माओवादी छाडेका शर्मा जसपा प्रवेशको तयारीमा
काठमाडौँ । माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा जाने तयारीमा लागेका छन् ।
उनले हिजो माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । स्रोतका अनुसार नेता शर्मा पार्टीमा राजीनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसकेका थिए । अध्यक्ष यादवले नेता शर्मालाई पार्टीको महाधिवेशन अघि नै पार्टीमा आउन आग्रह गरेका थिए । जसपाको महाधिवेशन २०८१ जेठ २७ गतेदेखि जनकपुरमा हुने भनिएको छ ।
जसपाका अध्यक्ष यादवले महाधिवेशन अघि नै आएमा पार्टीमा व्यवस्थापन गर्न सजिलो हुने बताएपछि नेता शर्माले माओवादीबाट राजीनामा दिएको स्रोतको दाबी छ ।
नेता शर्माले आफू जसपामा जान लागेको कुरा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराएका थिए । पार्टीले पछिल्लो समय गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै आएका नेता शर्माले पार्टीमा जिम्मेवारी दिनुपर्ने माग गर्दै आएका थिए । जिम्मेवारी नपाउँदा पार्टीमा रहनुको अर्थ छैन भन्दै नेता शर्माले मधेस प्रदेशमा कुनै जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए ।
अध्यक्ष प्रचण्डले थप जिम्मेबारीबारे सोच्न केही समय मागेका थिए । तर सात दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट नेता शर्मालाई कुनै रेसपोन्स आएन । त्यसपछि थप उनी तीन दिन पर्खे । तैपनि पनि प्रधानमन्त्री प्रचण्डबाट कुनै रेसपोन्स नआएपछि उनले पार्टीबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
नेता शर्मासँग यस विषयमा जान्नका लागि पटक पटक प्रयास गरे पनि उनी सम्पर्क आउन चाहेनन् ।
नेता शर्मा आफ्नो सरकारी जागिर छाडेर माओवादी आन्दोलनमा लागेका थिए । माओवादीमा हुँदा उनी उपेन्द्र यादवको साथमा मधेसी जनअधिकार फोरम नेपाल सामाजिक संस्थाको रूपमा गठन गरेका थिए । मधेसमा उनीहरू फोरमका तर्फबाट गतिविधि गरिरहेका थिए । २०६३ मा फोरम पार्टीको रूपमा दर्ता भयो, त्यसपछि रामकुमार शर्मा माओवादी छाडेर फोरममा गए ।
फोरमले सुरु गरेको मधेस आन्दोलनमा नेता शर्मा सक्रिय थिए । सोही क्रममा २०६४ भदौ १३ गते फोरम र सरकार बिच २२ बुँदे सम्झौता भएको थियो । सम्झौतामाथि चित्त नबुझेपछि भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, किशोर विश्वासलगायतका नेताहरूको साथमा नेता शर्मा फोरमबाट अलग भएर अर्को पार्टी बनाएका थिए ।
त्यही बेला महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायतका नेताहरू काँग्रेसबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी गठनको तयारीमा लागेका थिए । रामकुमार शर्माहरू पनि सोही पार्टीमा समाहित भए ।
२०६४ को पहिलो संविधानसभा चुनाव जितेका रामकुमार शर्मा २०६६ मा तमलोपा त्यागेर माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । माओवादीबाट डा बाबुराम भट्टराई अलग हुँदा शर्मा पनि उनकै साथमा नयाँ शक्ति पार्टीमा गएका थिए । तर उनी पछि माओवादी केन्द्रमै फर्किएका थिए ।
माओवादीमा रहँदा उनले मधेसका लागि पटक पटक आवाज उठाएका थिए । कहिले समूहमा त कहिले एक्लै पनि माओवादीका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रहरु दिइरहेका थिए । मधेसमा पार्टी संगठन सुधार गर्नका लागि उनले पटक पटक प्रयास गरेका थिए ।
उनले कार्यकारी जिम्मेवारी पनि माग गरिरहेका थिए । विघटन भएको राष्ट्रिय मधेसी मुक्ति मोर्चालाई पनि पुनर्गगठन गर्न प्रयास गरेका थिए । त्यसका लागि अध्यक्ष प्रचण्डसँग पटक पटक कुरा गरेका थिए । तर कुनै सुनुवाइ भएन ।
उनी अन्तिम पटक प्रचण्डलाई भनेका थिए, ‘मलाई कुनै एउटा जिम्मेवारी दिनुस् नभए पार्टी छाड्छु ।’ त्यो कुराको पनि सुनुवाइ नभएपछि उनी बाध्य भएर माओवादी पार्टी छाडे ।
तर पार्टी छाड्दा उनले पार्टीका ठुला ठुला नेता भ्रष्टाचारमा मुछिएको कारण आफू नैतिकताका आधारमा पार्टीमा बस्न नसक्ने भनेका छन् ।
यस्तो छ उनको राजीनामा पत्र
आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय–राजीनामा
३वर्ष को भूमिगत जीवन र १५ वर्ष को खुल्ला (संसदीय) राजनीति मा आदरणीय अध्यक्ष क.प्रचण्ड सँग केन्द्रीय समिति मा रही काम गर्ने अवसर प्राप्त भयो ! यो अवधिमा वहाँ लगायतका नेताहरू सँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो ! यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरू लाई हार्दिक धन्यावाद दिन चाहन्छु !
नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे! जनयुद्ध को दौरान आफू सौभाग्यवश पटक–पटक बाच्न सफल भए पनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे! म निर्वाचित संविधान सभा पद माओवादी कै कारण राजीनामा नै दिए ! म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पूर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अवसर प्राप्त गरे!
माओवादी पार्टी मा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भइरहेको काम को समीक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभूति हुन्छ! माओवादी पार्टी ले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन!महान् जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्ध लाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु !
सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र सामाजिक न्याय को कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिनि्न भ्रष्टाचार काण्ड मा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघको रूपमा रूपान्तरण हुनु ! १० बर्से जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अध्यारो दिशा तर्फ धकेले को महसुस गरेको छु! यस्तो अवस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु !
२०८० चैत्र ८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित