मधेसी नेता किन छलाङ मारिरहन्छन् ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा पार्टीबाट राजीनामा दिएर निस्केका छन् भने नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव माओवादी केन्द्रमा आइसकेका छन् ।
उता, आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् । केही दिन अघि सामाजिक अभियन्ता सुनिता साह आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसैगरी आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमालेमा प्रवेश गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट दुई वरिष्ठ नेता राजेन्द्र महतो र अनिलकुमार झा विद्रोह गरेर निस्किसकेका छन् । महतोले आफ्नो छुट्टै पार्टी बनाउन अभियान सुरु गरिसकेका छन् भने अनिल झाले पनि छुट्टै पार्टी बनाउन तराई मधेसमा गृहकार्य सुरु गरिसकेका छन् ।
यी केही उदाहरणमात्र हुन्, मधेस केन्द्रित राजनीतिमा यस्ता गतिविधि दिनहुँजसो भइरहेका हुन्छन् ।
कुनै बेला एउटै पार्टीमा रहेका उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, महिन्द्र राय यादव, अनिलकुमार झा, रामनरेश राय यादव, गोविन्द चौधरी, विजयकुमार गच्छदार अहिले छरिएका छन् ।
कांग्रेस, एमाले, माओवादी लगायतका मुख्य दलमा पनि नेताहरु बाहिरिने र भित्रिने भइरहन्छ तर मधेस केन्द्रित दल र मधेसी नेताहरू भने यस्ता प्रवृत्तिमा अझ बढी सक्रिय देखिन्छन् । यहाँसम्म कि एउटै पार्टीभित्र पनि मधेसी नेताहरुको बिच मेल देखिँदैन ।
२०८० वैशाखमा माओवादी छाडेर उपनिर्वाचनका लागि जनमत पार्टीमा प्रवेश गरेका रामचन्द्र कुशवाहाले चुनाव हार्ने बित्तिकै सो पार्टी छाडे । सीके राउतको विरुद्धमा सप्तरीबाट छुट्टै अभियान सुरु गरेका उनले त्यो अभियान दुई महिना पनि चलाउन सकेनन् र गत असोज १८ गते एमालेमा प्रवेश गरे । एउटा व्यक्तिले ६ महिनाभित्र चार वटा संगठन परिवर्तन गर्ने काम मधेस र मधेसी नेतामै देखिएको टिप्पणी भइरहेको छ ।
पछिल्लो समय माओवादी छाडेका रामकुमार शर्मा माओवादी हुँदै फोरम, मधेस फोरम, तमलोपा, माओवादी, नयाँ शक्ति पुगेर माओवादीमै फर्किएका थिए । अहिले उनी माओवादीबाट जसपामा जान लागेको चर्चा छ ।
अहिले माओवादी केन्द्रमा विधिवत् जान लागेका महिन्द्रराय यादवले कुनैबेला एमाले छाडेर तमलोपा गठन गरेका थिए । तर त्यहाँ लामो समय उनी टिकेनन् । उनले आफ्नै नेतृत्वमा तमलोपा लोकतान्त्रिक गठन गरे ।
अन्य दलसँग एकीकरण गरेर उनले राजपा बनाए । राजपा हुँदै जसपामा पुगेका उनी जसपामा पनि टिक्न सकेनन् । जसपाबाट डा.बाबुराम भटट्राईसँगै निस्केर नेपाल समाजवादी पार्टी बनाएका यादव त्यहाँ पनि लामो समय टिक्न सकेनन् र अहिले माओवादी केन्द्रमा गएका छन् ।
मधेस केन्द्रित दलका नेताहरूले यस्ता थुप्रै छलाङ लगाउँदै आएका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो भन्छन्, ‘यस्तो छलाङ लगाउनुको एउटै कारण हो व्यक्तिगत महत्वकांक्षा । आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि अर्को पार्टीमा जाने र त्यहाँ त्यो पूरा भएपछि अर्को अवसर लिनका लागि अर्को पार्टीमा जान्छन् ।’
त्यसरी पार्टीमा दौडधुप गर्नेहरूको आफ्नो व्यक्तिगत स्वार्थमात्र हुने उनको भनाइ छ । उनले भने, ‘पहिलो संविधान सभातिर मधेसवादी दलहरु टुक्राटुक्रा हुनुको एउटै कारण थियो मन्त्री, ज–जसले पार्टी फोडे, सबै मन्त्री भए । यसैले पार्टी किन विभाजन गरिएको थियो भन्ने पुष्टि हुन्छ । अहिले पनि त्यही भइरहेको छ ।’
जनता समाजवादी पार्टीका नेता किरण साह (रौतहट)ले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडे । उनले चुनाव पनि जिते । तर लामो समय स्वतन्त्र रहन सकेनन् । उनी एमालेमा प्रवेश गरे । उनी निकट नेताहरू भन्छन्, ‘किरण साह मन्त्री बन्नकै लागि एमालेमा प्रवेश गरेका थिए तर उनी मन्त्री बन्न नपाए पनि प्रतिनिधिसभा अन्तर्गतको एउटा समितिको सभापति भएका छन् ।’
माओवादी केन्द्र छाडेका रामचन्द्र मण्डल अहिले मधेस प्रदेशका सभामुख भएका छन् । माओवादी छाडेकै ज्वाला साह अहिले एमालेबाट कृषि मन्त्री बनेकी छन् । माओवादीका रामबाबु यादव (बारा) महागढी नगरपालिकाको अध्यक्ष बन्न नपाएपछि जसपामा प्रवेश गरे । हाल उनी बाराका जिल्ला अध्यक्ष छन् ।
महोत्तरीकै माओवादी नेता बलराम यादव जिल्ला सदस्य बन्न नपाएपछि एमालेमा प्रवेश गरे । हाल उनी एमालेका जिल्ला अध्यक्ष बनेका छन् । सप्तरीका महेश यादव माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरे । उनी जनमत पार्टीबाट मधेस प्रदेश सभाको सदस्य छन् । उनी यसअघि शिक्षा मन्त्री थिए ।
यस्ता धेरै उदाहरण छन् जो पार्टी छाडेर अर्को पार्टीमा गएर अवसर पाएका छन् । राजनीतिक विश्लेषक ई.सत्यनारायण साह भन्छन्, ‘नेताहरूले सिद्धान्तका आधारमा राजनीति नगरेको कारण यो अवस्था आएको हो, उनीहरूमा सिद्धान्तभन्दा बढी व्यक्तिगत स्वार्थ हुन्छ । एक ठाउँमा स्वार्थ पूरा नहुने देखेपछि अर्कोतिर लाग्छन् ।’
यो समस्या अन्य दलमा र अन्य सुमदायका नेतामा समेत देखिए पनि मधेस र मधेसी नेतामा बढी देखिने गरेको उनको भनाइ छ । यसको मुख्य कारण नै सिद्धान्त र विचारबिनाको राजनीति रहेको उनले प्रस्ट पारे ।
‘मधेसमा अस्तित्वको संकट पनि छ । नेताहरूले एक अर्काको अस्तित्व स्वीकार गर्दैनन्,’ उनले भने, ‘एउटा नेतालाई अर्को नेताले स्वीकार गर्दैनन् र आफ्नो नेतृत्वमा पार्टी खोल्छन् वा अर्को पार्टीमा जान्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो