शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

नेपालमा किन लोकप्रिय हुन सकेन ओटीटी ?

महत्त्व धेरै छ, कन्टेन्टमा एकाधिकार भयो : फिल्मकर्मी
शुक्रबार, ०९ चैत २०८०, १७ : ५२
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । अहिले फिल्म हेर्न हलमै पुग्नुपर्छ भन्ने छैन । प्रविधिको विकाससँगै घरमै बसेर नयाँ–नयाँ फिल्म हेर्न सकिन्छ ।

इन्टरनेटको माध्यमबाट घरमै बसेर संसारभरका फिल्म सजिलै ‘ओभर द टप’ (ओटीटी) प्लेटफर्मबाट फिल्म हेर्न सकिने प्रविधि विकास भएको छ । ओटीटी श्रव्यदृश्य सामग्रीलाई इन्टरनेटमा निश्चित शुल्क तिरेर प्रस्तुत गर्ने माध्यम हो ।

खुला व्यापारको नीतिसहित आएको ओटीटी छिटो र सहज तवरबाट सबैखाले मनोरञ्जनात्मक तथा सूचनामुलक सामग्रीलाई सशुल्क विश्वसामु एकै पटक पुर्‍याउने माध्यम हो । त्यसैले यसको आकर्षण विश्वमा बढ्दो छ ।

नेटफ्लिक्स, डिज्ने प्लस हटस्टार, अमेजन प्राइम भिडियो, जी फाइभ, सोनी लिभ लगायत विभिन्न ओटीटी प्लेटफर्मको विश्वबजारमा यतिबेला दर्बिलो उपस्थिति छ । नेपालमा भने ओटीटी तुलनात्मक रुपमा कम छन् । नेपालमा आइफ्लिक्स, सिनेमाघर, भिडियो पसल, नेट टीभी, चलचित्र टीभी, कान्तिपुर सिनेमाज् लगायतका ओटीटी प्लेटफर्म विस्तार भएको छ । यीमध्ये आइफ्लिक्स, चलचित्र टीभी लगायत केही बन्द भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण विश्वभरको मनोरञ्जन क्षेत्र शून्य अवस्थामा झर्दै गर्दा ओटीटी थप प्रभावकारी भएको थियो । लकडाउनमा विश्व फिल्म बजारमा ओटीटीले ठुलो राहत दियो ।

नेपालमा ओटीटी प्लेटफर्म प्रभावकारी हुन नसकेको ओएसआर डिजिटलका ओम अग्रवाल बताउँछन् । अग्रवाल केही अगाडिसम्म ‘भिडियो पसल’ भन्ने ओटीटीसँग जोडिएका थिए । अहिले उनको सहकार्य टुटिसकेको छ ।

‘नेपालका ओटीटीमा मानिस पैसा तिरेर हेर्दैनन्’, अग्रवालले भने, ‘टिमवर्कको अभाव भएकाले पनि असफल भएको जस्तो लाग्छ ।’

दौडधुप बढी हुने, पाइरेसीको डर लगायतका कारणले ओटीटी प्रभावकारी हुन नसकेको अग्रवाल बताउँछन् । ‘राम्रो र फाइदाजनक भए पनि काम गर्न सकिएको छैन,’ उनले भने ।

निर्देशक मनोज पण्डित भने नेपालमा ओटीटी प्लेटर्फमको विकास होइन, भर्खर प्रारम्भ भएको बताउँछन् । यो एउटा बिजनेस भएकाले स्थापित र प्रभावकारी बनाउन धेरै मेहनत गर्नुपर्ने पण्डितको धारणा छ ।

‘यो ओटीटी नयाँ आइडिया, बिजनेश हो । यो स्थापित गर्न जुन लगानी, मेहनत, योजना हुनुपर्थ्यो, नेपालमा त्यो गरिएको छैन । त्यसैले यो प्रभावकारी नभएको हो’, पण्डितले भने, ‘ओटीटी आफैँमा समस्या होइन । धेरै फिल्म मेकरको समाधान हो ।’

नेपालको सन्दर्भमा नयाँ अवधारणा स्थापित गर्न आवश्यक मेहनत, रिसर्च र क्याम्पियन नभएको पण्डित बताउँछन् । मेहनत नगरेपछि त्यसको प्रतिफल ननिस्कनु स्वाभाविक भएको उनले प्रस्ट पारे । उनले भने, ‘समस्या ओटीटीमा होइन, यो स्थापित गर्ने मेहनतमा हो ।’

अभिनेता जीतु नेपाल मानिसहरू पोजेटिभभन्दा नेगेटिभ बढी हेर्ने भएकाले ओटीटी प्लेटफर्म प्रभावकारी हुन नसकेको बताउँछन् । ‘नेपालमा अहिले हलमा लागेको केही समयपछि ओटीटीमा फिल्म राख्ने गरिन्छ । जुन फिल्म ६ महिनापछि युट्युबमा पनि आउँछ’, नेपालले थपे, ‘युट्युबमा सित्तैमा हेर्न पाउने फिल्म ओटीटीमा किन पैसा तिर्ने ?’

मानिसहरू युट्युबमा अर्काको व्यक्तिगत नकारात्मक विषयमा बढी ध्यान दिन थालेको नेपालको बुझाइ छ । ‘ओटीटी पैसा तिरेर हेर्ने हो । पैसा तिर्न मानिस किन अगाडि सर्थ्यो र ?’ नेपालले थपे ।

महत्त्व धेरै, बुझाइ खै ?

फिल्म हेर्ने एउटा स्वतन्त्र डिजिटल माध्यम हो ओटीटी । यसबाट दर्शक स्वतन्त्र रुपमा आफ्नो समय अनुरुप, आफूले चाहेको फिल्म विश्वको जुनै ठाउँबाट हेर्न सक्छन् ।

फिल्म मेकरका लागि पनि यो महत्त्वपूर्ण मानिन्छ । हलमा विभिन्न परिधिमा बाँधिएर फिल्म देखाउनुभन्दा यसमा वर्षाैंसम्म पनि राख्न सकिन्छ । हलमा देखाउन नपाएका फिल्मसमेत आफ्नो खुसी अनुसार राख्न सकिन्छ ।

फिल्म हेर्न हलमा जान र आउन लाग्ने खर्चका साथै समय पनि ओटीटीले बचत गरिदिन्छ । त्यसैले यो प्लेटर्फम किफायती र महत्त्वपूर्ण भए पनि प्राथमिकतामा भने पर्न सकिरहेको छैन ।

निर्देशक मनोज पण्डित ओटीटी एउटा फिल्म हेर्ने लोकतान्त्रिक र सबैको लागि उपयुक्त प्लेटफर्म भएको बताउँछन् । ‘यो सबै प्रकारका दर्शकलाई स्वतन्त्रताका साथ र आफ्नो समय अनुसार फिल्म हेर्न मिल्ने प्रविधि हो’, पण्डितले थपे, ‘हरेक दर्शकलाई स्वतन्त्र बनाएर आफ्नो समय, आफ्नो च्वाइस र सहजता अनुसारको फिल्म हेर्ने सुविधा यसमा उपलब्ध हुन्छ ।’

फिल्म मेकरलाई पनि अवसर र स्वतन्त्रता दिने प्लेटफर्मका रुपमा उनी ओटीटीलाई लिन्छन् । ‘वर्षाैंसम्म ओटीटीमा कन्टेन्ट राख्न मिल्यो । समय र परिधिको सीमितता भएन । स्वतन्त्र ढङ्गले राख्न सम्भव भयो’, पण्डित थप्छन्, ‘हलले निश्चित समय दिन्छ । त्यसमा पनि प्रतिस्पर्धात्मक तरिकाबाट ।’

फिल्म गुणस्तरीय छ भने मेकरले हलको जस्तो चक्कर ओटीटीमा लगाउनु नपर्ने बताउँछन् उनी । ओटीटी प्लेटफर्मका मेकरले गर्नुपर्ने लगानी र मेहनत पुगेको खण्डमा नेपालमा केही समयभित्र यो बलियो रुपमा आउने उनको भनाइ छ । उनले भने, ‘यो समयले दिएको कुरो हो । अहिले अभाव मेहनत र लगानी हो ।’

ओटीटी कान्तिपुर सिनेमाज्का प्रकाश पुरी यो डिजिटल प्लेटफर्म भएकाले यसको आवश्यकता र महत्त्व ठुलो भएको बताउँछन् । नेपालमा यसको महत्त्व कसैले बुझ्न नसकेको र बुझ्न पनि नखोजेको बताउँदै उनी सबैले सजिलै फिल्म हेर्न मिल्ने माध्यम ओटीटी भएको प्रस्ट पार्छन् ।

‘सबैलाई हलसम्म गएर फिल्म हेर्ने माहोल बन्दैन । समय अनुकूल हलमा फिल्म हुँदैन’, पुरीले भने, ‘समय अभावले एउटा फिल्म हेर्न मानिस हलमा जान पाउँदैन ।’ आफ्नो डिभाइसमा आफूलाई मनपरेको विषय छानेर आफ्नो समयमा हेर्न पाउने उपयुक्त प्लेटफर्म ओटीटी बाहेक अरु नभएको उनको भनाइ छ ।

नेपालमा भन्दा विदेशमा रहेका नेपालीले नेपालका ओटीटीहरू बढी प्रयोग गरेको बताउने पुरीले बानी पार्न सके ओटीटी राम्रो हुने तर्क गर्दछन् । ‘कान्तिपुर सिनेमाज्मा बानी पार्न हामीले अहिले न्यूनतम पैसामा विभिन्न कन्टेन्ट राखेका छौँ । त्यसमा पनि एउटाले पैसा तिरेमा दुई वटाले लगइन गरेर हेर्न मिल्छ ।’

नेपालमा पछिल्लो पुस्ताले ओटीटीमा चासो र जिज्ञासा राख्न थालेकाले राम्रो र महत्त्वपूर्ण प्लेटर्फमको रुपमा यो भविष्यमा स्थापित हुने उनको विश्वास छ ।

कन्टेन्टमा एकाधिकार

नेपालमा ओटीटी प्लेटफर्म प्राथमिकतामा नपर्नुको कारण कन्टेन्टको अभाव र एकाधिकार पनि हो । हलमा कुनै पनि फिल्म लाग्नु अगाडि यस्ता प्लेटफर्ममा राखिँदैन । यसैका लागि भनेर छुट्टै कन्टेन्ट बन्दैन । बनेका फिल्म पनि डिजिटल राइट किन्ने कम्पनीको सिन्डिकेट (एकाधिकार) गरेर राख्ने गरेका छन् । जसले किन्छ, उसले आफ्नो युट्युव बाहेक अन्त प्रयोग गर्न हिचकिचाइरहेको अवस्था छ ।

कान्तिपुर सिनेमाज्का प्रकाश पुरी भन्छन्, ‘ओटीटी प्लेटफर्म संसारभर चलेको भनेको सब्स्क्रिप्सन मोडलबाट हो  । चाहे त्यो नेटफ्लिक्स, डिज्ने प्लस हटस्टार, अमेजन प्राइम भिडियो, जी फाइभलगायत किन नहोस्’, पुरी अगाडि भन्छन्, ‘एउटा कन्टेन्टका लागि मानिसले पैसा तिर्दैन ।’

पुरीका अनुसार निर्माताले दुई वर्षमा एउटा फिल्म बनाउने गर्छ तर ओटीटीका लागि भनेर फिल्म पहिल्यै किन्न सक्ने अवस्था छैन । पुरीले थपे ‘डिजिटल राइट किनेकाले पनि हामीसँग सहकार्य गर्दैन ।’

आफूहरूले अहिले ओटीटीका लागि वेबसिरिज बनाइरहेको उनले खुलाए । पुरीले अगाडि थपे, ‘हामीले यो फिल्म अन्यमा हेर्न पाइँदैन भन्ने बानीको विकास गर्न खोजेका छौँ ।’ हलमा आएको फिल्म ५ महिना ओटीटीमा हालेर फेरि युट्युबमा हाल्ने बानी गर्दा दर्शकले ओटीटीमा पैसा तिर्नुभन्दा युट्युवमै पर्खिने गरेको उनको बुझाइ छ ।

पुरीको विचारसँग हाइलाइट नेपालमा जनक तामाङको विचार पनि मिल्छ । तामाङ नेपालमा रहेको डिजिटल राइट किन्ने सबै कम्पनीले आफ्नो कन्टेन्ट एक अर्काेसँग सहकार्य नगर्ने बताउँछन् ।

‘कन्टेन्ट सबै हाल्न नपाएपछि दर्शकमा कन्फ्युजन हुन्छ । किनभने एउटा व्यक्तिले नेपाली फिल्म हेर्न कतिवटा ओटीटी एप डाउनलोड गर्ने त ?’, तामाङले थपे, ‘एक हिट फिल्म एउटाबाट आयो, अर्काे हिट फिल्म अर्को ओटीटीमा आउँछ । अनि दर्शकले कतिवटा एप प्रयोग गर्ने ?’

दर्शकलाई यो एपमा सबै नेपाली फिल्म हेर्न मिल्छ भन्ने गरी सुविधा दिन पाएमा सजिलो हुने तामाङको धारणा छ । कन्टेन्टमा एकाधिर हुनाले ओटीटीमा दर्शक अडिने वातावरण बनाउन नसकिएको उनको बुझाइ छ । उनले भने, ‘कन्टेन्ट नभए पनि नेपाली भएका कारण मायाका लागि मात्र ओटीटीमा पैसा कसैले खर्च गर्दैन ।’

साझा ओटीटीको खाँचो

नेपालमा फिल्मको डिजिटल राइट किन्ने कम्पनी भनेको बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटल हो । नेपालमा निर्माण हुने अधिकांश फिल्मका डिजिटल अधिकार यी तीन कम्पनीसँग छ ।

तर यी तीनमध्ये हाइलाइट नेपाल र ओएसआर डिजिटलले आफ्ना फिल्म ओटीटीमा उपलब्ध गराउने गरेको छन् । तर, बुढासुब्बाले भने आफ्नो फिल्म युट्युबमा मात्र राख्ने गरेको छ । त्यसैले नेपालमा ओटीटीको बजार विस्तार गर्ने हो भने साझा ओटीटीको खाँचो औँल्याउँछन् सरोकारवाला ।

साझा ओटीटी भयो भने भविष्य राम्रो हुने हाइलाइट नेपालमा जनक तामाङ बताउँछन् । भुटानमा ‘समूह’ नामको एप भुटानी फिल्म उद्योगका लागि रहेको र त्यसमा सबै भुटानी फिल्म राख्ने गरिएको उनले बताए ।

तामाङले थपे, ‘हाम्रोमा एप धेरै आयो । केही बन्द भए, केही अझै छन् । तर तिनमा सबै फिल्म छैनन् ।’ अन्तर्राष्ट्रिय माध्यमले नेपाली फिल्मलाई प्रथामिकता नदिएको अवस्थामा नेपालका ३÷४ कम्पनी मिलेर एउटा साझा एप बनाएर अगाडि बढ्न जरुरी रहेको तामाङको भनाइ छ ।

ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल पनि ओटीटीका लागि फिल्मको डिजिटल राइट किन्न सबै कम्पनी मिलेर जानुको विकल्प नरहेको बताउँछन् । ‘ओटीटी थोरै कन्टेन्टले अगाडि बढ्न सक्दैन’, अग्रवालले भने, ‘यसमा सहकार्यको वातावरण बन्यो भने राम्रो हुन्छ ।’

धेरै ओटीटीभन्दा पनि नेपालका लागि एउटा साझा ओटीटी चलाउन सके सबैका लागि राम्रो हुने अग्रवालको धारणा छ ।

Capture

कहिलेदेखि खुले नेपालमा ओटीटी ?

नेपाली कन्टेन्टका लागि आइफ्लिक्स, सिनेमाघर, भिडियो पसल, नेट टीभी, चलचित्र टीभी, कान्तिपुर सिनेमाज् लगायत विभिन्न ओटीटी विस्तार भएको देखिन्छ । सन् २०१४ मा हाइलाइटले ‘हाम्रो मुभी डटकम’बाट ओटीटी यात्रा सुरु गरेको हो ।

हाइलाइट नेपालले सबैभन्दा पहिले ओटीटी ‘हाम्रो मुभी डटकम’ सबैका लागि भनेर सुरु गरेको थियो । यसमा फिल्मका डिजिटल अधिकार किन्ने कम्पनीको सहकार्यको अभाव र पाइरेसीले यो अगाडि बढ्न सकेन । हाइलाइट नेपालले अहिले ओएसआर डिजिटलसँगको सहकार्यमा ‘सिनेमा घर’ चलाउँदै आएको छ ।

बुढासुब्बा डिजिटलले पनि ‘फोपी’ ओटीटी चलाएको थियो । त्यो अहिले बन्द छ । ओएसआर डिजिटल पनि पहिले ‘भिडियो पसल’सँग जोडिएको थियो । अहिले त्योसँग अगल भइसकेको छ । अहिले नेपालमा चल्तीमा रहेको एप भनेका ‘सिनेमा घर’, ‘कान्तिपुर सिनेमाज्’ लगायत केही छन् ।

‘सिनेमा घर’मा हाइलाइट नेपाल र ओएसआर डिजिटलका फिल्म उपलब्ध हुने गरेको छ भने ‘कान्तिपुर सिनेमाज्’ले आफ्नो फिल्म तथा वेबसिरिजहरू उपलब्ध गराउने गरेको छ ।

अब ओटीटी अनिवार्य दर्ता गर्नुपर्ने

ओटीटी अहिलेसम्म आधिकारिक रुपमा कतै दर्ता नभइ सञ्चालनमा आइरहेका छन् । अब भने ओटीटी प्लेटफर्ममार्फत भिडियो वा जुनसुकै कार्यक्रम प्रसारण गर्न नेपाल सरकारको अनुमति अनिवार्य लिनुपर्ने भएको छ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधनमा सरकारले यो व्यवस्था गरेको सूचना तथा प्रसारण विभागका निर्देशक सुवोध गौतमले जानकारी दिए ।

‘अहिले ओटीटीको राष्ट्रिय प्रसारण नियमावली २०८० भनेर १२औँ संशोधन आएको छ । त्यसमा स्वीकृति लिनुपर्ने भन्ने आएको छ’, गौतमले भने, ‘हामी निवेदन लिने प्रक्रियामा छौँ । त्यसका लागि एउटा सूचना जारी गर्छाैं ।’

यस अगाडि ११ औँ संशोधनमा ओटीटी दर्ता हुनका लागि सरकारले एक करोड रुपैयाँ शुल्क लिने व्यवस्थासमेत गरेको थियो । यसमा ओटीटी प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालमा सदस्य बनाउन सक्ने र सदस्य बनाएबापत शुल्क पनि लिन सक्नेछ व्यवस्था थियो । तर, उक्त शुल्क नेपालभित्रै दर्ता भएको क्यास सर्भर प्रयोग गर्नुपर्ने व्यवस्था नियमावलीको नियम ७ मा गरिएको थियो ।

नियमावलीमा उपभोक्ताको माग बमोजिमको कुनै कार्यक्रम डीटीएच केबल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनेर परिभाषित गरिएको छ । १२ औँ संशोधनमा पनि यी विषय यथावत रहेको गौतम बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप