बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विवाद

त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान कार्य अन्योलमा, डिजिटल स्कोरबोर्ड जडानका लागि छुट्टै विज्ञापन

शुक्रबार, ०९ चैत २०८०, १३ : १९
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । निर्माण कम्पनी छनोटका क्रममा देखिएको विवादका कारण निकै लामो समय बितिसक्दा पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने कार्य अन्याेलमा परेको छ । ‘फ्लड लाइट’ जडानका लागि निकैअघि प्रक्रिया अगाडि बढाइए पनि ठेक्का प्रक्रियामा संलग्न निर्माण कम्पनीहरूबिच विवाद देखिएपछि हालसम्म निर्माण कार्य नै अगाडि बढ्न नसकेको हो ।

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोत भन्छ, ‘निर्माण कम्पनीबिच पटक–पटक विवाद हुँदै आएको छ । विवाद अदालतसम्म पुग्यो । अदालतबाट निर्णय भइसकेपछि फेरि अर्को विवाद सुरु भएको छ । त्यसैले निर्माण कार्य सुरु नै हुन सकेको छैन ।’

‘फ्लड लाइट’ जडानका लागि पहिलो पटक आव्हान गरिएको टेन्डरमा पाँच वटा निर्माण कम्पनीले टेन्डर बुझाएका थिए । तर, त्यतिबेला आवश्यक मापदण्ड पुरा हुन नसकेका कारण पाँच वटै कम्पनी अनुत्तीर्ण भएका थिए ।

त्यसपछि पुनः नयाँ टेन्डर आव्हान गरिएको थियो । त्यसमा चार वटा निर्माण कम्पनीले टेन्डर भरेका थिए । दोस्रो पटक टेन्डर बुझाउने निर्माण कम्पनीमा एमएसआईपीएल–एएससी पावर जेभी, सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभी, पशुपति रोयल जेभी र इन्फा कार्की बन्धु जेभी रहेका थिए ।

दोस्रो पटकको टेन्डरमा आवश्यक सबै प्रक्रिया र मापदण्ड पुरा गरेका कारण एमएसआईपीएल–एएससी जेभीले ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको थियो । तर, एमएसआईपीएल–एएससी पावर जेभीले ठेक्का पाएपछि सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले आफूमाथि अन्याय भएको भन्दै उजुरी गर्यो ।

त्यो उजुरी सार्वजनिक पुनरावलोकन समितिसम्म पुग्यो । सार्वजनिक पुनरावलोकन समितिले पनि उजुरीमाथि छानबिन गरी सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीकै पक्षमा फैसला सुनायो । सार्वजनिक पुनरावलोकन समितिले सूर्योदय उजा–बुद्धिराज इलेक्ट्रिक्सलाई पनि समेटेर पुनः मूल्याङ्कन गर्न निर्देशन दिएको थियो ।

त्यसपछि सार्वजनिक पुनरावलोकन समितिको उक्त निर्णयमा चित्त नबुझेको भन्दै ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको कम्पनी एमएसआईपीएल–एएससी पावर जेभी कानुनी उपचार खोज्न उच्च अदालत पाटन पुग्यो । एमएसआईपीएल–एएससी जेभीले आफूले सबै प्रक्रिया पुरा गरेर कानुनी रूपमै ‘फ्लड लाइट’ जडानको जिम्मेवार पाएकाले काम गर्ने वातावरण बनाइदिन अदालतसँग माग गरेको थियो ।   

तर, उच्च अदालत पाटनले एमएसआईपीएल–एएससी पावर जेभीद्वारा दायर गरिएको रिट खारेज गरिदियो । समग्रमा उच्च अदालत पाटनले पनि सार्वजनिक पुनरावलोकन समितिको निर्णयलाई नै सदर ग¥यो । त्यसपछि राखेपले यस विषयमा छानबिन गर्न छुट्टै परामर्शदाता नियुक्त गर्यो ।

राखेपले नियुक्त गरेको परामर्शदाताले पनि लामो छानबिन र अध्ययनपछि पुनरमूल्याङ्कन गर्न नै सुझाव दियो । त्यसपछि पुनरमूल्याङ्कनको प्रक्रिया अगाडि बढाइयो । तर, यसपटक पनि ‘फ्लड लाइट’ निर्माणका लागि काठमाडौँको सिनामंगलस्थित एमएसआईपीएल–एएससी जेभी नै उत्तीर्ण भयो ।

त्यसपछि फेरि सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभी आफूलाई उत्तीर्ण गरिनुको कारण माग गर्दै राखेप पुग्यो । यसपटक सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले ‘फ्लड लाइट’ जडान गर्ने ठेक्का पाएको कम्पनी एमएसआईपीएल–एएससी जेभीसँग निर्माणको इजाजत नै नभएको दाबी पनि गर्यो ।

यस्तो ठेक्का प्रतिक्रियामा संलग्न निर्माण कम्पनीसँग दुई प्रकारको इजाजत–पत्र हुनुपर्नेमा ‘फ्लड लाइट’ जडानको ठेक्का पाउने एमएसआईपीएल–एएससी जेभीसँग निर्माण कार्यको इजाजत नै नभएको दाबी सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले गरेको छ ।

‘यस्तो ठेक्का प्रक्रियामा संलग्न हुने कम्पनीसँग दुई प्रकारको इजाजत–पत्र हुनुपर्ने रहेछ । एउटा वाणिज्य विभागबाट प्राप्त सामान निर्यातको इजाजत–पत्र र अर्को निर्माण व्यवसाय ऐन अनुसार निर्माण कार्यका लागि प्राप्त इजाजत–पत्र । अहिले सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले एमएसआईपीएल–एएससी जेभीसँग दोस्रो इजाजत–पत्र नभएको दाबी गरेको छ,’ राखेप स्रोत भन्छ, विवाद यही बिन्दुमा पुगेर अड्किएको छ । विवाद अझै कति लम्बिने हो, थाहा छैन ।’

अहिलेको स्थितिसम्म आइपुग्दा ‘फ्लड लाइट’ जडान ठेक्का विवाद नयाँ मोडमा पुगेको छ । सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीको नयाँ उजुरी र दाबीपछि यस विषयमा छानबिन भइरहेको राखेपले जनाएको छ । ‘यो करिब २८ करोड रुपैयाँको ठेक्का हो । अहिलेको स्थितिमा यो ठेक्का निकै ठुलो हो । फ्लड लाइट जडानको ठेक्कामा विवाद हुनुको कारण पनि यही हो । त्यसमाथि नेपाली खेलकुद क्षेत्रमा इलेक्ट्रिकल विषयको यो नै पहिलो ठुलो ठेक्का पनि हो,’ राखेप स्रोत भन्छ ।

सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले एमएसआईपीएल–एएससी जेभीसँग दोस्रो इजाजत–पत्र नभएको दाबी गरेपछि राखेपले सत्य–तथ्य पत्ता लगाउन आफ्ना बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।

‘यस विषयमा अध्ययन गर्न राखेपले मेरो संयोजकत्वमा समिति गठन गरेको छ । हामी गम्भीर रूपमा यस विषयमा अध्ययन र छानबिन गरिरहेका छौँ । छानबिन अन्तिम चरणमा पुगिसकेको छ । छिट्टै नै यसको प्रतिवेदन राखेपमा बुझाउने छौं,’ राखेपका बोर्ड सदस्य धमलाले रातोपाटीसँग भने ।

विवादका कारण फ्लड लाइट जडान प्रक्रिया अन्योलमै रहेका बेला राखेपले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘डिजिटल स्कोरबोर्ड’ जडानका लागि टेन्डर आव्हान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप