आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गठबन्धनमा बागी उम्मेदवार दिनेको कारबाही फुकुवा गर्ने कांग्रेसको तयारी

शुक्रबार, ०९ चैत २०८०, १७ : २४
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता-कार्यकर्तालाई माफी दिने तयारी थालेको छ । कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने भएको हो । 

कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र जसपाका उम्मेदवारविरुद्ध बागी दिएकालाई माफी दिने तयारी छ । यस्तै गत मंसिरमा ४ मा भएको आम निर्वाचनमा गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका उम्मेदवारविरुद्ध उभिएका कांग्रेस नेता-कार्यकर्ताले पनि माफी पाउने छन् । 

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कांग्रेसले पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासित गरेको थियो । गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट अजय द्विवेदी, रामकुमार राई, राजन कुँवर, महादेव गुरुङ, धर्मराज पोखरेल लगायतका नेता कारबाहीमा परेका छन् । कांग्रेस अनुशासन समितिका सदस्य सञ्जय गौतमले आगामी चैत १५ गते बस्ने बैठकले कारबाहीको सिफारिसको वर्गीकरण गर्ने बताए ।

उनले भने, ‘हामीले पार्टीका उम्मेदवार र कांग्रेसको उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारविरुद्ध उभिएकाहरूको वर्गीकरण गर्छौँ । त्यसपछि एउटा निर्णयमा पुग्छौँ ।’  गठबन्धनले कांग्रेसमा समस्या निम्त्याएको भन्दै गठबन्धनमा विद्रोह गरेकाहरूको कारबाही फुकुवा गर्ने सम्भावना गरेको बताए । 

‘गठबन्धन देखि हालियो । यसले पार्टीमा समस्या निम्याएको छ । गठबन्धनमा बागी उम्मेदवारी दिँदा निष्कासित भएकाहरूमा फरक ढङ्गले अगाडि बढ्ने कि भन्ने छ,’ उनले भने, ‘ चैत १५ मा हाम्रो बैठक बस्दैछ । त्यसपछि पार्टीका नेताहरूसँग पनि छलफल गर्छौँ ।’ 

कांग्रेसले यसअघि गत वैशाखमा भएको उपनिर्वाचनमा पार्टीलाई सहयोग गरेका र स्वतन्त्र उम्मेदवारी दिएर जिताहरुको हकमा कारबाही फुकुवा गरिसकेको छ । कांग्रेसले चितवन— ३ मा बाजी उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा पनि फुकुवा गरिसकेको थियो । 

कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवारभन्दा कोइरालाले विद्रोह गरेका थिए । 

स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । चुनावताका कोइराला एमाले प्रवेश गर्ने चर्चा थियो । कोइराला भने कांग्रेसकै राजनीतिक गतिविधिमा फर्किए । 

यस्तै गत साउनमा कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर विजयी भएका १४ जनाको कारबाही फुकुवा गरेको थियो । कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाहीको कारबाही फुकुवा गरेको थियो। 

दैलेखको जिल्ला समन्वय समिति प्रमुख नवराज शाही, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाह, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर राजुसिंह कठायत, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री, उपप्रमुख तारादेवी महतोको कारबाही फुकुवा भएको थियो । यस्तै बर्दिबासका वडाध्यक्ष भोला खड्का, राम यादव, विजयकुमार महतो, सदस्यहरू विदेश्वर शाह, रुकुम तामाङ र लक्ष्मण सिंहको पनि कारबाही फुकुवा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप