चितवन राष्ट्रिय निकुञ्जबाट तीन भाले गैँडा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।
यस्तै कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको छ । अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वी क्षेत्रमा छोडिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।
निकुञ्जका हात्ती, हात्ती सारे, प्राबिधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।
निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखिमाथिका गैँडालाई गरिने छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा छन् ।
एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत बढ्दो गर्दछ । पूर्वी क्षेत्रमा घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण थालिएको हो । केही वर्षअघि आएको बाढीले पूर्वका गैँडा बगाएर भारतसम्म पुर्याएको थियो । बगेका कतिपय गैँडा निकुञ्जकै पश्चिमी क्षेत्रमा समेत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी अध्यादेशमा एकमत छैनन् मधेस केन्द्रित दल
-
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
-
मधेसको शिक्षाबारे प्रचण्डलाई गराइयो ध्यानाकर्षण
-
निर्माण क्षेत्रमा मुलुकलाई ‘आत्मनिर्भर’ बनाउन सघाउँदै एनएस इन्जिनियरिङ
-
फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक
-
पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेलेपछि एसिया कप आयोजनाको अधिकार गुमायो भारतले