नारी सशक्तीकरणमा ओशोको योगदान
‘नारी सबैलाई मन पर्छ तर उनको स्वतन्त्रता कसैलाई मन पर्दैन’ यो भनाइ बुद्धपुरुष ओशोको हो । विश्वमा नारी सशक्तीकरणमा ओशोको अतुलनीय योगदान छ । यो धर्तीमा ओशोले नारीलाई जति सम्मान दिए, त्यस्तो सम्मान अहिलेसम्म कसैले दिएको देखिँदैन । ओशो २०औँ शताब्दीमा विश्वमा सबैभन्दा बढी चर्चित र नवीन दर्शन दिने गुरु भए । उनले सधैँ नारीलाई सम्मानित गरे ।
ओशोभन्दा अघि धर्मको जगत्ले सधैँ नारीलाई अपमान गरेको देखिन्छ । कतिपय गुरुहरूले त नारीलाई नरकको द्वार भनेका छन् । धर्मको जगत् सधैँ नारीदेखि भयभीत देखिन्छ । धर्मको जगत्का साधु, सन्न्यासी, अनि महात्माहरू नारीप्रति भयभीत हँुदै घरबार, पत्नी, बालबच्चा छोडी वन र गुफाहरूमा पलायन हुने प्रवृत्ति देख्न सकिन्छ । ओशोले पहिलोपटक यस धर्तीमा नवीन विचार ल्याए— साधना गर्नका लागि घर–परिवार, पत्नी, बच्चा र आमाबुवा छाडेर जङ्गल जान जरुरी छैन, पत्नीलाई पनि सँगै राखेर साधना गर्न सकिन्छ । ओशोको यो दर्शनले सामाजिक सन्तुलन ल्याउन सहयोग गरेको छ । त्योसँगै पत्नी, आमा, छोरी र दिदी–बहिनीका रूपमा रहेका नारीलाई पहिलोपटक अध्यात्मले सम्मानित बनाएको छ ।
कतिपय सामाजिक व्यवस्था र धार्मिक परम्पराले नारीलाई साधनाको अवसर दिँदैन । भगवान् गौतम बुद्धले पनि सुरुमा नारीलाई दीक्षा दिन स्वीकार गरेनन् । पछि उनकी सानीआमा गौतमी र भिक्षु आनन्दले धेरै अनुरोध गरेपछि उनले धेरैपछि नारीलाई दीक्षा दिन थाले । ओशोले जब पहिलोपटक १९७० सेप्टेम्बर २६ मा भारतको मनालिमा दीक्षा दिन प्रारम्भ गरे, उनले पहिलो दीक्षा स्त्रीलाई दिए । मा आनन्द मधु ओशोको पहिलो दीक्षित शिष्य हुन् । ओशोले यस सन्दर्भमा भनेका छन्, ‘अहिलेसम्म धर्मको जगत्ले नारीमाथि गरेको अपमानको उत्तरअनुरूप मेरो नवसन्न्यासमा महिलालाई मैले पहिलो दीक्षा दिएको हुँ ।’
ओशोले महिलालाई साधनामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । ओशोले स्त्री जगत्लाई उचाइ दिए, गरिमा दिए अनि स्त्रीहरूको स्वतन्त्रताका लागि आफ्नो आवाज बुलन्द पारे । अतीतमा पुरुषले स्त्रीहरूलाई निकै दबाएर राखेका थिए । स्त्रीलाई दासी बनाएर राखिएको थियो । स्त्रीलाई आर्थिक, सामाजिक र राजनीतिक कुनै प्रकारको स्वतन्त्रता थिएन । आध्यात्मिक स्वतन्त्रता बिल्कुलै थिएन । पहिलोपटक यो पृथ्वीमा ओशोले नारीलाई प्राथमिकताका साथ आध्यात्मिक साधना गर्ने अवसर दिए । ओशोले अध्यात्मको जगत्मा स्त्री र पुरुषको सन्तुलन खोजे ।
ओशोले नारीको स्वतन्त्रताका लागि धेरै कुरा बोलेका छन् । नारी स्वतन्त्रताको सम्बन्धमा ओशोका धेरै साहित्य छन् । ओशोले नारी स्वतन्त्रताको सम्बन्धमा दिएका महत्त्वपूर्ण प्रवचनहरूको संकलनबाट तयार भएको पुस्तक ‘नारी और क्रान्ति’ सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । ओशोले पुरुषलाई भन्दा धेरै महत्त्व स्त्रीलाई दिए । उनीहरूलाई चुलो र चौकामा मात्र सीमित गराएको यो समाजले स्त्रीको व्यक्तित्व फक्रने अवसर कहिल्यै दिएन । ओशो भन्थे— जुन प्रकारले पुरुषले आफ्नो गुणको विकास गर्छ र ऊ आफ्नो प्रतिभाको शिखरमा पुग्न सक्छ, त्यसरी नै स्त्रीलाई समान अवसर हुनुपर्छ ।
ओशोले आफ्नो कार्य, आश्रम व्यवस्था, कम्युन र हरेक ठाउँमा स्त्रीलाई प्रधानता दिए । उनले भने— हजारौँ वर्षदेखि पुरुषले स्त्रीलाई दबाएका छन् । मैले यसको विपरीत गरिरहेको छु । ओशोले सधैँ आफ्नो सेक्रेटरी महिला सन्न्यासीलाई बनाए । उनले आफ्नो कम्युनको प्रमुख प्रशासक पनि सधैँ महिला सन्न्यासीलाई बनाए । जब उनी सन् १९७० मा जवलपुरबाट उडल्यान्ड अपार्टमेन्ट बम्बई आए, त्यसपछि मा योग लक्ष्मी उनकी सेक्रेटरी बनिन् । उनको आध्यात्मिक अभियानको प्रमुख प्रशासक बनेर अनवरत उनले काम गरिन् । सन् १९७४ मा जब ओशो पुना गए, त्यहाँ ‘श्री रजनीश आश्रम कोरेगाउँ पार्क’ स्थापना भएपछि पनि मा योग लक्ष्मीलाई नै ओशोले आफ्नो सेक्रेटरी तथा आफ्नो कम्युनको प्रमुख प्रशासक बनाए । पुना आश्रमका सबै पद ओशोले स्त्रीलाई दिए ।
जब उनी सन् १९८१ मा अमेरिका गए, त्यहाँ ओरेगन राज्यमा विशाल कम्युन स्थापना भयो, त्यसलाई रजनीशपुरम भनिन्थ्यो । उक्त विशाल कम्युनको प्रमुख प्रशासक पनि ओशोले नारीलाई नै बनाए । मा आनन्द शिला ओशोको रजनीशपुरम कालकी सेक्रेटरी तथा प्रमुख प्रशासक थिइन् । रजनीशपुरममा पनि सारा व्यवस्थापन स्त्रीको हातमा थियो । ओशो भन्थे— मैले सन्तुलन मिलाउन खोजिरहेको छु । हजारौँ वर्षदेखि दबाइएका नारीलाई अवसर दिइरहेको छु ।
जब ओशो भारत फर्के, उनी केही समय मनाली बसे । त्यसपछि उनी नेपाल आए र विश्व भ्रमणमा निस्के । विश्व भ्रमणपछि उनी फेरि भारत फर्के । त्यसपछि उनले आफ्नो सेक्रेटरी मा योग नीलमलाई बनाए । मा योग नीलम ओशोको जीवनकालको अन्तिम इन्डियन सेक्रेटरी तथा पुना कम्युनको दोस्रो कालको प्रमुख प्रशासक थिइन् । त्यसैगरी मा योग नीलमसँगै मा प्रेम हास्या र मा देवा आनन्दो पनि ओशोको जीवनकालको पछिल्लो समयकालका सेक्रेटरी हुन् ।
ओशोले पहिलोपटक यस धर्तीमा नवीन विचार ल्याए— साधना गर्नका लागि घर–परिवार, पत्नी, बच्चा र आमाबुवा छाडेर जङ्गल जान जरुरी छैन, पत्नीलाई पनि सँगै राखेर साधना गर्न सकिन्छ ।
ओशोको जन्म भारतको मध्यप्रदेश राज्यको कुछवाडा (उनकै मामाघर)मा भयो । उनी सात वर्षको उमेरसम्म मावली हजुरआमा र हजुरबुवाको अपार प्रेममा हुर्किए । ओशोको हजुरआमा जसलाई उनले नानी भन्थे, उनी एक साहसी र विद्रोही महिला थिइन् । ओशो नानीसँग बहुत प्रभावित थिए । ओशो भन्थे— मैले नानीबाट विद्रोह सिकेको हुँ । ओशोले नानीलाई आफ्नो जीवनको एक रोल मोडल अनि आदर्श मान्थे । आफ्नो जीवनमा नानीको प्रभाव परेकैले ओशोमा नारीप्रतिको सम्मान र नारी स्वतन्त्रताको दर्शन विकास भएको मान्न सकिन्छ । यो शताब्दीका महान् गुरु ओशोले आफ्नो आदर्श व्यक्ति, प्रेरणाको स्रोत एक नारीलाई मानेको अभिव्यक्ति दिएर नारीलाई सम्मानित बनाए ।
ओशोले विश्वविद्यालय कालमा आफ्नो परिवारलाई समेत नारी स्वतन्त्रता र सशक्तीकरणको उदाहरण बनाए । ओशोले आफ्ना बहिनीलाई पढाउनुपर्र्छ र उनीहरूलाई स्वावलम्बी, आत्मनिर्भर र बौद्धिक बनाउनुपर्छ भनी शिक्षादीक्षा दिई सबल र सक्षम नारी बनाए । उनको पालामा भारतमा छोरीलाई पढाउने प्रचलन थिएन । उनको परिवारमा समेत छोरीहरूलाई पढाउँदा छोरीहरू बिग्रन सक्छन् भनेर बुवाआमा र काकाहरूले भन्दा ओशोले बहिनीहरूलाई पढाउनुपर्छ बरु बिग्रिए बिग्रिन्छन् केही हँुदैन भनी बहिनीहरूलाई पढाएर बौद्धिक र आत्मनिर्भर बनाई परिवारमा समेत नारी स्वतन्त्रता र सशक्तीकरणको उदाहरण बने ।
ओशो नारीप्रति यति संवेदनशील र प्रेमपूर्ण थिए कि उनका हरेक पाइला नारीलाई कसरी स्वतन्त्र बनाउने, कसरी नारीलाई सबल बनाउने अनि कसरी नारीलाई साधनायुक्त बनाउने भन्ने दृष्टिकोणमा केन्द्रित देखिन्छ । विगतमा विश्वले नारीप्रति गरेको अपमान र थिचोमिचोलाई उनी पूरा रूपमा मेटाउन चाहन्छन् । उनको दर्शन धर्मको जगत्ले अनि समाजले नारीमाथि गरेको अन्यायको विरुद्धमा एउटा विशाल क्रान्ति हो । नारी पनि पुरुषजति ध्यान–साधनामा सबल छन् र उनीहरूले पनि आध्यात्मिक उचाइ प्राप्त गर्ने सम्भावना उत्तिकै छ भन्दै ओशोेले नारीलाई ध्यान र साधनामा लगाउन विशाल पृष्ठभूमि तयार गरे; नारीहरूलाई प्राथमिकताका साथ ध्यान पनि गराए । धेरै नारीलाई शिविर सञ्चालक बनाए । अहिले विश्वमा ओशो अभियानलाई हेर्दा नारीहरू धेरै आश्रमहरूको सञ्चालक, शिविर सञ्चालक र आचार्य भई ओशोको देशनालाई विश्वमा फैलाइरहेका छन् ।
ओशो भन्छन्— ‘स्त्रीको क्षमता र सहनशीलता पुरुषको भन्दा धेरै छ । स्त्रीमा पुरुषभन्दा धेरै धैर्यता छ । स्त्रीमा एक प्रकारको सन्तुलन हुन्छ । स्त्री पुरुषभन्दा धेरै जिउँछन् । पुरुषभन्दा धेरै समयसम्म स्त्रीहरू युवा र सुन्दर रहन्छन् । प्रकृतिले स्त्रीलाई धेरै सहनशीलताको क्षमता दिएको छ ।’ उनले नौ वर्ष विश्वविद्यालयमा पढाए । उनले स्त्री र पुरुषबिचको भेदभाव मेटाउन सुरु गरे । उनले कक्षा कोठामा केटा एकातिर अनि केटी अर्काेतिर बस्ने परम्परा तोड्दै विश्वविद्यालयका छात्र र छात्रालाई एकसाथ राखी पढाउन सुरु गरे । आफ्ना आध्यात्मिक प्रवचन तथा ध्यान शिविरमा पनि स्त्री र पुरुषलाई सँगसँगै राखी उनले स्त्री र पुरुषबिचको भेदभाव हटाउन प्रयास गरे । ओशोले जीवनभर स्त्री र पुरुषलाई एक सामञ्जस्यतामा, एक लयमा, एक संगीतमा ल्याउने कोसिस गरे । उनले नारी र पुरुषबिचको दूरी हटाई समान जीवन र समान अवसरका लागि जीवनभर वकालत गरे । २०औँ शताब्दीका गुरु ओशोले नारी सशक्तीकरणमा दिएको योगदानको मूल्याङ्कन बिस्तारै विश्वले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ
-
गहना चोरीको आरोपमा दुई जना पक्राउ
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
बाकुमा रहँदा के-के गरे राष्ट्रपतिले ?
-
एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान
-
‘मापदण्ड विपरीतका विदेशी सम्बन्धनप्राप्त कलेजमाथि खारेजीसम्मको कारबाही हुन्छ’