हामीले के बनायौ?

न हामीले सगरमाथा बनायौँ
न पहाड बनायौँ
न त खोला बनायौँ
नदी पनि आफैँ बनेको हो
हामीले दुःखै नगरी
के हामीले नै बनाएका हौँ त
यो आकाश !
कि बनायौँ हामीले
बादलका टुक्राहरूलाई !
ढुङ्गा बनाउन खै त मानिसको योगदान !
न त हामीले
मानिस नै बनाउन
कुनै योगदान गर्यौँ !
हामीले बनाउनुपर्ने के हो ?
हामीले बनाएको के हो ?
हामी बन्नुपर्ने कस्तो ?
हामी बनेका छौँ कस्तो ?
प्रश्न आफैँतिर ।
मानिसहरू खेतीपाती गरिरहेका थिए
आनन्दले बाँचिरहेका थिए
नाचिरहेका थिए
हामीले धर्म र जात बनायौँ
तर मानिसलाई मानिस बन्न दिएनौँ
कि त अर्कोभन्दा ठुलो बनायौँ
कि त अर्र्कोभन्दा सानो
कि त ज्ञानी
कि त मूर्ख बनायौँ
अनि रच्यौँ—
अन्धविश्वास
विभेद
अपमान
बहिष्कार
असमानता
आदिको खेल र खाडल ।
अनि निर्माण गर्यौँ—
हिंसाको छानो भएको
विभेदकारी
मस्तिष्क र समाज ।
हामीले कोर्यौँ—
मानिसहरूबिच कहिल्यै नभेटिने
समानान्तर रेखाहरू,
रेखाहरूको गति
झन्झन् बढ्दै छ
तीव्र वेगले ।
यही समाजका मानिसलाई
विभेद र अपमानका रङहरूले
थिचिरहेको छ युगौँदेखि
निरन्तर निरन्तर
हरेक सासहरूमा
मरेका लासहरूमा ।
मानिसलाई बाँचुन्जेल मूर्ख बनाउनु छ भने
उसको मस्तिष्कमा
धर्म, जात, लिङ्ग र राष्ट्रियताको
विष घुसाइदिए पुग्छ
मानिसको मस्तिष्क स्वस्थ बनाउने हो भने
उसको मस्तिष्कबाट
धर्म, जात, लिङ्ग र राष्ट्रियताको
भ्रमलाई बिदा गरिदिए पुग्छ ।
हामीले हाम्रो मस्तिष्कलाई
के बनायौँ ?
कस्तो बनायौँ ?
किन बनायौँ ?
र मानिसलाई मानिस भएर किन बाँच्न दिएनौँ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक