बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अनुशासन कायम राख्न निर्मम बन्नुस् : खेलकुद मन्त्री श्रेष्ठ

बिहीबार, ०१ चैत २०८०, २० : ३१
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिएका छन् ।  

राखेपले बोर्डका अध्यक्षसमेत रहेका खेलकुदमन्त्रीको स्वागत र बधाई कार्यक्रममा उनले खेलकुदमा अनुशासन कायम राख्न निर्मम बन्न र पछि नहट्न निर्देशन दिएका हुन् ।  त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसको कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटो ल्याउन ऐनमा रहेर निर्मम बन्नुपर्ने औँल्याए । दशकौँसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न निर्देशन दिए । 

मन्त्री श्रेष्ठले देशले उच्चतम राजनीति व्यवस्थामा काम गरिरहेको अवस्थामा खेल संघ र खेल व्यक्तित्वहरू सामन्ती सोचमा काम गरिरहेको भए कारबाही गर्न डराउनु नहुने बताए । सामावेशिता र सहभागीका लागि भएका आन्दोलनलाई स्थापित गर्न नसक्ने खालका गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ । सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको उनको भनाइ छ । खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने उनले बताए । 

मन्त्री श्रेष्ठले उपलब्धि भएका र नभएकालाई एउटै आँखाले हेर्न नसकिने बताए । उनले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्ने बताए । नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणीकरण हुने उनले बताए । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइरालाले बधाई तथा स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे । उनले नीति कार्यान्वयन गर्ने सवालमा आफ्ना, परका वा पृष्ठभूमिका आधार मानेर छुट्याउने प्रयास नभए सफलता मिल्ने बताए । नीति कार्यान्वयन गर्ने सवालमा आफ्ना मान्छे पनि पर्नसक्ने भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराए ।  

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले परिषद्का संरचनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएसँगै खेलकुद नियमावली, २०७९ जारी भइसकेको उल्लेख गरे । उनले कर्मचारी सेवाशर्त विनियमावली र आर्थिक प्रशासन विनियमावलीको अन्तिम तयारीमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप