बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘नवीनतम’ कार्यमा युवालक्षित बजेट आवश्यक : मन्त्री श्रेष्ठ

बुधबार, ०७ चैत २०८०, २१ : ०५
बुधबार, ०७ चैत २०८०

काभ्रे । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम कार्यमा युवालक्षित बजेट ल्याइने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज आयोजित ‘बे्रन ड्रेन भरर्सेज गेन’ : नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने बताए । 

“आउँदो बजेटमा इनोभेटिभ कार्यमा युवालक्षित बजेट ल्याइनेछ,” मन्त्री श्रेष्ठले भने, “यसका लागि बजेटमा वातावरण र आर्टको योजनामा छलफलको आवश्यकता छ ।” आगामी बजेटमा वातावरण र आर्ट विषयक योजनाका लागि युवा वर्गले ‘प्रपोजल’ बनाउन उनले आग्रह गरे । “अहिलेको युवा सर्कल टेक्नोलोजिकल्ली क्रियटिभ हुनुपर्छ,” उनले थपे । 

मन्त्री श्रेष्ठले जलवायु परिवर्तन र वातावरण वर्तमान युवा पुस्ताको चुनौती भएकाले यसलाई मूल मुद्दाका रुपमा लिइनुपर्ने बताए । “जलवायु परिवर्तन र वातावरण हाम्रो मूल मुद्दा हो, यसलाई चुनौती र अवसरका रुपमा लिनुपर्छ,” उनले भने । नयाँ प्रविधि मात्र हैन, इनोभेसनका समस्यालाई नयाँ तरिकाले समाधान गर्ने प्रविधिमा लाग्न युवा वर्गप्रति उनको आग्रह थियो । 

मन्त्री श्रेष्ठले फरक प्रसङ्गमा नेपालको नयाँ व्यवस्थामा धेरै काम गर्न बाँकी रहेकाले सकारात्मक सोचपूर्वक धैर्यताको खाँचो औँल्याए । उनले भने, “देशको वर्तमान परिस्थिति र राजनीतिक गर्दा तेस्रो मुलुकमा बसाइँ सर्नुपरेको कारण हो भने यसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ र युवा वर्गलाई आत्मनिर्भरतासँगै आत्मसम्मान दिनुपर्छ ।” 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिव रामकुमारी झाँक्रीले बिदेसिने अर्थात् तेस्रो मुलुकमा बसाइँसराइ विश्वको समस्या भएकाले आत्तिइहाल्नुपर्ने विषय नभएको दाबी गरिन् । “गुणस्तरीय शिक्षाका नाममा श्रमशक्ति बाहिरिने गर्दछन्, विश्वको यो समस्याको कारकतत्व भनेको हाइस्ट्यान्डर्ड जीवनशैलीमा परिवर्तननै हो,” पूर्वमन्त्रीसमेत रहेका झाँक्रीले भनिन् । 

केयूका उपकुलपति प्राडा भोला थापाले विदेशमा पढेर आएकाको समूह बटुलेर नै काठमाडौँ विश्वविद्यालय सञ्चालनमा आएको स्मरण गर्दै विदेशिएकाले नेपाल फर्केर योगदान गर्नुपर्ने तर्क राखे । उनले भने,“त्यसरी फर्केर आएकाले नेपालमा क्रमशः योगदान पुर्‍याउँदै जाँदा नयाँ पुस्तामा नेपालप्रति आशा जाग्नेछ ।” 

सो अवसरमा श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपाली श्रम बजारमा प्रतिवर्ष सरदर पाँच लाख जनशक्ति आउने गरेकाले नागरिकको रोजगारीको हकअनुसार आन्तरिक रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा विषयगतरुपमा उत्पादित जनशक्तिलाई आफ्नो श्रम उपयोग गर्न सरकारलाई सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप