आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पाकिस्तानी भूमिमा २० वर्षपछि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

आइतबार, ०४ चैत २०८०, १२ : ५१
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न लागेका हुन् ।

पीसीबीका अनुसार, हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले पनि उक्त शृंखलालाई अगाडि बढाउने संकेत दिएको छ । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहोरमा आतंककारी हमला भएको थियो ।

त्यो आतंककारी हमलापछि लामो समयसम्म कुनै पनि टोलीले पाकिस्तानको भ्रमण गरेका थिएनन् । त्यसपछि सन् २०२० मा आएर मात्र फेरि पाकिस्तानी भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । तर, त्यसपछि पनि त्रिकोणात्मक एकदिवसीय शृंखला भने खेलिएको थिएन ।

सन् २०११ मा आईसीसी एकदिवसीय विश्वकपका केही खेल पाकिस्तानमा पनि खेलाउने निर्णय गरिएको थियो । तर, श्रीलंकाली टोलीमाथि आतंककारी हमला भएपछि विश्वकपका कुनै पनि खेल पाकिस्तानमा खेलाइएको थिएन ।

पछिल्लो पटक सन् २००४ मा पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिएको थियो । त्यतिबेला त्रिकोणात्मक शृंखलामा श्रीलंका र जिम्बाबे सहभागी थिए । पाकिस्तानमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफीअघि देशभित्र अन्तर्राष्ट्रिय क्रिकेटको वातावरण बनाउने उद्देश्यले त्रिकोणात्मक शृंखला खेलाउन लागिएको पीसीबीका अध्यक्ष मोहसिन नकवीले जनाएका छन् ।

आगामी च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमै आयोजना हुँदैछ । सन् १९९६ को आईसीसी विश्वकपपछि पाकिस्तानी भूमिमा खेलाउने लागिएको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । तर, आठ राष्ट्र सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफी खेल्न भारतले आफ्नो टोली पाकिस्तान पठाउने विषयमा भने अझै अन्यौल नै रहेको छ ।

त्रिकोणात्मक एकदिवसीय शृंखलाको खेल तालिका भने सार्वजनिक गरिएको छैन । त्रिकोणात्मक एकदिवसीय शृंखलाअघि आईसीसी टी–२० विश्वकपका लागि अभ्यास खेल खेल्न न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसक्रममा पाकिस्तान र न्युजिल्यान्डबिच पाँचवटा टी–२० खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप