हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा बसेको पदाधिकारीको बैठकले नर्सिङ शिक्षातर्फ बिएमएस तर्फका विद्यार्थीहरूले उठाएका विषयमा छलफल गरेको थियो ।

बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता रहेको थियो ।

बैठकमा विद्यार्थीहरूले उठान गरेको विषयमा छलफल भएको थियो । उनीहरूले बीएमएस, बीएम र बिएस्सी मिडवाई फ्रिको पाठ्यक्रम एकै भएको र आफूहरूलाई फरक पाठ्यक्रममा नभई एकै पाठ्यक्रममा अध्यापन गराएको आरोप लगाएका छन्। 

उनीहरूले उठान गरेको विवादमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको बताए।

त्यस्तै त्रिविका उपकुलपति प्राडा बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको बताए। 

त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राडा शाहले बिएस्सी मिडवाईफ्री र बेचुलर ईन मिडवाईफ्रि साइन्सको पाठ्यक्रम एकै भई सोही अनुसार पठनपाठन भएता पनि बीएमएस तर्फका विद्यार्थीलाई बीएमएसको उपाधि प्रदान गरिने बताइन्। 

नर्सिङ परिषद्की अध्यक्ष केसीले समेत बीएमएस अध्ययन गरिरहेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने बताएकी थिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप