आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा प्रत्येक दुईदेखि तीन वर्षका बिचमा डेंगुको सङ्क्रमण उच्च

सन् २०२१ मा ५४० जनामा सङ्क्रमण, २०२३ मा ५१ हजार २४३ सङ्क्रमित, २० जनाको मृत्यु
शुक्रबार, ०२ चैत २०८०, १० : ५०
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपालमा प्रत्येक दुईदेखि तीन वर्षको बिचमा डेंगु सङ्क्रमण उच्च हुने गरेको देखिन्छ । करिब दुई दशक अघि नेपालमा डेंगु रोग फेला परेको हो । त्यस यता बर्सेनि यो रोगको सङ्क्रमित भेटिएको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए ।

‘२०६१ सालदेखि डेंगु देखियो, त्यस यता कुनै वर्ष कम देखिएको छ, कुनै वर्ष बढी देखिएको छ,’ उनले भने, ‘डेंगुको ट्रेन्ड पनि हामीकहाँ मात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेन्ड हेर्ने हो भने प्रत्येक दुईतीन वर्षको बिचमा स्वतः माथि बढेको देखिन्छ, यद्यपि के कारणले बढेको भन्ने वैज्ञानिक आधार देखिँदैन ।’

नेपालमा डेंगुको ग्राफ हेर्ने हो भने हरेक दुई वर्षपछि सङ्क्रमण उच्च भएको देखिन्छ । डा.दाहालका अनुसार सन् २०१९ मा देशभर १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२० र २०२१ मा डेंगु हुने बिरामीको संख्या ह्वात्तै घटेको देखिन्छ । सन् २०२० मा ५३० जनामा डेंगु पुष्टि भएको थियो भने २०२१ मा ५४० जनामा देखिएको सरकारी तथ्याङ्क छ ।

सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण मानिसको चहलपहल कम हुँदा पनि डेंगु सङ्क्रमण धेरै फैलिन नपाएको डा. दाहालको बुझाइ छ । उनले भने, ‘त्यतिबेला जहाँका बिरामी हुन्, सोही ठाउँमा उपचार गर्थे र यो रोग सर्ने सम्भावना कम भएको अनुमान गर्न सकिन्छ ।’

तर सन् २०२२ मा डेंगुका बिरामी अचानक बढेको डा. दाहालले बताए । सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो थियो भने ८८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

सन्, २०२३ मा पनि डेंगुबाट सङ्क्रमण हुनेको संख्या बढी नै छ । यो वर्ष ५१ हजार २४३ जनामा डेंगु देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो । ‘कुन वर्ष के–कतिलाई डेंगु हुन्छ भन्ने अनुमान गर्न सकिँदैन, यो विषय अत्यन्त जटिल छ,’ उनले भने ।

डेंगु सङ्क्रमणको पाँच वर्षको विवरणः

1

डेंगु सङ्क्रमण एक वर्ष बढी देखिएको क्षेत्रमा अर्को वर्ष प्रायः कम

डेंगु रोग एक वर्ष बढी देखिएको क्षेत्रमा अर्को वर्ष प्रायः कम देखिने गरेको पाइएको छ । ‘डेंगु प्रभावित क्षेत्रका बिरामीमा ५ देखि १० प्रतिशत मात्रैमा लक्षण देखिन्छ,’ डा. दाहालले भने, ‘९० देखि ९५ प्रतिशत बिरामीलाई लक्षण देखिँदैन, सो क्षेत्रका व्यक्तिमा डेंगुको भाइरससँग लड्न सक्ने क्षमताको विकास भइसकेको हुन्छ । अर्को वर्ष सो क्षेत्रमा डेंगुको प्रभाव कम हुन्छ ।’

सन् २०२२ मा काठमाडौँ जिल्लामा १४ हजार ३७६ जनामा डेंगु पुष्टि भएको थियो । सन्  २०२३ मा काठमाडौँ जिल्लामा २ हजार ७६ जनामा मात्रै डेंगु पुष्टि भएको थियो । यस्तै, ललितपुरमा सन् २०२२ मा ९ हजार ६१४ जनामा डेंगु पुष्टि भएको थियो भने २०२३ मा ५४३ जनामा मात्रै पाइएको थियो ।

यस्तै, भक्तपुरमा सन् २०२२ मा ६ हजार १४५ जनामा डेंगु देखिएकोमा २०२३ मा ६३० जनामा मात्रै डेंगु पुष्टि भएको थियो । सन् २०२२ मा मकवानपुरमा ५ हजार ८३७ जना डेंगु सङ्क्रमित भएका थिए भने २०२३ मा १४३ जनामा मात्रै डेंगु देखिएको सरकारी तथ्याङ्क छ ।

यस्तै, सन् २०२२ मा चितवनमा ३ हजार २१३ जनामा डेंगु पुष्टि भएको थियो भने २०२३ मा ४०२ जनामा मात्रै डेंगु देखियो । सन् २०२२ मा दाङमा २ हजार ४२८ जनामा डेंगु देखिएको थियो भने २०२३ मा १४० जनामा मात्रै सो रोग पुष्टि भएको थियो । सन् २०२२ मा धादिङमा १ हजार ६८३ जनामा डेंगु पुष्टि भएको थियो भने २०२३ मा सङ्क्रमित सङ्ख्या ३ हजार २३९ थियो । रुपन्देहीमा सन् २०२२ मा १ हजार २१५ जनामा डेंगु देखिएकोमा २०२३ मा १९३ जनामा पुष्टि भएको थियो । काभ्रेपलाञ्चोकमा सन् २०२२ मा ५५७ जनामा देखिएको डेंगु सन् २०२३ मा १६१ जनामा पुष्टि भएको थियो । सुर्खेतमा सन् २०२२ मा ४७२ जनामा डेंगु पुष्टि भएको थियो भने २०२३ मा ६३ जनामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२२ र २०२३ मा डेंगु प्रभावित १० क्षेत्रको विवरणः

2

यी क्षेत्रमा जोखिम कम हुनसक्छ

सन् २०२३ मा सुनसरी जिल्ला सबैभन्दा बढी डेंगु प्रभावित भएको थियो । सो क्षेत्रमा १६ हजार १७४ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याङ्क छ । यस्तै, तनहुँमा ७ हजार १९३, झापामा ३ हजार ८२५, धादिङमा ३ हजार २३९, कास्कीमा ३ हजार ६९ जनामा डेंगु पुष्टि भएको थियो ।

मोरङमा २ हजार ३२८, काठमाडौँ २ हजार ७६, संखुवासभामा १ हजार १५५, कैलालीमा ९९४ र गोरखामा ७६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

२०२३ मा डेंगु बढी प्रभावित १० क्षेत्रः

3

डेंगुको प्रकोप फैलिनुको मुख्य कारक

नेपालमा डेंगुको ‘सेरोटाइप–१, २ र ३’ बढी देखिएको पाइएको डा. दाहालले बताए । ‘डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ,’ डा. दाहालले भने, ‘नेपालमा सेरोटाइप–१, २ र ३ बढी देखिएको छ, सेरोटाइप–४ कुनैकुनै बेलामात्रै देखिएको छ ।’

डेंगुका १, २, ३ र ४ मध्ये कुन सेरोटाइप कहाँ देखिने भन्ने यकिन तथ्याङ्क नरहेको डा. दाहालले उल्लेख गरे ।

डेंगुबाट मृत्यु हुनेको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य

डेंगुबाट मृत्यु हुनेको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ । २०२२ मा डेंगुबाट ८८ जनाको मृत्यु भएको थियो । यस्तै गत वर्ष २० जनाको मृत्यु भएको थियो । डेंगुबाट जोगिन नागरिक सचेत हुनुपर्ने डा. दाहालले बताए । सचेतना फैलाउन स्थानीय तहको मुख्य भूमिका हुने उनको भनाइ छ ।

डेंगु बढ्ने समयमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको उनले सुनाए । साथै स्थानीय तहलाई प्राविधिक सहयोगका साथै झकझक्याउने कार्य गरेको उनको भनाइ छ । उनले स्वास्थ्य निकायले मात्रै सचेत गरेर नहुने प्रस्ट पार्दै यसमा सबै निकायले समन्वय गर्नुपर्नेमा जोड दिए ।

‘गत वर्षदेखि कुन महिनामा के काम गर्नुपर्ने, त्यो काम कसले गर्नुपर्ने भन्ने समेटेर वार्षिक कार्ययोजना सबै स्थानीय तहमा उपलब्ध गराएका छौँ,’ डा. दाहालले भने, ‘जहाँ–जहाँ डेंगु देखिएको छ, त्यहाँ एडभोकेसी गरेका छौँ, सङ्घीय सशर्तबाट केही आर्थिक सहयोग गरेका छौँ ।’

डेंगु नियन्त्रणका लागि आगामी बजेटमा पर्ने गरी छलफल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सरकारी निकायबाट पहल गरेरमात्रै डेंगु नियन्त्रण हुँदैन,’ उनले भने, ‘नागरिक आफैँ सचेत हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप