प्रधानमन्त्री प्रचण्डलाई तेस्रोपटक विश्वासको मत, सङ्ख्या भने घट्दो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संसद्मा तत्काल कुल उपस्थित सङ्ख्यामध्ये १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका हुन् । प्रचण्डले पहिलोपटकको तुलनामा ४०.६७ प्रतिशत मत घटाएका छन् । दोस्रो पटकको तुलनामा ५.६ प्रतिशत कम मत पाए । उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।
प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जपा, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चाले मत प्रक्रियामा भाग लिएनन् । यसअघि प्रचण्डलाई साथ दिएका नाउपाबाहेक लोसपा, राजमो, जपाले यो पटक साथ दिएनन् । प्रधानमन्त्री प्रचण्डले सुविधाजनक विश्वासको मत पाए पनि यसअघिको तुलनामा निरन्तर मतसंख्या घटाउँदै गएका छन् ।
२०७९ पुस १० गते एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसद्मा उपस्थित कुल सङ्ख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।
त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।
तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनपूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।
दोस्रोपटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु