काठमाडौँ । ईन्सुलिनको कमीले हुने रोग हो मधुमेह । मानव शरीरमा प्यान्क्रियाज नामक ग्रन्थीले इन्सुलिन उत्पादन गर्ने र खाएको कुराहरू (कार्बोहाईड्रेट)लाई कोषिकामा छिराउने चाबीको काम इन्सुलिनले गर्छ ।
यदि शरीरमा ईन्सुलिनको मात्रा कम भयो वा इन्सुलिनले कामै गर्न सकेन भने सुगर जम्मा हुन्छ, जसलाई मधुमेह भन्ने गरिन्छ । यो कोषिकाभित्र छिर्न सक्दैन र रगतमा सुगर जम्छ । त्यसपछि मधुमेह हुने गर्दछ ।
मधुमेह आफैँमा खतरा नभए पनि अन्य रोग लागेमा निको हुन गाह्रो हुनाले यो रोगलाई खतरा मानिन्छ । अर्कातर्फ मधुमेह सुरु हुँदैछ भने खानपान, व्यायाम आदिमा विशेष ध्यान पुर्याउन चिकित्सकहरूको सुझाव छ । यद्यपि मधुमेह हुनै नदिनुचाहिँ सबैभन्दा उत्तम उपाय हो । यही मधुमेह रोग, यसका लक्षण, उपचार विधि तथा सन्तान उत्पादनमा मधुमेहको भूमिका आदि विषयमा हामीले मधुमेह, थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा. विनय भट्टराईसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
यो रोगमा सबैभन्दा विचार गर्नुपर्ने कुरा भनेकै यसमा सबैलाई लक्षण देखिँदैन । ४५ प्रतिशत मानिसलाई मात्र लक्षण देखिन्छ । ५ प्रतिशतलाई त हृदयाघात नै हुने हुन्छ ।
मधुमेहको सामान्य लक्षण भनेको पिसाब लागिरहने, तौल कम हुँदै जाने, घाउचोटहरू निको नहुने, एकदम धेरै शरीर गल्ने, यौन दुर्बलता हुने, मुख सुक्ने, प्यास लाग्ने हुन्छ । तर सबैलाई लक्षण नदेखिने हुनाले ३५ वर्ष उमेर कटेकाहरूले डाक्टरकोमा गएर जँचाइराख्नु पर्ने हुन्छ ।
३५ वर्ष उमेर कटेकाहरूले वार्षिक रूपमा सुगरको जाँच गराउनु पर्छ । यदि आफ्ना बुबाआमाहरूमा सुगर छ भने, मोटोपना छ भने समय समयमा जाँच गराउँदा राम्रो हुन्छ । हाम्रो जस्तो साउथ एसियन मुलुकका मानिसहरू मधुमेहको झनै धेरै जोखिममा छौँ । त्यसैले लक्षण नदेखिए पनि परीक्षण गराउनु पर्छ ।
‘टाइप वान’ मधुमेह विशेषगरी बालबालिकामा देखिन्छ । यसमा इन्सुलिन उत्पादन नै हुँदैन र बच्चादेखि नै इन्सुलिन लगाउनुपर्ने हुन्छ ।
‘टाइप टु’ मधुमेह पहिला त ४० वर्ष माथिकालाई हुन्छ भनिन्थ्यो तर अहिले ‘फास्ट फुड कल्चर’ले गर्दा बालबालिकामा पनि देखिन्छ । यस्तो अवस्थामा इन्सुलिन उत्पादन भए पनि काम गर्दैन ।
अर्को छ– गर्भकालीन मधुमेह, जसलाई जीडीएम (जेष्टेसनल डाईबिटिज) पनि भन्ने गरिन्छ ।
खानपानमा ध्यान दिनुपर्छ । हामी नेपाली अन्न धेरै खान्छौँ । भात, रोटी कम गरेर सागसब्जी अलि बढी मात्रामा खानु पर्छ । फास्ट फुड, कोल्ड ड्रिङ्कहरू खान कम गर्नुपर्छ । आफूमा मोटोपना धेरै छ भने तौल घटाउनु पर्छ । दिनमा कम्तीमा पनि एक घण्टा व्यायाम गर्नुपर्छ । र तनाव कम लिनुपर्छ ।
मोटोपना छ भन्दैमा सुगर छ भन्ने त हुँदैन तर सम्भावना धेरै हुन्छ । मोटोपना भएका मानिसमा इन्सुलिन रेसिस्टेन्ट हुन्छ अर्थात् इन्सुलिनले काम गर्दैन ।
यसका उपचार विधिमा पनि उल्लेखित चार विषय (खानपान, व्यायाम, कम तनाव र कम तौल) महत्त्वपूर्ण रहन्छन् । जसलाई निःशुल्क औषधिका रूपमा लिने गरिन्छ । यसैगरी चिकित्सकको सल्लाह अनुसार उपचार गरी औषधि नियमितरूपमा सेवन गर्नु पर्छ । औषधिले पनि नियन्त्रण भएन भने इन्सुलिन लगाउनु पर्छ । मधुमेह रोग होइन, त्यसैले यदि यसलाई कन्ट्रोल गरियो भने यसले कुनै दुःख दिँदैन । कन्ट्रोल भएन भने फेरि अन्य विभिन्न रोग निम्त्याउन सक्छ ।
सुगर भनेको चिडियाखानामा राखेको बाघजस्तै हो । बाघ खोरभित्र छ भने हेर्न मज्जा आउँछ तर त्यसलाई खुला छोडिदियो भने सबै ठाउँमा टोक्न थाल्छ । त्यस्तै मधुमेह पनि कन्ट्रोल गर्यो भने केही पनि समस्या हुँदैन । कन्ट्रोल गरिएन भने टाउकोदेखि पैतालासम्म सबैमा समस्या निम्त्याउँछ । टाउकोमा पक्षघात हुन्छ, आँखामा अन्धोपना हुन्छ, हृदयाघात गराउँछ, किड्नीमा समस्या आउँछ, यौन दुर्बलता हुन्छ, चोटहरू निको नभएर हातखुट्टा नै काट्नु पर्नेसम्म हुन्छ । त्यसैले मधुमेहले टाउकोदेखि पैतालासम्म सबैमा असर गर्छ ।
मधुमेह भर्खरै सुरु हुँदैछ भने खानपान, व्यायाम आदि गर्दा औषधि नै सेवन गर्नु नपर्ने पनि हुन सक्छ । यदि धेरै अगाडि मधुमेह भएको छ, इन्सुलिन लगाइरहेको छ भने त्यसलाई निको पार्न गाह्रो हुन्छ ।
पहिला ४० वर्षभन्दा माथिकालाई, मोटोपना भएकालाई, परिवारमा अरूलाई छ भने देखिन्छ भन्ने थियो तर अहिले बच्चाहरूमा पनि देखिने गरेको छ । विशेषगरी ४० वर्षभन्दा माथिकालाई हो तर अहिले बच्चाहरूमा पनि देखिन्छ । सानै उमेरमा मधुमेह देखियो भने बच्चाको राम्रोसँग वृद्धि विकास नहुने तथा माथि उल्लेखित अन्य रोग निम्त्याउने खतरा पनि उत्तिकै रहन्छ ।
मादक पदार्थ, लागु पदार्थ सेवनले गर्दा पनि मधुमेह हुने सम्भावना हुन्छ । यसले ईन्सुलिनलाई काम गर्नबाट रोक्छ । यस बारेमा विभिन्न खोज तथा अनुसन्धान भएका पनि छन् र तिनीहरूले लागु पदार्थ सेवनले इन्सुलिनमा ह्रास ल्याउने वा इन्सुलिन नै उत्पादन नहुने देखिएकाले मधुमेहको खतरा झनै रहन्छ ।
बुबाआमालाई छ भने बच्चामा हुने सम्भावना धेरै हुन्छ तर त्यो भन्दैमा बुबाआमालाई छैन भने बच्चालाई पनि हुँदैन भन्नेचाहिँ होइन ।
मधुमेह भएका व्यक्तिले खान मिल्ने कुरा भनेको ५० प्रतिशत सागसब्जी, २५ प्रतिशत माछा मासु, बाँकी २५ प्रतिशतमात्र अन्न खानु पर्छ । कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बजारमा पाइने चिनीयुक्त पेय पदार्थ, मादक पदार्थ, धूम्रपान, लागुपदार्थ पूरै बन्द गर्नुपर्छ ।
विशेष गरेर यदि महिलाहरूमा मधुमेह छ भने त्यसलाई कन्ट्रोल गरेर राख्नु पर्छ । डाक्टरको परामर्शमा सुगर नियन्त्रण गरेर इन्सुलिन लगाएर बच्चाको तयारी गर्न मिल्छ । मधुमेह हुँदैमा ‘प्रेग्नेन्ट’ हुन नमिल्ने होइन तर सुगर कन्ट्रोल गरिएको छैन भने बच्चाको गर्भमै मृत्यु हुने, असाधारण बच्चा जन्मिने, बच्चामा धेरै जटिलता देखिने हुन सक्छ । आमालाई पनि जटिलता हुन सक्छ ।
प्रतिक्रिया