शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

शुक्रबार, ०७ वैशाख २०७५, १३ : ४६
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौँ । ‘नेपालको विमानस्थलबाट हात्ती छिराइदिन्छु ।’ 

कमजोर सुरक्षा संयन्त्रलाई भद्दा मजाक गर्ने एकजना कुख्यात् अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले भनेका हुन् यी वाक्य । विभिन्न देशमा जेलसमेत ‘ब्रेक’ गरे भागेपनि नेपाल प्रहरीको नजरबाट उम्कन नसकेपछि वयोवृद्ध उमेरमा शोभराज नेपालको केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । 

नेपालको विमानस्थलबाट हात्ती छिर्ला या नछिर्ला, त्यो दोस्रो पाटो भयो, तर विभिन्न तस्करी र अपराधका घटनाले नेपालको विमानस्थल तस्करहरुका लागि सहज भूमि रहेको भने स्पष्टै देखिएको छ । 

विमानस्थलबाटै भित्रन्छ तस्करीको अधिकांश सुन, यस्ता छन् तस्करीका श्रृङ्खला
झण्डै ३० वर्षअघि सुर्खेतबाट निर्वाचित तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २२ किलो सुनसहित पक्राउ परे । बुढाले चुनाव खर्चका निम्ति हङकङबाट सुन ल्याइएको बताएका थिए । भीआइपीको नाममा अवैध धन्दा र तस्करी गर्न खोज्दा पञ्चायतका सदस्य नै पक्राउ परे । विमानस्थलबाट ल्याइएको तस्करीको पहिलो सुनकाण्ड सायद यही थियो, जसमा नेपाल प्रहरीलाई सफलता मिलेको थियो ।

२०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डिबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परे । गुरुङले बयानमा सुन तस्करीमा ठूलाबडाको संलग्नता भएको बताएका थिए । तर ती ठूलाबडा को थिए भनेर गुरुङले खुलासा गरेनन् । यद्यपि उनको वाण राजपरिवारका सदस्य र राणा खानदानतिर तेस्रिएको थियो । त्यतिबेलाको बयानमा गुरुङले भनेका थिए, ‘भिआइपी र भरियामार्फत् एक क्वीन्टल सुन भित्राएको छु ।’

त्यसो त सुन तस्करीमा नेपाली नागरिकको मात्रै संलग्नता छैन । यसमा विदेशी नागरिकहरु पनि संलग्न रहेको तथ्यांक छ । २०५४ सालमा कोरियन नागरिक जो कुन ह्वा र युन सोङ तस्करीको १ सय किलो सुनसहित पक्राउ परे । २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं छिराउन खोजिएको ठूलो परिमाणको सुनले त्यतिबेला ज्यादै हल्लाखल्ला मच्चायो । 

१६ महिना पहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद भयो । २०७३ साल पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिर निस्कने गोल्डेन गेटबाट बाहिर ल्याउँदै गरेको सुन बरामद गर्न सफल भयो । एयर अरेबियाको विमानबाट काठमाडौँ ल्याइएको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो । २०५४ पछि ठूलो मात्रामा सुन बरामद गरिएको यो नयाँ घटना थियो । 

सुनको आयात गर्न कुनै व्यक्ति वा संस्थाले पाउँदैन, यसमा राज्यले प्रत्यक्ष निगरानी गर्छ र खरिद तथा विक्री गर्छ । सरकारले नेपाल राष्ट्र बैंकलाई सुन ल्याउने अनुमति दिन्छ । राष्ट्र बैंकले पालैपालो विभिन्न बैंकलाई सुन ल्याएर बेच्ने अनुमति दिन्छ र २३ हजार सुन व्यवसायीले दैनिक २० किलोग्रामका दरले सुन पाउँछन् । 

यद्यपि नेपाली सुन बजारमा दैनिक सरदर ४० किलो सुन माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दाबी गर्ने गरेको छ । सरकारले २०७३ सालको असार मसान्तसम्म प्रतिदिन १५ किलो सुन दिने गरेको थियो । तर, १५ किलो सुनले नपुगेको भन्दै विरोध भएपछि सरकारले २०७३ को साउनदेखि दैनिक २० किलो सुन दिन थालेको छ । तर सुन व्यवसायीहरु भने २० किलो सुनले पनि नपुग्ने र विवाह तथा अन्य चाडबाडमा दैनिक ५० किलोसम्म सुनको माग भएको भन्दै आपूर्ति बढाउन माग गरिरहेको छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘सरदरमा प्रतिदिन ४० किलो सुन चाहिन्छ । 

यसकारण भइरहेछ सुन तस्करी 

माग र आपूर्तिको सन्तुलन नमिलेकै कारण सुन तस्करी भएको होइन । राष्ट्र बैंकको कोटाअनुसार वाणिज्य बैंकहरुले संयुक्त अरब इमिरेट्स् अर्थात् युएईको दुबई शहरबाट सुन खरिद गर्छन् । किनभने छिमेकी देश चीनमा भन्दा पनि दुबईमा सुन सस्तो पाइन्छ । नेपाल सरकारको नीतिअनुसार हवाई मार्गबाट मात्रै सुन आयात गर्न पाइन्छ । र, सरकारको नीतिअनुसार सुनको मूल्य जति भए पनि अहिले प्रतिकिलो ४ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ । अर्थात् प्रति १० ग्राममा ४ हजार २ सय रुपैयाँ राजश्व दाखिला गर्नुपर्छ । 

वैशाख ७ गते शुक्रबारको मूल्य हेर्ने हो भने दुबईमा २४ क्यारेटको छापावाल सुन प्रति एकग्राम १ सय ५८ दशमलब ७६ दिराम छ । शुक्रबार १ युएई दिरामको नेपाली मूल्य २८ रुपैयाँ ७४ पैसा छ । यो मूल्य हेर्दा दुबईमा वैशाख ७ गते शुक्रबार सूनको मूल्य प्रति एकग्राम ४ हजार ५ सय ६२ रुपैयाँ ७६ पैसा छ । यसको अर्थ १ हजार ग्राम अर्थात् १ किलो सुनको मूल्य वैशाख ७ गते दुबईमा ४५ लाख ६२ हजार ७ सय ७२ रुपैयाँ पर्छ । विदेशबाट सुन ल्याउँदा सरकारलाई प्रतिकिलो ४ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ । भन्सार शुल्क तिरेपछिको मुल्य हेर्ने हो भने २०७५ वैशाख ७ गतेको मुल्य ४९ लाख ८२ हजार ७ सय ६२ रुपैयाँ पुग्छ । बैंक र सुन बिक्रेताले नाफा खाँदा शुक्रबार नेपालमा सुनको बिक्री मूल्य प्रति तोला ५९ हजार २ सय रुपैयाँ छ (१ तोला बराबर ११.६६४ ग्राम हुन्छ) । प्रतिकिलोमा हिसाब गर्ने हो भने शुक्रबार नेपालको सुन ५० लाख ७५ हजार ५ सय रुपैया बिक्री भएको छ । 

सुन तस्करीको मुख्य देश चीन 
 

पछिल्लोपटक एअरपोर्टमा बरामद ३३ किलो सुनबाहेक प्रहरीले बरामद गरेको अधिकांश सुन छिमेकी देश चीनबाट ल्याइएको हो । शुक्रबार चीनमा छापावाल सुन प्रति एक ग्राम नेपाली मूल्य ४ हजार ५ सय ६६ रुपैयाँ ९६ पैसा छ । अर्थात् प्रति १० ग्राम ४५ हजार ६ सय ६९ रुपैयाँ ६६ पैसा । र, प्रतितोला ५३ हजार २ सय ६९ रुपैयाँ (१ तोला बराबर ११.६६४ ग्राम) अनि प्रतिकिलो ४५ लाख ६६ हजार ९ सय ९६ रुपैयाँ छ । तर नेपालमा शुक्रबार सुनको मूल्य प्रतिकिलो ५० लाख ७५ हजार ५ सय रुपैयाँ कायम छ । शुक्रबार नेपाल र चीनमा सुनको मूल्य अन्तर हेर्ने हो भने चीनमा नेपालमा भन्दा प्रतिकिलो ५ लाख ८ हजार ५ सय ४ रुपैयाँ सस्तो छ । 

चीनबाट तस्करी गरेर सुन नेपाल ल्याउँदा सरकारलाई भन्सार तिर्नुपर्दैन । तस्करलाई एक किलोमै साँढे ५ लाख रुपैयाँभन्दा बढी नाफा हुन्छ । तस्करीको सुन भएकै कारण तस्करले सुन व्यवसायीलाई केही सस्तोमा दिए पनि मूल्यमा त्यतिधेरै फरक पर्दैन । तर, तस्करलाई भने यसबाट मनग्य आम्दानी हुन्छ । 

नेपाल सुन तस्करीको बाटो र ट्राञ्जिट प्वाइन्ट भए पनि सबै सुन नेपालमै खपत हुँदैन । सुन भारतमा पनि जान्छ । तर, प्रमुख माग नेपालमै रहेको व्यवसायीको भनाई छ । सरकारले पर्याप्त सुन नदिँदा व्यवसायीले तस्करसँग सुन किन्न बाध्य भएको सुनचाँदी व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य तस्करी सुन किनेर व्यवसायीले दैनिकी चलाएको स्वीकार गर्छन् । बैंकले दिने सुन पर्याप्त नभएकाले बाध्य भएर केही साथीहरुले तस्करीको सुन प्रयोग पनि गरेका हेलान् । किनभने बैंकले दिने सुन त ठूला व्यवसायीमध्ये २० देखि २५ प्रतिशतले मात्रै पाउँछन् । सानाले ठूलो परिमाणमा सुन खरिद गर्न नसक्ने भएकाले साना व्यवसायीले बाध्य भएर तस्करीको सुन किन्ने गरेको शाक्य बताउँछन् । 

सुन तस्करीको मुख्य कारण अभाव नै भएको शाक्य बताउँछन् । माग र आपूर्तिको सन्तुलन नमिल्दा यस्तो चलिरहने शाक्यको भनाई छ । उनी भन्छन्, ‘जबसम्म सरकारले पर्याप्त सुन दिँदैन, तस्करी रोकिने सम्भावना छैन ।’

नेपालमा सुनको अवैध तस्करी फस्टाइरहेको छ । रातारात करोडौँ कमाउने तीब्र आकांक्षा र सरकारले चाहेजति सुन आपूर्ति नगर्दा सुनमा कालोबजारी र तस्करी बढिरहेको छ । हालसालै दुबईबाट फ्लाई दुबई एअरलाइन्स हुँदै काठमाडौं भित्रिएको ३३ किलो सुन गायब भएपछि यतिबेला ३ जनाले ज्यान गुमाउनुपरेको छ भने १९ जना प्रहरीको हिरासतमा छन् । १६ करोड ७४ लाखको सुन गायब भएपछि तस्करले एक जनालाई यातना दिएर मारेको थियो । घटनामा संलग्न २ जनाले आत्महत्या गरेका छन् र तस्करीमा संलग्नको खोजी अझै तीब्र पारिएको छ । बेलाबेलामा सुन तस्करीमा संलग्न भरिया पक्राउ परेपनि मालिक भने गुमनाम मात्रै होइन सुरक्षित पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप