‘महिलालाई बस्तुको रूपमा प्रयोग गरेर मन्दिरमा देवीको पूजा गर्नुको केही फाइदा छैन’
काठमाडौँ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन विश्व सिनेमामा रहेको लैङ्गिक विभेदका बारेमा बहस भएको छ । कलाक्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूबिच उक्त बहस भएको हो ।
लैङ्गिक विभेद सिनेमासँग मात्र सम्बन्धित विषय नरहेर यो विश्व कै समस्या रहेको वक्ताका रूपमा रहेकी बौद्ध भिक्षु तथा संगीतकर्मी आनी छोइङ डोल्माले बताइन् । ‘फिल्म हेरेर धेरै पिटाइ खाएको छु । फिल्मबाट धेरै ज्ञान पाएको छु । यो मेरो जीवनको ठुलो हिस्सा बनेको छ ।’ फिल्म हेरेको अनुभव बताउँदै लैङ्गिक विभेदबारे उनले भनिन्, ‘परिवर्तन पनि भइरहेको जसको उदाहरण हामी नै हौँ । परिवर्तन गरिएको छ, कानुन बनेको छ । त्यसमा विश्वास गर्न र व्यवहारमा उतार्न समय लागिरहेको छ ।’ फिल्ममा होस् या वास्तविक जीवनमा महिला र पुरुष दुवै हिरो हुन सक्ने उनले बताइन् ।
कला क्षेत्रमा लैङ्गिक विभेदसँग सम्बन्धित बहस कमै हुने गरेको बताउँदै अभिनेत्री रिमा विश्वकर्माले बताइन् । ‘हाम्रो पितृसत्तात्मक समाज छ । त्यसकै छाया फिल्ममा पनि परेको देखिन्छ । पर्दामा देखिने समय देखि पाउने परिश्रमिक र चित्रणका हिसाबले पनि विभेद भइरहेको ।’ फिल्म क्षेत्रमा दश वर्षको अनुभव बटुलेकी विश्वकर्माले भनिन्, ‘पुरुष पात्रलाई अझ बलियो बनाउनको लागि मात्रै प्रयोग भएको पाइन्छ । ९० प्रतिशतसम्म फिल्ममा पुरुषलाई नै केन्द्रीय पात्र बनाइएको हुन्छ ।’ सिनेमाले मनोरञ्जन दिने मात्र नभएर दर्शकलाई शिक्षित बनाउने, सचेतना फैलाउने, प्रेरणा दिने काम पनि गर्न सक्ने र त्यसमा मेकरको ध्यान जानुपर्नेमा उनले जोड दिइन् । आफूहरूमाथि भइरहेका विभेदकारी व्यवहार बुझ्नको लागि पनि आफूलाई शिक्षित गर्दै लानुपर्ने रहेछ भन्ने पनि उनले थपिन् ।
सामाजिक परिवर्तन समय लाग्ने कुरा भए पनि व्यवहारमा लागु गर्ने कोसिस नै नहुनु दुःखद रहेको उनले बताइन् । ‘सबै फिल्ममा आइटम गीत राख्ने चलन छ । त्यस्ता गीत सबै जसो घरेलु कार्यक्रममा बजाइने गर्छ ।’ उनले जोडिन्, ‘परिवर्तन रियलाइजेसनबाट आउने कुरा हो । मेकर के बनाउँदैछु, त्यसको प्रभाव के पर्न सक्छ भन्नेमा सचेत हुनुपर्छ ।’
द्वन्द्वका कारण थला परेर उठ्दै गरेको श्रीलंकन फिल्म क्षेत्रको पनि नेपालको भन्दा धेरै फरक अवस्था नरहेको श्रीलंकन पत्रकार तथा अनुसन्धाता दिलरुक्षी हान्दुन्नेत्तीले बताइन् । नेपाल, श्रीलंका या साउथ एसियाको मात्रै नभएर यो विश्वकै साझा समस्या हो जस्तो लाग्छ । तर, श्रीलंकामा महिलाहरू नै यो क्षेत्रमा आएपछि भने महिला केन्द्रित कथा बन्दै आएको छ र त्यसले केही परिवर्तनको सङ्केत पनि गरिरहेको छ । दृश्यभाषाको शक्तिका बारेमा बोल्ने क्रममा टेलिसिरियलको उदाहरण दिँदै उनले भनिन्, ‘त्यो टेलिसिरियलमा महिलालाई बुझ्ने, उनीहरूलाई सम्मान गर्ने, भावनात्मक रूपमा सपोर्ट गर्ने पुरुष पात्र थियो । त्यसको केही समयपछि त्यस्ता पात्र वास्तविक जीवनमा देखिन थाल्यो ।’
यो समस्याबाट युरोप पनि मुक्त नभइसकेको जर्मन अभिनेत्री केरिन एन्जेलले बताइन् । उनले भनिन्, अहिले पनि धेरै परिवर्तन भएको छैन । फिल्ममा महिलाको रोल पुरुषसँग बोल्नको लागि मात्र वा उनीहरूसँग सम्बन्धमा रहेको मात्रै देखाउने प्रचलन विश्वमै छ । यसका लागि महिला कथाकार, पटकथाकारको उपस्थिति सबैभन्दा महत्त्वपूर्ण देखिन्छ । साथै सबै मेकरले महिला पात्रका बारेमा गम्भीरतापूर्वक सोच्न पनि उनले आग्रह गरिन् ।
सिनेमा अभिव्यक्तिको एउटा शक्तिशाली माध्यम हो भन्नेमा नीति निर्माणको तहमा रहेका व्यक्ति तथा मेकरहरु सचेत हुनुपर्नेमा पत्रकार शिवानी थापा बस्न्यातले पनि जोड दिइन् । ‘हामीले सोचेको, देखाउन खोजेको कुरा ठिक छ कि छैन भनेर धेरै डिस्कोर्स, कन्भर्ससेसन हुनुपर्छ, त्यसमा बहस हुनुपर्छ ।’ उनले भनिन्, ‘यसले स्थापित गर्ने न्यारेटिभले अहिलेका दर्शकलाई मात्र नभएर पुस्तौँलाई प्रभाव पार्न सक्ने माध्यम फिल्म हो हो । जसरी फिल्ममा पुरुषको चित्रण गरिन्छ, त्यसले दैनिक जीवनमा पार्ने प्रभावका बारेमा हामी अझै सचेत छैनौँ । जिम्मेवार भएर यसलाई गम्भीर रूपमा लिन जरुरी छ जस्तो लाग्छ ।’ साथै सिनेमा भित्रै विभेद नगरी यो माध्यमको प्रयोग गर्दै सामाजिक न्यायको पक्षमा वकालत गर्नुपर्नेमा उनले जोड दिइन् ।
सिनेमा बनाउने क्रममा यसले उठान गर्ने विषयका बारेमा आवश्यक अनुसन्धान तथा गृहकार्य नभएको जनाउँदै उनले भनिन्, ‘यस क्षेत्रमा हामीले भोगेका अनुभव साट्नु निकै महत्त्वपूर्ण हुन्छ । र विभेदको पर्खाल जति छिटो भत्कायो त्यति नै छिटो यो क्षेत्र, र यसका सम्भावना फराकिलो हुँदै जान्छ ।’ व्यवहारमा महिलालाई बस्तुको रूपमा प्रयोग गरेर मन्दिरमा देवीको पूजा गरेर केही फाइदा नहुने आनीले बताइन् । साथै, २० वर्षअघि बौद्ध मन्त्रलाई सङ्गीत बनाएर गाउँदा आफूलाई नस्विकारेको बौद्ध समुदायले अहिले सहर्ष स्विकार्नु आफ्ना लागि ठुलो उपलब्धि रहेको तथा परिवर्तनको एउटा शक्तिशाली उदाहरण रहेको पनि उनले जनाइन् । त्यस्तै करुणा र मानवता भएका सिनेमा पनि आफ्ना लागि बुद्धत्व दर्शन रहेको उनले बताइन् ।
लैङ्गिक विभेदबारेको बहसबाहेक आइतबार नेपाली फिल्मका निर्देशकका बारेमा पनि बहस तथा इजिप्ट, नेपाल, भारत, सिंगापुर, पोर्चुगल, क्यानडा, चिन, बंगलादेश, टर्की लगायतका देशका करिब दुई दर्जन फिल्म तथा डकुमेन्ट्री प्रदर्शन भएका छन् । चैत १ गतेदेखि सुरु भएको महोत्सव ५ गते समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाभिने भए होन्डा–निशान
-
आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
-
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू