आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
विद्रोह

किन बन्द भए रोल्पा, रुकुम र जाजरकोटका युद्धकालीन कम्युन ?

कसरी चलिरहेको छ महोत्तरीमा ?
बिहीबार, ०१ चैत २०८०, ०७ : ५७
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने, सामूहिक श्रम र उत्पादन गर्ने, सामूहिक लक्ष्य प्राप्तिका लागि सँगसँगै बस्ने वासस्थानका रूपमा तत्कालीन विद्रोही माओवादीले जनयुद्धताका प्रयोगमा ल्याएको कम्युन अहिले अस्तित्वविहीन बनेको छ । तत्कालीन एकता केन्द्रले स्थापना गरेको कम्युन भने अहिले पनि सञ्चालनमा छ ।

१० वर्षे सशस्त्र विद्रोहका क्रममा नेकपा माओवादीले रोल्पाको थवाङमा अजम्बरी, जेलबाङमा जलजला, रुकुम पूर्वमा बलिदान र जाजरकोटमा जुनीमा सञ्चालन गरेको युद्धकालीन जनकम्युनहरू अहिले बन्द भएका छन् । कम्युनका भौतिक घर छन्, तर कम्युन परिवार बस्दैनन् । तत्कालीन एकता केन्द्रले महोत्तरीको बर्दिबासमा स्थापना गरेको आधारशिला कम्युन भने सञ्चालनमा रहेको पाइएको छ । साम्यवादी समाजमा पुग्न कम्युनलाई भ्रूणका रूपमा प्रयोग गरिन्छ । 

माओवादीले २०५२ साल फागुन १ गते थालेको सशस्त्र विद्रोह उत्कर्षमा पुगेपछि २०५५ साल जेठमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले किलो शेरा टु नामको विशेष प्रहरी अप्रेसन सुरु गरेको थियो । पश्चिमका राप्ती, भेरी र कर्णाली अञ्चलका जिल्लाका साथै गोरखा, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा आदि अप्रेसन तीव्र पारियो । सो अप्रेसनबाट रुकुम, रोल्पा, जाजरकोटमा सामूहिक हत्या भएको र गाउँ नै पुरुषविहीन भएको दाबी माओवादी कर्णालीका इन्चार्ज कालीबहादुर मल्लको छ ।

अनि माओवादीले युद्धकालीन पूर्णकालीन नेता तथा कार्यकर्ता, सहिद तथा बेपत्ता , घाइते तथा अपाङ्गता भएकाका परिवारको भरण पोषण, संरक्षण र वृद्धि विकासका निम्ति कम्युनको अवधारणा ल्याएको उनी सम्झन्छन् ।  

‘त्यसबेला पार्टीले सामूहिक उत्पादन गर्ने, सामूहिक श्रम गर्ने र आपसमा बाँडिचुँडी खाने सामूहिक सहकारीको अवधारणा ल्याएको हो । पछि यसलाई कम्युन नामकरण गरियो’ मल्लले भने ।

२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादीले नेताहरूको सम्पूर्ण सम्पत्ति पार्टीकरण गर्ने नीति लियो । रुकुम–रोल्पाबाट सुरु भएको कम्युन देशभर अभ्यास गर्ने लक्ष्य राखियो ।

सबै नागरिक बराबर हुने, निजी सम्पत्ति केही नहुने, सामूहिक परिवार एउटै घरमा बस्ने, सामूहिक कार्य गर्ने र जे जति उत्पादन हुन्छ, बाँडीचुँडी खाने साम्यवादी पूर्व अभ्यासका रूपमा कम्युन सञ्चालन गरिएको मल्लले जानकारी दिए । तर अहिले सबै निजीकरण भइसकेको उनले बताए । 

‘शान्ति प्रक्रियामा आएपछि पार्टी छिन्नभिन्न भयो । मूल नेतृत्व माओवादी केन्द्र निरन्तर शक्ति र सत्ता स्वार्थमा रमाउँदा कम्युन परिवारका सपना भताभुङ्ग भएको नेताहरूले स्वीकारेका छन्’ उनी भन्छन् ।

विप्लव नेतृत्वको नेकपाले भने अहिले पनि जनयुद्धकालीन धङधङी बोकेर मध्य र पश्चिम तराईमा सामूहिक धान खेती गर्न थालेको छ । कर्णालीमा सामूहिक स्याउ खेती सुरु भएको छ, कम्युन मोडलमा ।

जुनी कम्युन जाजरकोट 

२०५५ सालमा तत्कालीन सरकारले सामूहिक व्यक्ति हत्या गरेपछि जाजरकोटको जुनी गाउँ (हाल जुनीचाँदे गाउँपालिका) पुरुषविहीन भयो । मारिएका व्यक्तिका परिवारको व्यवस्थापन गर्न माओवादीले जुनी कम्युन सञ्चालनमा ल्यायो । पहिला १८-२० वटा घर बनाएर होलटाइमर नेताका परिवार, सहिद परिवार तथा बेपत्ता परिवारका सदस्यहरूलाई राखियो ।  पाउनाका लागि गेस्ट हाउस र खाना पकाउन किचेन हाउस पनि बनाइएको थियो । सबै गाउँलेहरू एउटै घरमा बस्न थाले । पाउनालाई गेस्टहाउसमा राखिन्थ्यो । सामूहिक मेसका रूपमा ठुलो किचेन हाउस बनाइएको थियो । घर एउटै भए पनि परिवारका सदस्यहरू आ–आफ्नै कोठामा बस्ने व्यवस्था मिलाइएको थियो । सामूहिक रूपमा श्रम र उत्पादन गरेर समस्या समाधानमात्र होइन, त्यही कम्युनका महिलाहरूले जोत्न सिकेँ ।  बालबालिकाहरूलाई शिक्षादीक्षा दिने, सामूहिक श्रम र उत्पादनका साधन प्रयोग गरी जीवनयापन गर्ने गर्थे । यद्यपि कम्युनले परनिर्भरता बढाउने र मानिसलाई अल्छी बनाउने देखिएपछि बन्द भएको मल्लको बुझाइ छ ।   

‘शान्ति प्रक्रियामा आएपछि मानिसहरू निजी पुँजीमा आकर्षित भए । उत्पादनसँगै गरे पनि आवास, जग्गा आ–आफ्ना नाममा लिने काम भयो । कम्युन हो पार्टीले सबै व्यवस्था गर्छ भन्ने देखियो । परनिर्भर होला होला जस्तो भएपछि बन्द भयो’, मल्लले भने । 

बलिदान जन कम्युन

२०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि माओवादीले रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा कम्युन बनाएको थियो । पूर्वमन्त्री एवं माओवादी स्थायी समिति सदस्य गणेशमान पुनको पिता सहिद भएपछि उनकै जग्गामा कम्युन राखियो ।  १५-१६ घर बनेको माओवादी स्थायी समिति सदस्य कमल रोका सम्झन्छन् । पार्टीका सबै केन्द्रीय सदस्यहरूको निजी सम्पत्ति पार्टीकरण गर्ने नीतिअनुसार पिताको नाममा रहेको जग्गामा कम्युन सञ्चालन गरेको तर अहिले अवस्था  बदलिएको उनले बताइन् । 

‘त्यति बेला केन्द्रीय सदस्यहरूले आफ्ना सम्पत्ति पार्टीकरण गरे । सहिद तथा बेपत्ता, घाइते तथा अपाङ्ग परिवार, विस्थापित परिवार मिलेर कम्युन बनेको हो । शान्ति सम्झौतासम्म कायम रह्यो । अहिले बन्द भएको छ’, उनले भनिन् । 

कम्युन सञ्चालनका लागि इन्चार्ज बनाई सोही मार्फत आर्थिक, व्यवस्थापन, श्रमसम्बन्धी विभिन्न विभाग बनाइएको रोका सम्झन्छिन् । तर पनि कम्युनले निरन्तरता पाएन । 

‘कम्युन भनेको साम्यवादको भ्रूण हो । सोहीअनुसार नेताहरूमा साम्यवादको चेतना हुनुपर्छ । शान्ति प्रक्रियामा आइसकेपछि नेताहरू सुविधा भोगी, सहरमुखी भए’, उनले भनिन्, ‘त्यति बेला पार्टीकरण भएका सम्पत्ति, जनसरकारमार्फत पार्टीको कब्जामा रहेको सम्पत्तिको विषयमा अहिले पनि समस्या छन् । सहिद परिवार, घाइते र अपाङ्ग परिवारका छोराछोरीलाई काठमाडौँमा ल्याएर समेत होस्टेलमा राखियो । सहिद प्रतिष्ठान अन्तर्गत भएका विभिन्न स्कुल सञ्चालनमा समस्या छन् ।’ 

अजम्बरी कम्युन 

२०६० साल जेठ १४ गते रोल्पाको थवाङमा अजम्बरी कम्युन स्थापना गरियो । २०७२ साल वैशाखसम्म चलेको कम्युन अहिले बन्द छ । सो कम्युनमा सुरुमा ६  घरपरिवारका ३२ जना सामूहिक रूपमा बस्थे । २०६२ बढेर २७ घरधुरीका१४१ जना बस्थे । सिङ्गो गाउँलाई एउटै कम्युन बनाउने उद्देश्य राखिएको थवाङ गाउँपालिका अध्यक्षसमेत रहेका ऋषिकेशव बुढामगरले रातोपाटीलाई जानकारी दिए । 

उसो त अजम्बरीमात्र होइन, जेलबाङमा खुलेको जलजला कम्युन पनि बन्द भएको छ ।

‘सबै एक ठाउँमा बस्ने, एकै ठाउँमा खाने, एउटै उद्देश्य र लक्ष्यमा हिँड्ने भन्ने हिसाबकिताबले जनमुक्ति सेनाका परिवारहरू, नेताका घरपरिवार, सहिद तथा बेपत्ताका परिवार, युद्धका बेला भएका घाइते अपाङ्ग व्यक्तिहरू राखिएको थियो । सामूहिक श्रम, उत्पादन गर्ने र बाँडफाँट गर्ने गरिन्थ्यो । त्यति बेला आर्थिक गतिविधि धेरै हुँदैनन्थ्यो । सामूहिक श्रमबाट उत्पादन भएका बस्तु आपसमा बाँडिचुँडी खान्थे । तर शान्ति प्रक्रियासँगै कम्युन चल्न सकेनन्’, बुढामगरले भने । 

अझै जीवित छ आधारशिला कम्युन 

जनकम्युनको अस्तित्व समाप्त भएको धेरै वर्ष भयो । महोत्तरीको बर्दिवास–३ को आधारशिला कम्युन भने अझै सञ्चालनमा छ । यही माघ २५ गते आधारशिलाले चित्रबहादुर केसी, घनश्याम शर्मा पौडेल, सिद्धिलाल सिंह, शान्ता मानावी, अश्वेश्वर गोइत, ईश्वरी दाहालगगायत पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गरेर आफ्नो २१  औं वार्षिकोत्सव मनायो ।

दीर्घकालीन जनयुद्धको कार्यदिशालाई लिएर २०५१ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकता केन्द्र विभाजित भयो । निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायत नेताहरूले छुट्टै पार्टी खोले । प्रचण्ड, मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई, राम बहादुर थापा बादललगायत मिले नेकपा माओवादी पार्टी खोले । माओवादी सशस्त्र विद्रोहमा होमियो । एकता केन्द्र शान्तिपूर्ण भूमिगत राजनीतितिर लाग्यो । पार्टीलाई भिन्न तरिकाले अगाडि बढाउने नीति अनुसार २०५९ साल माघ २५ गते आधारशिला होस्टेल मोडेलमा खोलिएको माओवादीका उपमहासचिव एवं कम्युनका संरक्षक गिरिराजमणि पोखरेलले रातोपाटीलाई जानकारी दिए । 

‘सामूहिकतालाई प्रवर्द्धन गर्ने, निजी सम्पत्तिलाई समुदाय, समाजको सामूहिकताको अधीनस्थ ल्याउने पार्टीले नीति थियो । आन्दोलनमा केटाकेटी र महिलाहरूलाई जुन ढङ्गले ध्यान दिनुपर्ने हो, ध्यान दिइराखेको थिएन । त्यसैले हामीले १८ जना सहिद परिवार, होलटाइमरका परिवार, अविभावकबिहीन केटाकेटीहरू राखेर कम्युन सुरु गरेको हो । वास्तवमा सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि आधारशिला भनेर सुरु गरेका थियौँ । यसको एउटा भिक्षात्मक महत्त्व छ’, पोखरेलले भने । 

बर्दिवासको १३ कठ्ठा जमिनमा कम्युनले तरकारी उत्पादन गर्दै आएको छ । भाडामा लिइएको जग्गाबाट उत्पादित अन्नले कम्युनमा जोडिएकालाई वर्षभरी खान पुग्छ । 

श्रम र उत्पादनसँग नजोडी कम्युन नचल्ने भएकाले आधारशिलालाई जीवित राख्न विभिन्न उपायहरू अपनाइएको पोखरेलले रातोपाटीलाई सुनाए ।

‘कहिले कम्प्युटरको पसल खोल्यौँ । कहिले चिया पसल खोल्यौँ । कहिले छोरीहरूका लागि छात्राको होस्टेल खोल्यौँ । कहिले मसला बेच्यौँ । टिक्नका लागि विभिन्न ढङ्गले अभ्यास गरेका छौँ । धेरै ठुलो उत्पादनको योजना केही बनाएका छैनौँ । नपुगेको खर्च परिवारका सदस्यहरूको आयआर्जनबाट जुटाउनुहुन्छ । केटाकेटी थपेका छैनौँ’, कम्युनको अहिलेको अवस्था चित्रण गर्दै उनले भने ।

नेतृत्वको अपनत्व वा सोझै संलग्नता वा संरक्षण नभए कम्युन टिक्न सक्दैन । यसको अभावमा माओवादीका कम्युनहरू बन्द भएका हुन ।

‘लिडरशिप नगाँसिएसम्म वा प्रोटेक्सन नगरीकन यस्ता संस्था अगाडि जान सक्दैन । धार्मिक क्षेत्रबाट पनि कम्युन बनेका छन् । संरक्षण गर्नुपर्ने कम्युनिस्टहरूले हो । सङ्घर्षको क्रममा सत्ताको विकल्पको रूपमा पनि कम्युनलाई लिइन्छ । यस्ता धेरै भन्दा धेरै बनाउने । नेतृत्वको वरिपरि बनाउने उनीहरूलाई रियलमा समाजवादी, साम्यवादी दिशामा जाने जीवनको विकल्प देखाउन सक्नुपर्छ’, उनले भने, ‘यस्ता संस्थाहरू नेतृत्वको जीवनशैलीसँग गाँसिएका हुन्छन् । ठुला ठुला कम्युन बन्छन् । उत्पादनसँग गाँसिन्छन् । उत्पादन ब्रिगेडहरू चल्छन् । त्यसको वरिपरि सिङ्गै समाज चल्छ’ उनले भने ।

पोखरेलको अनुभवमा, आधारशिला कम्युन सामूहिक जीवनको अभ्यासका लागि घर जस्तो बनाइएको छ । यो सत्तासँग सम्बन्धित कम्युन होइन, बरु पार्टी कम्युन वा सेल्टर जस्तो हो । पार्टी निर्माणमा सहयोग पुग्ने र केटाकेटीहरूलाई पनि राम्रो शिक्षादीक्षा दिनु यसको उद्देश्य हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप