शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

खेलकुद भित्रको राजनीतिले गर्दा वितृष्णा भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ

मङ्गलबार, ०६ चैत २०८०, १९ : ३३
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको  बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद भित्रको राजनीतिले गर्दा यसतर्पm वितृष्णा भइरहेको उल्लेख गर्दै यो अवस्थामा आइपुग्नुमा चरणबद्ध गल्ती रहेको धारणा राखेका हुन् । 

मंगलबार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको दुखेसो गरे । उनले नेपालीको खेलकुदमा आउने बजेट धेरै न्यून र अपर्याप्त रहेको बताए । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त नहुने उनको भनाई छ । तर दत्तचित्त भएर काम गर्न सके यो बजेट पनि पर्याप्त हुने मन्त्री श्रेष्ठको विश्वास छ ।

उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताए । खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै भएपनि अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको उनको भनाइ छ । मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले मन्त्रालयलाई धेरै जिम्मेवारी दिए पनि त्यसको अभ्यास हुन नसकेको बताए । उनले खेलकुद विकास ऐन २०७७ को प्रयोग सही रूपमा गर्दै अब प्रयोगमा नआएका ऐनको प्रयोग गर्दे खेलकुद विकासमा लाग्ने बताए ।

सुसंस्कृत अभ्यास गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग सहकार्य गर्नुको विकल्प नरहेको उनको बुझाइ छ । मन्त्री परिषद्बाटै अधिकार सम्पन्न भएर आएका सदस्यसचिव द्वन्द्वको अवस्था आए खेल क्षेत्र धराशायी हुनसक्ने मन्त्री श्रेष्ठले बताए । देशभित्र राष्ट्रिय एकतामा कमी आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रस्ट्याए । खेलकुदले सारा नेपालीलाई एक ठाउँमा ल्याउने गरेको आफूलाई महसुस भएको बताए । 

नेपालका खेल सङ्घहरू हराइरहेको आभास आफूलाई भइरहेको बताउँदै उनले सङ्घहरूले आफूलाई नयाँ ढङ्गले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताए । आईओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेलकुद सङ्घबिच ‘त्रिकोणात्मक सङ्घर्ष’ सङ्घर्ष रहेकाले खेलकुदको विकास राम्रोसँग हुन नसकेको औँल्याए । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप