बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इलाम–२ उपनिर्वाचन : झलनाथ खनालको चर्चा, एमालेमा आकाङ्क्षीको लर्को

बिहीबार, ०१ चैत २०८०, ०९ : २५
बिहीबार, ०१ चैत २०८०

विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ ।

खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने सम्भावनाको सङ्केत गरेका छन् । आफू आफ्नो दलको मात्र नभई सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको उनले गृह जिल्लाका सञ्चारकर्मीहरूलाई जानकारी दिएका हुन् ।

उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफल भइरहेको उनले उल्लेख गरेका छन् । काठमाडौँमा रहेका खनालले उम्मेदवार बन्ने भए सबै वामपन्थी दलका तर्फबाट बन्ने बताएको इलामका सञ्चारकर्मी भीम चापागाईँले बताए ।

आफूलाई आफ्नै दल र अरू वामपन्थी दलका नेता तथा कार्यकर्ताले उम्मेदवार बन्न आग्रह गरिरहेको उनले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो उम्मेदवारीबारे कुरा भइरहेको खनालले उल्लेख गरेका छन् ।

तीन दशकयता इलाम क्षेत्र नम्बर १ बाट पटक पटक विजयी बन्दै आएका खनाल २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । त्यसबेला एमालेबाट अलग्गिएका उनी एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतले पराजित थिए । बस्नेतले २५ हजार सात सय ५३ पाएका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी सम्मिलित गठबन्धन बनेको छ । 

गठबन्धनका दलले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्लाबेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् । गठबन्धनमा आबद्ध दल रास्वपाले भने उम्मेदवारी दिने जनाइसकेको छ ।

यसैबीच, नेकपा एमालेबाट इलाम–२ मा उम्मेदवार बन्न ६ आकाङ्क्षीहरू देखिएका छन् । उनीहरुले उम्मेदवार बन्ने इच्छासहित पार्टीमा निवेदन दिइसकेका छन् । त्यसरी निवेदन दिनेहरूमा सुहाङ नेम्वाङ (सुवा नेम्वाङका छोरा), देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धि खनाललगायत छन् ।

आकाङ्क्षीहरूको नाम पार्टी जिल्ला कमिटीले केन्द्रमा पठाउने र चैत १५ गतेभित्र पार्टीले एकजनाको नाम टुंगो लगाउने जनाइएको छ । इलाम–२ मा २०७९ सालको निर्वाचनमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ विजयी बनेका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप