यी हुन्, आईपीएलका १७ वटै संस्करण खेल्ने पाँच खेलाडी
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । आईपीएलको पहिलो संस्करण खेलेका थुप्रै खेलाडीले अहिले सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका छन् ।
आईपीएलको सुरुवाती संस्करण खेल्ने कतिपय खेलाडी त अहिले प्रशिक्षकको भूमिकामा समेत सक्रिय छन् । तर, आईपीएलको इतिहासमा पाँचजना यस्ता खेलाडी छन्, जसले पहिलोदेखि सन् २०२३ मा सम्पन्न १६औँ संस्करणसम्म निरन्तर खेलेका छन् ।
यी पाँचजना खेलाडीले १६औँ संस्करण सकिँदासम्म कम्तीमा पनि एक खेल हरेक संस्करणमा खेलेका छन् । यी पाँच खेलाडी शुक्रबारदेखि सुरु हुने १७औँ संस्करणमा पनि खेलाडीकै भूमिकामा सहभागी हुँदैछन् । आईपीएलको पहिलो संस्करण सन् २००८ मा सम्पन्न भएको थियो ।
महेन्द्रसिंह धोनी
भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका महेन्द्रसिंह धोनीले आईपीएलको पहिलोदेखि १६औँ संस्करणसम्म निरन्तर सहभागिता जनाउँदै आएका छन् । आईपीएलको पहिलो सिजनमा उनी चेन्नई सुपर किङ्सका कप्तान थिए ।
त्यो सिजन चेन्नई प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यसयता धोनीले लगातार आईपीएल खेल्दै आएका छन् । यसबिचमा दुई सिजन भने उनले राइजिङ पुणे सुपरजाइन्ट्सबाट पनि खेलेका थिए ।
धोनीकै कप्तानीमा चेन्नईले पाँचपटक आईपीएलको उपाधि पनि जितेको छ । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान पनि हुन् ।
विराट कोहली
विराट कोहली पनि भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । हाल उनी कप्तानको भूमिकामा नरहे पनि भारतीय टोलीका प्रभावशाली खेलाडी हुन् । कोहलीले पनि सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईपीएल खेल्दै आएका छन् ।
त्यसयता उनले हरेक संस्करणमा सहभागिता जनाएका छन् । यसपटक पनि कोहली रोयल च्यालेन्जर्स बैंग्लुरुमा आबद्ध छन् । विराटले प्रतियोगिताको पहिलो संस्करणदेखि नै आरसीबीबाटै खेल्दै आइरहेका छन् ।
प्रतियोगिताको १६ औँ संस्करण समाप्त हुँदासम्म विराटले आईपीएलमा कुल दुई सय ३७ खेल खेलिसकेका छन् । उनले आईपीएलमा हालसम्म १३०.०२ को स्ट्राइकर रेटले रन बनाएका छन् । उनले हालसम्म ३७।२५ को औसतले आईपीएलमा कुल सात हजार दुई सय ६३ रन बनाएका छन् ।
दिनेश कार्तिक
दिनेश कार्तिकले पनि पहिलो संस्करणदेखि नै इन्डियन प्रिमियर लिगमा सहभागिता जनाउँदै आएका छन् । तर, उनले फरक–फरक टोलीबाट आईपीएल खेलेका छन् । पहिलो संस्करणमा उनले पञ्जाब किङ्सबाट खेलेका थिए ।
पञ्जाबका अतिरिक्त उनले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट पनि आईपीएल खेलिसकेका छन् । आईपीएलको १७औँ संस्करणमा उनी रोयल च्यालेन्जर्स बैंगलोरमा आबद्ध छन् । उनले हालसम्म आईपीएलमा कुल दुई सय ४२ खेल खेल्दै चार हजार पाँच सय १६ रन बनाएका छन् ।
शिखर धवन
भारतीय क्रिकेट टोलीका प्रभावशाली खेलाडी शिखर धवनले पनि सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै इन्डियन प्रिमियर लिगमा सहभागिता जनाउँदै आएका छन् । पहिलो संस्करण उनले मुम्बई इन्डियन्सबाट खेलेका थिए ।
यसका अतिरिक्त उनले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबाट खेलेका थिए । आईपीएलको १७ औँ संस्करणमा उनी पञ्जाब किङ्सका कप्तान हुन् । धवनले आईपीएलमा हालसम्म दुई सय १७ खेल खेल्दै ३५.१९ को औसतले कुल ६ हजार ६ सय १६ रन बनाएका छन् ।
रोहित शर्मा
भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुन्, रोहित शर्मा । उनी विश्व क्रिकेटकै प्रभावशाली खेलाडीमध्ये एक हुन् । रोहितले पनि सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागिता जनाउँदै आएका छन् ।
आईपीएलको पहिलो सिजनमा उनले डेक्कन चार्जस हैदराबादको प्रतिनिधित्व गरेका थिए । त्यसपछि सन् २०११ देखि उनले मुम्बई इन्डियन्सबाट आईपीएल खेल्दै आएका छन् । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल खेलाडी पनि हुन् ।
रोहितले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् । आईपीएलको १७औँ संस्करणमा पनि उनी मुम्बई इन्डियन्समै आबद्ध छन् । तर, यसपटक उनी मुम्बई इन्डियन्सको कप्तानको भूमिकामा भने छैनन् । उनले हालसम्म आईपीएलमा दुई सय ४३ खेल खेल्दै २९.५८ को औसतले कुल ६ हजार दुई सय ११ रन बनाएका छन् । -रोशन राउत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग