इलामको करफोकमा गुञ्जियो नेपथ्य

इलाम । पाँच हजार फिट उचाइमा धुपी सल्लाले घेरिएको जंगलबिच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि बिदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन । शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक हजारौँ दर्शक जम्मा भए । सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यले यसरी पहिलोपटक आफूलाई प्रकृति र संगीतको समागममा दर्शक अघिल्तिर प्रस्तुत गरेको छ ।
कन्सर्ट सुरु हुनु केही घन्टा अगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चहलपहल सुरु भएको थियो । निकै परबाट आएका दर्शकहरू आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै पर परसम्म फैलिएका देखिन्थे । चार बजे बेलुकी ढोका खुलेपछि उनीहरू अलि अलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन सुरु गरे ।
तोकिएको समय अर्थात् बेलुकीको ठिक छ बजे कन्सर्ट सुरु भएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट सङ्कलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गरेका थिए ।
‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरूसँग आयौँ,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो ।’
फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनेको यस सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ । ‘नेपथ्यको उपस्थितीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रूपमा पनि लिएका छौँ,’ नगरप्रमुख रणबहादुर राईले भने, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ ।’
कूल भूभागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनी ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्नेगरेको छ । देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भूभागका रमाइला चियाबारी र धुपी सल्लाका जङ्गलहरू यस भेगमा जताततै पाइन्छन् । पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब व्यापक स्तरमा पर्यटकहरूलाई निम्त्याउन तम्तयार छ ।
कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपी शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरूलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गरे ।
यसपालाको कन्सर्टमा सधैँ दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरू लगायत भर्खरै रिलिज भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो ।
युवायुवतीको बाहुल्यता रहेको भीडमा दर्शकहरूबिच विविधता पनि उत्तिकै देखिन्थ्यो । राजधानी काठमाडौँको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्न थालेका छन् । शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए ।
‘धेरै पहिलादेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाइ बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहेका थिए, ‘अमृतजीको ऊर्जा हामी सबै दर्शकहरूमा विस्तार हुँदा गज्जब रमाइलो लाग्दो रहेछ ।’
इलामको गढीथुम्कामा निर्माणाधीन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुती थियो । ‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुसी लागेको छ ।’
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए । यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । नेपथ्यले यसै महिनाको अन्त्यमा आफूलाई फेरि इलामकै छेउमा उभ्याउने भएको छ । नयाँ वर्षको अघिल्लो रात ब्याण्ड फेरि बिर्तामोडमा प्रस्तुत हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
-
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत
-
मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल
-
गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती
-
प्रभु साहको प्रश्न, ‘नेपाल एयरलाइन्स किन घाटामा ?’
-
सहकारी बैङ्क र सहकारी संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गरौँ : सांसद सुवाल