नेपालमा लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौ : राजदूत पार्क
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग आफूहरूले अपिल गर्ने बताएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटका क्रममा राजदूत थेयङले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
उक्त भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन ११ वटा विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी उनले दिए ।
पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरेका छन् । ठुलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरू स्पष्ट रहेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन नेपाल सरकार लागिपरेको समेत उनले जानकारी दिए ।
नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना भएकाले अन्तर्राष्ट्रिय क्षेत्रले लगानी ल्याउन सक्ने अर्थमन्त्री पुनले बताए । संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे ।
‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुष्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुसरण गर्नुपर्ने धेरै कुरा छन् ।’
राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोजगारी प्रणाली (ईपीएस) लाई निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको उनले जानकारी दिए ।
कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए । नेपालको कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउँदै उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको समेत उल्लेख गरे ।
हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो । नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयतन बढाउन चाहेको जानकारी राजदूतले थेयङले दिए ।
आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले अर्थमन्त्री समक्ष आग्रह गरे ।
कोरियाले नेपालमा धेरै धन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले आगामी लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठुलो सङ्ख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’ राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि अपिल गछौं ।’
सोही अवसरमा राजदूत थेयङले नेपालले दोहोरो कर प्रणाली र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने चासो व्यक्त गरे । राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरूका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन