शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सन् २००१ यता ३८ हजार नेपाली विद्यार्थी भारतको छात्रवृत्ति योजनाबाट लाभान्वित

भारतीय राजदूतावासले मनायो २२ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस
शनिबार, ०३ चैत २०८०, ०९ : १७
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले २०८० चैत्र २ गते दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २२ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो । उक्त कार्यक्रममा करिब २०० जना विद्यार्थीले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य, धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मी, विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.शैलेषमणि पोखरेल र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव उपस्थित थिए । नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न प्रतिष्ठित विद्यालयका डिन, रजिस्ट्रार र प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो । 

नेपालका लागि भारतीय राजदूत श्रीवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २२ औँ ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरे । उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरूका लागि सिर्जना गर्न सकिने अवसरहरू बारे बताउँदै विद्यार्थीहरूलाई सहकार्य गर्न सकिने क्षेत्रहरू खोज्न प्रोत्साहित गरे ।

भारत र नेपालबिचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको सङ्ख्या २०० पुगेको दूतावासले जानकारी दिएको छ । यस छात्रवृत्ति योजना अन्तर्गत एमबीबीएस/बीडीएस अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु. ४०००, बीई अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु. ४००० र अन्य अन्डरग्राजुएट कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना नेरु. ३००० प्राप्त गर्दछन् ।  

यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरू नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ । 

नेपाल र भारतका विश्वविद्यालयमा अन्डरग्राजुएट तथा ग्राजुएट तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ । सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् । निकट एवम् मैत्री छिमेक सम्बन्ध रहेको भारत र नेपालबिच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप