इजरायलले गाईबाट गराउँदैछ जासुसी ?

जेरुसेलम । मान्छेले मान्छेको जासुसी गर्ने गरेको त तपाईँले सुन्नै भएकै होला । तर तपाईँले कहिले जासुस गाईबारे सुन्नु भएको छ ? एउटा देशमाथि गाईलाई जासुसीका लागि प्रयोग गरेको आरोप लागेको छ । जासुसीका लागि गाईहरूलाई तालिम दिइएको दाबी छ । डेलिस्टारमा छापिएको समाचारका अनुसार जासुसी गर्न गाईको प्रयोग गर्ने देश इजरायल हो । गाइले प्यालेस्टाइनको ग्रामीण भेगका बासिन्दाहरूका चियो गर्ने काम गर्दछ ।
प्यालेस्टाइनी अधिकारीहरूले समर्थन गरेको पत्रिका अल–हायात अल–जादिदाका अनुसार खिर्बेत यानुन गाउँका रश्द मोरार नाम गरेका एक वृद्धले एउटा गाई घुमिरहेको देखे । उनले नै स्थानीय मिडियालाई गाई जासुस हो भनेर भनेका थिए । इजरायलले आफू र आफ्ना साथीहरूको जासुसी गर्न गाईलाई भर्ती गरेर तालिम दिइरहेको उनको दाबी छ । हरेक गाईको घाँटीमा तक्मा झुन्डिएको अनि यसमा स्थानीय बासिन्दाहरूको गतिविधि नियाल्न क्यामरा र रेकर्ड गर्ने उपकरण समेत हुने बताइएको छ ।
यस्ता खालको दाबी सन् २०२३ को जनवरीमा पनि आएको थियो । गाजामा इजरायल र हमासबीच युद्ध जारी रहँदा यही हप्तादेखि फेरि यस्तो दाबी आइरहेको छ । यी दाबीहरू सत्य हुन् या होइन भन्ने थाहा हुन सकेको छैन । तर केहीले भने ट्र्याकर झुन्ड्याइएका गाईहरू गाई फारमबाट भागेर गाउँ छिरेको हुन सक्ने बताइरहेका छन् । यो खबरप्रति सामाजिक सञ्जालमा रमाइला रमाइला प्रतिक्रिया आइरहेका छन् ।