शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
पाठ्यक्रम

बीएमएस पढ्न आएका नर्सिङका विद्यार्थीको सङ्काय नै परिवर्तन

कहिले बीएमएस, कहिले बीएससी मिडवाइफ्री
शुक्रबार, ०९ चैत २०८०, ०७ : १०
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । आफूहरूले पढ्दै आएको सङ्काय नै परिवर्तन गरिएको भन्दै महाराजगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स इक्जाम) बाट पास भएर बीएमएस (ब्याचलर मिडवाइफ्री साइन्स) पढ्न आएका विद्यार्थीहरू आफ्नो सङ्काय नै परिवर्तन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

एउटा कार्यक्रमका लागि भनेर भर्ना लिइएको तर, अर्को कार्यक्रमको पढाइ भइरहेको, पाठ्यक्रम समेत अर्को विषयमा रहेको भन्दै विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गर्नुका साथै फागुन २० गतेदेखि आन्दोलन थालेका हुन् । उनीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिसमेत बन्द गरेका छन् ।

क्याम्पस प्रशासन, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनको कार्यालय लगायतका सरोकारवाला निकायसँग पटकपटक छलफल गर्दा पनि समस्या समाधान नभएको विद्यार्थीहरूको गुनासो छ ।

के हो विवाद ?

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाका लागि सूचना प्रकाशन गर्दा बीएमएस, बीएससी मिडवाइफ्रीबारे केही उल्लेख थिएन । आयोगले नै नलिएको विषयमा आईओएमले चार वर्षे बीएमएस कार्यक्रमका लागि भर्ना लियो । गत जेठ २७ मा महाराजगञ्ज नर्सिङ क्याम्पसको भर्ना सूचनामा समेत बीएमएस उल्लेख थियो ।

क्याम्पसले २०८० जेठ ३२ मा ओरेन्टेशन कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा राखिएको ब्यानरमा पनि ‘बीएमएस’ नै उल्लेख थियो । विद्यार्थीहरूसँग गरिएको कबुलियतनामा पत्रमा समेत ‘बीएमएस’ नै थियो ।

साउन ५ बाट पढाइ सुरू भयो र बीएमस भनेरै पढाइयो । मंसिर ४ सम्म बीएमएस कार्यक्रम भनेरै ‘क्लिनिकल ड्युटी रोस्टर’ समेत बनेको थियो । तर, अचानक मंसिर २२ मा बीएमएस कार्यक्रमलाई बीएससी मिडवाइफ्री भनेर परिवर्तन गरियो ।

आफूले पढिरहेको विषयको पाठ्यक्रमबारे विद्यार्थीहरूले बारम्बार प्रश्न उठाउँदै आए पनि कतैबाट चित्तबुझ्दो जवाफ आउन सकेको थिएन । दोस्रो सेमेस्टरमा अध्ययनरत निरमाया गुरुङका अनुसार सुरूमा बीएमएस भनेर भर्ना भएको तर, अहिले कुन विषय हो भन्ने नै यकिन छैन ।

क्याम्पसले विद्यार्थीहरूलाई पाठ्यक्रम दियो, जसमा पीसीएल नर्सिङमा पढेकै विषय थिए । त्यसपछि विद्यार्थीहरू आक्रोशित बने । पीसीएल नर्सिङ नै पढेर आएका विद्यार्थीहरूले ब्याचलरमा समेत त्यही कोर्ष किन पढ्ने भन्दै क्याम्पससँग प्रश्न गर्न थाले ।

‘हामी सुरूमा बीएमएस भनेर इनरोल भयौँ । कलेजमा ओरेन्टेशन क्लासमा पनि त्यही भनियो । पढ्दै गर्दा पछिमात्रै हामीले पढिरहेको कोर्ष ४ वर्षे रहेछ भनेर थाहा भयो,’ गुरुङले भनिन् ।

चार वर्षे भने पनि विद्यार्थीहरूले स्वीकार गरेर पढिरहेका थिए । त्यही बेला कलेजबाट कोर्ष डिजाइन नै परिवर्तन भएर आयो । कलेजले बीएससी मिडवाइफ्री भनेर सबै कागजातमा उल्लेख गरिदियो । त्यसपछि विद्यार्थीहरूले विरोध जनाए ।

क्याम्पस प्रमुख तथा अध्यापकहरूसँग कुरा गर्दा आफूहरूलाई ‘अहिले पढ्दै गर्नु । पछि हामी माथिल्लो निकायमा यो कुरा राखिदिन्छौँ । बीएससी मिडवाइफ्री पढ्दा समस्या नहोला’ भन्दै टार्न खोजिएको गुरुङले भनिन् ।

क्याम्पसले विद्यार्थीहरूलाई पाठ्यक्रम दियो, जसमा पीसीएल नर्सिङमा पढेकै विषय थिए । त्यसपछि विद्यार्थीहरू आक्रोशित बने । पीसीएल नर्सिङ नै पढेर आएका विद्यार्थीहरूले ब्याचलरमा समेत त्यही कोर्ष किन पढ्ने भन्दै क्याम्पससँग प्रश्न गर्न थाले ।

‘एउटै कुरालाई पढ्न त आएको होइन नि भन्यौँ । त्यसपछि म्यामहरूले यो पाठ्यक्रम पीसीएल र प्लस टु दुवै पृष्ठभूमिका विद्यार्थीका लागि बनाइएको हो । त्यही भएर तिमीहरूले समेत पढ्नुपर्छ भन्नुभयो । त्यसमा तिमीहरूलाई रिभाइज हुन्छ भन्ने कुरा गर्नुभयो,’ गुरुङले भनिन् ।

करिकुलम माग्दा फस्ट र सेकेण्ड सेमेस्टर भनेर दुई वटा कन्टेन्टमात्रै पठाइदिएको उनले बताइन् । तर, प्रयोगात्मकमा भने बीएससी मिडवाइफ्री भनेर आयो । कहिले बीएमएस त कहिले बीएससी मिडवाइफ्री भनेर आउन थालेपछि विद्याथीहरू बुझ्न चिकित्सा शिक्षा आयोगमा पुगे ।

आयोगका अधिकारीहरूको कुरा सुनेर विद्यार्थीहरू चकित परे । ‘बीएससी मिडवाइफ्री भनेर पछिल्लो इन्टेकलाई मात्रै बनाएका हौँ । तपाईंहरू ६ महिना अगाडि नै कसरी मिडवाइफ्री हुनुभयो । हामीले दिएको बीएमएस नै हो । तपाईहरूलाई बीएससी मिडवाइफ्री बनाउन मिल्दैन भन्नुभयो,’ गुरूङले भनिन् ।

त्यसपछि विद्यार्थीहरूले उक्त कुरा क्याम्पसमा राखे । क्याम्पसमा म्यामहरूले विद्यार्थीहरूलाई मनाउने प्रयास गरे । त्यसपछि विद्यार्थीहरू बीएससी मिडवाइफ्री नै हो भने पनि यसको प्रक्रिया के रहेछ ? लाइसेन्स पाउने व्यवस्था के रहेछ ? भनेर नेपाल नर्सिङ परिषद्मा बुझ्न पुगे ।

परिषद्की अध्यक्ष प्राध्यापक सरला केसीले उनीहरूलाई बीएससी मिडवाइफ्रीको लागि कलेजबाट कुनै पनि समन्वय नभएको र पीसीएल पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई बीएससी मिडवाइफ्रीको लाइसेन्स दिन नमिल्ने प्रस्ट पारिन् ।

त्यसपछि विद्यार्थीहरू फेरि कलेजमै आए । क्याम्पस प्रमुख प्राध्यापक मुना राना थापाले उनीहरूलाई भनिन्, ‘तपाईंहरू मिडवाइफ्री हो भनेर एप्रोच गरिरहेका थियौँ । तर, तपाईंहरू बीएम (ब्याचलर मिडवाइफ्री) चाहिँ हो ।’

प्रथम वर्षको दोस्रो सेमेस्टरको हकमा क्याम्पसले निकाल्ने ड्युटी सेड्युलमा माथि लेभलमा बीएमस थियो भने तल प्रोग्राम कोअर्डिनेटरमा बीएससी मिडवाइफ्री उल्लेख थियो । त्यसपछि विद्यार्थीहरू बुझ्न आईओएम डीन कार्यालय पुगेर एकेडिमिक तर्फका सहायक डीन प्राडा प्रेमराज ज्ञवालीलाई भेटे ।

विद्यार्थीहरूले करिकुलमलाई मात्रै मुद्दा बनाइरहेको बेला कार्यक्रम प्रपोजल नै नगएको र पास नभएको देखियो । त्यसपछि विद्यार्थीहरू आन्दोलित बने, र क्याम्पसमा तालाबन्दी गरिदिए । विद्यार्थीहरूको आन्दोलनलाई महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियुले समेत साथ दिँदै आएको छ ।

ज्ञवालीले प्लस टु साइन्सको सर्टिफिकेट नभएकाले बीएससी मिडवाइफ्री बीएमएस नै हो भने । त्यसपछि विद्यार्थीहरू झन् अन्योलमा परे । विद्यार्थीहरूले ज्ञापनपत्र बुझाउने काम गरे तर, केही उपाय चलेन । विद्यार्थीहरूको आवाज चर्को हुँदै गएपछि क्याम्पसले रातारात बीएससी मिडवाइफ्रीको पाठ्यक्रमलाई परिवर्तन गरेको विद्यार्थीहरूको आरोप छ ।

जसरी पनि यही पढ्नुपर्छ भनेर क्याम्पसले दबाब दिन थालेपछि विद्यार्थीहरू एकेडेमिक काउन्सिल (त्रिवि प्राज्ञिक परिषद्) प्रमुख इमानसिंह बोहरालाई भेट्न पुगे । जहाँ उनले बीएमएसको कार्यक्रम प्रपोजल नै नगएको बताए । बीएमको गएको तर, बीएमएसको नगएको उनले बताएका थिए ।

विद्यार्थीहरूले करिकुलमलाई मात्रै मुद्दा बनाइरहेको बेला कार्यक्रम प्रपोजल नै नगएको र पास नभएको देखियो । त्यसपछि विद्यार्थीहरू आन्दोलित बने, र क्याम्पसमा तालाबन्दी गरिदिए । विद्यार्थीहरूको आन्दोलनलाई महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियुले समेत साथ दिँदै आएको छ ।

विद्यार्थीहरूको प्रश्न– हाम्रो भविष्य के हुन्छ ?

एक वर्षको अवधिमा कलेजले विभिन्न कोर्ष देखाएपछि विद्यार्थीहरूले आफ्नो भविष्यबारे नै प्रश्न उठाइरहेका छन् । दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दुर्गा शर्माले पढिरहेको विषयमा थुप्रै खालका प्रश्न रहेको बताइन् ।

‘९ महिना भयो, टीयू रजिष्ट्रेशन आएको छैन । आयो भने पनि के भनेर आउने हो ? पढेर पास हुँदा ट्रान्सक्रिप्ट पाइने हो वा होइन ? पाइयो भने पनि के भनेर पाइने हो ? लाइसेन्स पाइने हो वा होइन ? पाइने हो भने के भनेर पाइने हो ? यावत् प्रश्न छन्,’ शर्माले भनिन् ।  

१० महिनासम्म कार्यक्रम सञ्चालनका लागि प्रपोजल नै पास नभएको विषय आफूहरूले पढिरहेको शर्माको भनाइ छ । ‘हामीले अहिलेसम्म न कोर्षको आधारमा पढ्न पायौँ, न कुन विषय नै हो भन्ने प्रस्ट हुन सकेको छ । बीएससी मिडवाइफ्रीको करिकुलमलाई बीएमसको भनेर दिइयो । एउटा करिकुलमले दुई वटा कार्यक्रम स्वीकृत हुने देखियो । त्यस्तो हो भने दुई वटा कार्यक्रम किन राखियो ?’ उनले प्रश्न गरिन् ।

स्ववियु सभापति नोविना बस्नेतले पीसीएल पढेर आएका विद्यार्थीहरूलाई बीएमएसका लागि भनेर बोलाइएको बताइन् । ‘विद्यार्थीहरू पढिरहेका थिए । तर, ठोस करिकुलम थिएन । ठोस करिकुलम प्रिन्टिङ प्रेसबाट छापिएर आउँछ, त्यतिञ्जेल पढ्नुस् भनियो । ६ महिनामा कोर्ष सकियो । परीक्षा हुने बेला बीएससी मिडवाइफ्री भनेर आयो,’ बस्नेतले भनिन् ।     

exam notice

नर्सिङका कुनै पनि कोर्ष सेमेस्टर प्रणाली अनुसार नभएको भन्दै उनले बीएमएसका विद्यार्थीको हकमा मात्रै सेमेस्टर प्रणाली र ४ वर्षे कोर्ष रहेको बताइन् ।

सेमेस्टर प्रणाली अनुसार नहुँदा परीक्षामा समस्या देखिएपछि इन्टरनल एसिसमेन्ट भनियो र पछि डीन कार्यालयबाट फाइनल परीक्षा हुने भनेर विद्यार्थीहरूलाई आश्वासन दिइयो ।  गत वैशाख २ मा आएका विद्यार्थीहरूको हातमा फागुन २ सम्म पनि पाठ्यक्रम नै नभएको बस्नेतको भनाइ छ । उनीहरूले पढिरहेको विषय नर्सिङ काउन्सिलले मान्ने वा नमान्ने प्रमुख प्रश्न रहेको पनि उनले बताइन् ।

सच्याउँदैछौँ : क्याम्पस प्रमुख थापा

महाराजगञ्ज नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक मुना राना थापाले डीन कार्यालयमार्फत उक्त विषय मिलाउने काम भइरहेको बताइन् । त्यसका लागि आईओएमकी डीन आफैँ खटिएर काम गरिरहेको उनको भनाइ छ । क्याम्पसले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर डीन कार्यालयमा बुझाएर र डीन कार्यालयबाट समेत काम भइरहेको उनले बताइन् ।

यो कोर्षका लागि प्लस टुबाट समेत विद्यार्थी आउनुपर्नेमा नआएर पीसीएल पृष्टभूमिबाट मात्र आएको थापाको भनाइ छ । पीसीएलबाट विद्यार्थी पठाएपछि बीएससी मिडवाइफ्री नभइ ब्याचुलर मिडवाइफ्री साइन्स हुने उनको भनाइ छ ।

आफूहरूले उक्त कुरा समावेश गर्नका लागि डीन कार्यालयमा पठाइसकेको पनि उनले प्रस्ट पारिन् । करिकुलम पनि त्यही आधारमा बनाउन लागिरहेको तर विद्यार्थीहरूमा धैर्यता नभएको उनले बताइन् ।

‘पाठ्यक्रम पहिला नै तयार थियो । तर, त्यसमा पीसीएल नर्सिङ-प्लस टु भनेपछि त्यो करिकुलम दुवैका लागि लागु हुने भयो । विद्यार्थी प्लस टुबाट नभइ पीसीएलबाट आएकाले अलि समस्या देखियो,’ उनले भनिन् ।

विद्यार्थीहरू २० गतेदेखि ड्युटीमा नगएको र पढ्नसमेत नगएको उनको भनाइ छ । ‘यो समस्याका विषयमा डीन म्याम आफैँ लाग्नुभएको छ । यो समस्या चाँडै समाधान हुन्छ,’ क्याम्पस प्रमुख थापाले भनिन् । 

करिकुलम मात्रै फरक हो डिग्री एउटै हो : डीन शाह

चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले गत वर्षदेखि ब्याचुलर इन मिडवाइफ्री भनेर नयाँ कार्यक्रम चलिरहेको बताइन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार मिडवाइफ्रीको आवश्यकता औँल्याएको थियो । सोही आधारमा गत वर्षदेखि नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

काठमाडौँ विश्वविद्यालय लगायतमा यसअघि नै उक्त कार्यक्रम सञ्चालनमा आइसकेको थियो । डीन कार्यालयले सोही आधारमा पाठ्यक्रम बनाएर कार्यक्रम अगाडि बढाएको उनले बताइन् ।

शाहका अनुसार उक्त कार्यक्रमका लागि पीसीएल नर्सिङ र प्लस टु साइन्स पढेका विद्यार्थीहरूले पढ्न पाउने भन्ने थियो । पीसीएल र प्लस टु दुवै पृष्ठभूमिबाट आएका विद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रमको पाठ्यक्रम तयार पारिएको उनको भनाइ छ ।

तर, गत वर्ष प्लस टु बाट नभई पीसीएस ब्याकग्राउण्डका मात्रै १४ जना विद्यार्थी भर्ना भएका थिए । जसले गर्दा उक्त पाठ्यक्रममा विद्यार्थीहरूले प्रश्न उठाएको उनले बताइन् ।

‘हामीले प्लस टुबाट पनि लिनुपर्छ भनेर पाठ्यक्रम बनाएका थियौँ । पोहोर साल पीसीएलतिरको मात्रै विद्यार्थी आए । नयाँ सेमेस्टरमा प्लस टुको तर्फबाट आएका छन् । उनीहरूको केही समस्या देखिएको छैन । गत वर्षका विद्यार्थीहरूले मात्रै प्रश्न उठाएका हुन्,’ डीन शाहले भनिन् ।

शाहले पाठ्यक्रमको नाममात्रै फरक रहेको तर डिग्री एउटै भएको बताइन् । ‘जुन स्किमबाट आए पनि काम एउटै हो । खाली करिकुलम मात्रै फरक देखिएको हो,’ उनले भनिन्, ‘काम गर्ने पनि सेम नै हो । खाली डिग्रीमात्रै हो । यसमा ठुलो मुद्दा हो जस्तो लागेको छैन,’ डीन शाहले भनिन् । 

academic council

campus notice for admission

duty roster

MCE notice

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप