बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

मेरी साथीको स्वप्नदोष

शनिबार, ०३ चैत २०८०, ११ : ५४
शनिबार, ०३ चैत २०८०

धेरै समयपछि मलाई एउटी पुरानी साथीले फोन गरिन् । सुरुमा सन्चो–बिसन्चो लगायत कुराकानी भए । त्यसपछि उनले रातोपाटीमा प्रकाशित ‘कामवासनालाई कसरी बुझ्ने’ शीर्षकको मेरो लेखलाई आफूले पढेको बताइन् । त्यस लेख र त्यससँग सम्बन्धित विषयमा हामीबिच लामै कुराकानी भए । 

कुराकानीकै क्रममा गोप्य राख्नुपर्ने सर्तमा उनले आफ्नो एउटा घटना सुनाइन् । उनले विवाह गरेको वर्षौं भइसक्यो । आजसम्म उनले श्रीमान्बाहेक अन्य पुरुषसँग यौनसम्बन्ध राखेकी छैनन् । केही महिनाअघि उनले एक परपुरुषसँग सहवास गरेको सपना देखिछन् । जुन श्रीमान्सँग हुने नियमित सहवासभन्दा धेरै गुणा आनन्ददायक थियो । यस्तो किन भयो भन्ने खालको उनको जिज्ञासा थियो ।

यौन मनोविश्लेषणका पिता सिग्मन्ड फ्रायडका अनुसार मानिसका वास्तविक जीवनमा पूरा हुन नसकेका हठात् यौन चाहनाहरू अचेतन मनमा गएर बसेका हुन्छन् । अचेतन मनमा बसेका त्यस्ता यौन चाहना सपनाका माध्यमबाट व्यक्तिले पूरा गर्छ । दबिएका यौन चाहना नै व्यक्तिको अचेतन मनमा गएर बस्छन् । जब व्यक्ति गहिरो निद्रामा पुग्छ, त्यस्तो अवस्थामा ऊसँग सामाजिक र सांस्कृतिक मूल्य–मान्यता रहँदैनन्, ऊ केवल स्वतन्त्र रूपमा जैविक प्राणीको रूपमा रहेको हुन्छ । 

फ्रायडका अनुसार मानिसमा निहित ‘इड’, ‘इगो’, ‘सुपरइगो’को संयोजनबाटै व्यक्तित्वको संरचना निर्माण हुन्छ । इड व्यक्तिको प्राकृतिक पक्ष हो भने इगो सामाजिक तथा सांस्कृतिक पक्ष हो; त्यस्तै सुपरइगो आदर्श पक्ष हो । व्यक्तिको व्यक्तित्वको संरचनामा रहेको इड र सुपरइगोको द्वन्द्वलाई इगोले समायोजन र व्यवस्थापन गरिरहेको हुन्छ । व्यक्तिको व्यक्तित्वको संरचनामा इडको हाबी भयो भने उक्त व्यक्ति अलि बढी प्राकृतिक प्राणीका रूपमा देखिन्छ । त्यस्तै सुपरइगो हाबी भयो भने उक्त व्यक्ति अलि बढी आदर्शवादी देखिन्छ । इगोले इड र सुपरइगोलाई प्रभावकारी रूपमा सन्तुलन गर्न सकेको छ भने व्यक्ति सामाजिक तथा सांस्कृतिक मानव प्राणीका रूपमा देखिन्छ ।

चेतन मनले व्यक्तिलाई सामाजिक, सांस्कृतिक तथा नैतिक मानव प्राणी बनाइरहेको हुन्छ । घर–परिवार, विद्यालय तथा समाजले सिकाएका सामाजिक र सांस्कृतिक मूल्य–मान्यता व्यक्तिको चेतन मनमा गएर बस्छ । जबसम्म व्यक्तिलाई चेतन मनले निर्देशित गर्छ, त्यो अवस्थासम्म व्यक्तिले सामाजिक व्यवहार देखाउँछ । अधिकतम अचेतन र केही अर्धचेतन मनले निर्देशित गरेको अवस्थामा व्यक्तिले असामाजिक व्यवहार देखाउन पुग्छ । खासगरी मदिरा सेवन वा अन्य लागुऔषधि सेवन गरेको अवस्थामा व्यक्तिको चेतन मन निष्क्रिय बन्न पुग्छ; त्यस्तो अवस्थामा व्यक्तिले असामाजिक व्यवहार देखाउन पुग्छ ।

फ्रायडकै भाषामा भन्दा हरेक व्यक्तिको कामवासनालाई सामाजिक र सांस्कृतिक मूल्य–मान्यताले दमन गरेको छ, जसकारण व्यक्तिको चेतन मनमा यौनसम्बन्धी संकुचित धारणा निर्माण हुन्छ ।

यौन व्यवहारको सम्बन्धमा हरेक समाजले आ–आफ्ना नीति–नियम तथा मूल्य–मान्यता निर्माण गरेको हुन्छ । यस सम्बन्धमा पश्चिमी समाज केही लचिलो र लोकतान्त्रिक भए पनि नेपाली समाज कठोर र निरंकुश छ भन्दा फरक पर्दैन । नेपाली समाजले वैवाहिक सम्बन्धभन्दा बाहिरको यौन सम्बन्धलाई अनैतिक र गैरकानुनी हो भनेर बुझ्छ; त्यहीअनुरूप व्याख्या गर्छ । यसमा पनि खास गरी जातीय, सामुदायिक, लैङ्गिक तथा भौगोलिक रूपमा केही विविधता पाउन सकिन्छ । हुर्कंदै र बढ्दै जाँदा समाजले व्यक्तिलाई यसरी दीक्षित गर्छ— यौन सम्बन्ध एक नैतिक बन्धन हो, जुन श्रीमान्–श्रीमतीभन्दा बाहिर राख्नु अनैतिक र गैरकानुनी हो । 

फ्रायडकै भाषामा भन्दा हरेक व्यक्तिको कामवासनालाई सामाजिक र सांस्कृतिक मूल्य–मान्यताले दमन गरेको छ, जसकारण व्यक्तिको चेतन मनमा यौनसम्बन्धी संकुचित धारणा निर्माण हुन्छ । व्यक्तिमा निहित कामवासना एक प्राकृतिक पक्ष हो, जुन सामाजिक र सांस्कृतिक दमनले कमजोर हुन सक्दैन, यस्तो अवस्थामा ती हठात्का यौनचाहना व्यक्तिको अचेतन मनमा गएर बस्छ, जुन सपनाको माध्यमबाट वा अन्य कुनै असामाजिक गतिविधिबाट व्यक्तिले आनन्द प्राप्त गर्छ । 

नेपाली समाजलाई हेर्ने हो भने यहाँ पुरुषको तुलनामा महिलाको यौन जीवनलाई ज्यादा नियन्त्रण गर्न खोजिएको छ भने महिलाको कामवासनालाई ज्यादा दमन गर्ने अभ्यास गरिएको पाइन्छ । महिलाको तुलनामा पुरुषलाई केही हदसम्म स्वतन्त्रता प्रदान गर्ने परिपाटी नेपाली समाजमा विद्यमान छ । पुरुषहरू कम्तीमा आफ्ना सहपाठीसँग यौनका कुरा सहजै गर्न सक्छन्, यसमा महिलाहरूले अलि संकोच मानेको पाइन्छ । वैवाहिक सम्बन्धपछि झन् महिलालाई ज्यादा मात्रामा संकुचन लगाउने अवस्था छ । त्यति मात्र होइन, वैदिक धर्म तथा दर्शनले महिलाको कामवासनालाई ज्यादा मात्रामा नियन्त्रण गर्न खोजेको देखिन्छ ।

ओशोको भाषामा भन्दा यौन आनन्द हो; रुसोको चिन्तनबाट हेर्दा यौन प्राकृतिक नियम हो; मास्लोको सिद्धान्तबाट हेर्दा यौन आधारभूत आवश्यकता हो; पछिल्ला दिनमा मानव जीवनको अभ्यास हेर्दा यौन मनोवैज्ञानिक आवश्यकता हो । 

फ्रायडको सिद्धान्त र ओशोको विचारलाई संश्लेषण गरेर हेर्ने हो भने मेरी विवाहिता महिला साथीको स्वप्नदोषको अर्थ भेटिन्छ । उनीमा निहित दबिएको यौनचाहना नै सपनामा पूरा भएको छ । सामाजिक र सांस्कृतिक मूल्य–मान्यताले उनको चेतन मनलाई यो भनेको छ— तिमी विवाहिता हौ, तिमी संस्कारी परिवारको छोरी बुहारी हो, तिम्रो व्यक्तिगत इच्छा–चाहना तिमीले पूरा गर्न पाउँदिनौ । तिमीले एक असल श्रीमती हो । तिमीले आफ्ना व्यक्तिगत चाहना पूरा गर्न खोज्यौ भने तिम्रो परिवारको इज्जत जान्छ, धर्म मासिन्छ, पाप लाग्छ । यी र यस्तै सामाजिक र सांस्कृतिक बन्धनले उनको चेतन मनलाई बाँधेको छ तर उनी प्राकृतिक रूपमा एक स्वतन्त्र मानव प्राणी हुन् । उनका आफ्ना व्यक्तिगत तथा प्राकृतिक इच्छा–चाहना पनि छन् । उनका आफ्ना व्यक्तिगत रोजाइ पनि छन् । त्यस्तै आफ्ना प्राकृतिक यौनचाहना पनि छन् । उनीमा निहित व्यक्तिगत र प्राकृतिक यौन चाहनालाई सामाजिक र सांस्कृतिक मूल्य–मान्यताले दमन गरेको छ, जुन उनको अचेतन मनमा गएर बसेको छ । अचेतन मनमा गएर बसेका कुण्ठित यौनचाहना सपनाका माध्यमबाट पूरा भयो, जसमा उनले वास्तविक यौन जीवनको भन्दा बढी गुणा आनन्दको अनुभूति गरिन् । 

उनको त्यो स्वप्न दोषमा फ्रायडले भनेको जस्तै दबिएको यौनचाहना सपनाको माध्यमबाट सन्तुष्टिमा रूपान्तरण भएको छ; ओशोले भनेजस्तै यौन आनन्द हो भन्ने तथ्य पनि पुष्टि भएको छ । कार्य र आनन्द फरक कुरा हुन् । सहवास एक कार्य हो, हरेक सहवास कार्यबाट व्यक्तिले चाहेको आनन्द प्राप्त हुन्छ भन्ने छैन, किनभने व्यक्तिको आनन्दको कुनै सीमारेखा छैन । सहवासको निश्चित सीमा हुन्छ भने आनन्द स्वतन्त्र पक्ष हो । ओशोले भनेजस्तै यौन आनन्द हो भने हरेक सहवासबाट व्यक्तिले आनन्द लिन सक्छ भन्ने छैन । जब कुनै वैधानिक दाम्पत्य जीवनको सहवासबाट व्यक्तिले आनन्दको अनुभूति गर्न सक्ने अवस्था भएन भने त्यस्तो अवस्थामा व्यक्तिले वैकल्पिक उपाय खोज्छ । 

फ्रायडले भनेजस्तै व्यक्तिको इडमा निहित यौनचाहनालाई इगो र सुपरइगोले नियन्त्रण वा दमन गर्न सक्यो भने त्यस्ता यौनचाहना अचेतन मनमा गएर बस्छन् र सपनाका माध्यमबाट व्यक्तिले यौन आनन्द प्राप्त गर्छ । इडमा निहित त्यस्ता यौन चाहनालाई इगो र सुपरइगोले नियन्त्रण र दमन गर्न सकेन भने व्यक्तिले दाम्पत्य जीवनभन्दा बाहिर यौन आनन्दको खोजी गर्छ र वैवाहिक सम्बन्धइतर यौन क्रियाकलाप गर्न पुग्छ ।

निष्कर्षमा भन्दा उनको स्वप्न दोष यिनै सिद्धान्त र विचारमा आधारित छन् । उनले यौनलाई आनन्दको रूपमा बुझेकी छिन् भने त्यस्तो आनन्दको कुनै सीमारेखा हँुदैन भन्ने महसुस गरेकी छिन् । सामाजिक र सांस्कृतिक मूल्य–मान्यताले उनको आनन्दको खोजीलाई दमन गरेको छ, जुन दमित यौनचाहना अचेतन मनमा गएर बसेका छन् र सपनाको माध्यमबाट दुई गुणा आनन्दको अनुभूति प्राप्त भएको छ । अब यहाँ चाणक्य नीतिलाई सम्झनुपर्ने हुन्छ । चाणक्यले भनेका छन्— श्रीमान्–श्रीमतीबिचको सम्बन्ध खासमा एक यौनिक सम्बन्ध हो । त्यस्तो यौनिक सम्बन्धमा एक–अर्काेलाई जति सन्तुष्टि प्रदान गर्न सकिन्छ त्यति नै व्यक्तिले वैकल्पिक आनन्दको खोजी गर्दैन । व्यक्तिमा निहित कामवासनाको विकल्प कुनै धन, सम्पत्ति, सेवा–सुविधा नभई कामवासनाको तृप्ति नै हो । जब हामीले यौनलाई मनोवैज्ञानिक आवश्यकता पनि हो भनेर बुझ्छौँ, त्यस्तो आवश्यकता व्यक्तिअनुसार फरक–फरक हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । यसरी हेर्दा मानिसको यौन जीवन बाहिरबाट हेर्दा सहजजस्तो देखिए पनि भित्री दुनियाँ ज्यादै अनौठो र रहस्यमय छ ।

(लेखक मध्य पश्चिम विश्वविद्यालयमा उपप्राध्यापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा
लेखकबाट थप