सुक्नथाले अलैँची बगान
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै भेटिन्छन् । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन् । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् ।
ताप्लेजुङका अलैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् । लामो समयसम्म वर्षा हुनसकेको छैन । वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ । समयमै सिँचाइ गर्न सकिएन भने अलैँची बगान नै सुक्ने शेरबहादुर लिम्बूले बताए । उनले भने, “अहिले १६ वटा स्प्रिङकल (सिँचाइ गर्ने मेसिन) घुमाइ राखेको छु । एक ठाउँबाट अर्कोमा सार्नमै व्यस्त छु ।”
यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृष्ण गुरुङको भनाइ छ । आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्नथालेपछि किसान चिन्तित बनेका छन् ।
विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमी हुँदै गएको किसान बताउँछन् । सिरिजङ–६ माङ्माखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । अर्को वर्ष उत्पादनमा ठुलो ह्रास आउन सक्ने उनको भनाइ छ । साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्नुपर्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिँचाइ गर्ने गरिन्छ ।
यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किसान बताउँछन् ।
अलैँचीलाई ओसिलो जमिन र सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो । अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलो) अलैँची रु ७९ हजारमा खरिदबिक्री भइरहेको किसान बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट