सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनको लज्जास्पद हार

बुधबार, ३० फागुन २०८०, १४ : ५७
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्‍यो । नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीको ब्याटिङ अत्यन्तै निराशाजनक रह्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । नेपालका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाए ।

सन्दीप वाहेक नेपालका अन्य ब्याट्सम्यानले बनाएभन्दा बढी रन त नेपालले अतिरिक्त रूपमा पाएको थियो । नेपालले अतिरिक्त रूपमा १६ रन पाएको थियो । आरिफ शेख १५ रन बनाउँदै पेभेलियन फर्किए भने कप्तान रोहित पौडेल पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् ।

ओपनर कुशल भुर्तेल पाँच र विनोद भण्डारी चार रनमा आउट भएका थिए । खेलको प्रारम्भदेखि नै पीएनजीका बलरले नेपाली ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । पीएनजीका बलर काबुआ मोरिया, सेमो कामिया, सेसे बउ र चाड सोपरले दुई–दुई विकेट लिए ।

त्यसअघि पीएनजीले उत्कृष्ट ब्याटिङ गरेको थियो । पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले ६१ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान एली नाओले पनि अविजित ३० रन बनाएका थिए । पीएनजीले अतिरिक्त रूपमा १३ रन पाएको थियो ।

432776907_825429729613409_3790106793957098531_n

नेपाली टोलीका बलर कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन विकेट लिएका थिए । कुशलले चार ओभरमा २४ रन र आकाशले चार ओभरमा ४१ रन खर्चिए । करण केसी र गुलसन झाले पनि एक–एक विकेट हात पारेका थिए ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । उनी पहिलो ओभरको तेस्रो बलमै केवल चार रन बनाउँदै आउट भएका थिए । उनलाई पीएनजीका बलर मारियाले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले पाँच रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी आठ बलमा एक चौकाको मद्दतले पाँच रन बनाउँदै आउट भएका थिए । उनलाई पनि पीएनजीका बलर मोरियाले नै बोल्ड गरेका थिए । २.४ ओभरमा उनी आउट हुँदा नेपालले १६ रन बनाएको थियो ।

तेस्रो विकेटका रूपमा गुलसन झा पेभेलियन फर्किएका हुन् । उनी १० बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए । ५.१ ओभरमा उनी आउट हुँदा नेपालले केवल ३२ रन बनाएको थियो ।

चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १६ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । रोहितलाई पीएनजीका बलर सेसे बउले परिवर्तित खेलाडी अमिनीद्वारा क्याच गराएका थिए । ७.१ ओभरमा रोहित आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप १३ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै आउट भएका थिए । उनलाई पीएनजीका बलर सोपरले सेसे बउद्वारा क्याच गराएका थिए । १०.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रूपमा बिबेक यादबलाई गुमाएको थियो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका बिबेक १० बलमा एक रन बनाउँदै आउट भएका थिए । बिबेकलाई पीएनजीका बलर सोपरले सियाकाद्वारा क्याच गराएका थिए । १२.४ ओभरमा बिबेक आउट हुँदा नेपालले ७० रनमात्र बनाउन सकेको थियो । ठूलो लक्ष्य पछ्याइरहेको नेपाली टोली छैटौँ विकेट खसेसँगै दबाबमा परेको थियो ।

सातौँ विकेटका रूपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २० बलमा दुई चौकाको मद्दतले १५ रन बनाउँदै आउट भएका थिए । उनलाई पीएनजीका बलर सेसे बउले बोल्ड गरेका थिए । १३.५ ओभरमा आरिफ आउट हुँदा नेपालले ७६ रनमात्र बनाउन सकेको थियो ।

आठौँ विकेटका रूपमा लोकेश बम पेभेलियन फर्किएका थिए । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका लोकेश १० बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पीएनजीका बलर सेमो कामियाले एलबीडब्लूको धरापमा पारेका थिए । १५.३ ओभरमा लोकेश आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।

यसैगरी नवौँ विकेटका रूपमा नेपालले प्रतिस जिसीलाई गुमाएको थियो । तल्लोक्रमका ब्याट्सम्यान प्रतिस खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई पीएनजीका बलर कामियाले नाओद्वारा क्याच गराएका थिए । १५.५ ओभरमा प्रतिस आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । उनी सात बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई पीएसजीका बलर एली नाओले कामियाद्वारा क्याच गराएका थिए । आकाश चन्द शून्य रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । सेसे बउ आउट हुँदा पीएनजीले केवल एक रन बनाएको थियो ।

पीएनजीको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका कप्तान असाद भालालाई विनोद भण्डारीद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान असाद भालाले पेभेलियन फर्किनुअघि पाँच बलमा दुई रन बनाएका थिए । १.४ ओभरमा उनी आउट हुँदा पीएनजीले १४ रन बनाएको थियो ।

432749953_825461549610227_4378756725503214446_n

पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट थियो । आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान लेगा सिआकालाई दुई रनको व्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । ३.१ ओभरमा लेगा आउट हुँदा पीएनजीले २० रन बनाएको थियो ।

पीएनजीको चौथो विकेट गुलसन झाले लिएका थिए । गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । ५.२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन जोडेको थियो । 

पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका थिए । उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । ११.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको थियो ।

पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई बिबेक यादबद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काएका थिए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको थियो ।

पीएनजीको सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशलले पीएनजीका आठौँ नम्बरका ब्याट्सम्यान किपलिन दोरिगालाई लोकेश बमद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो ।

विकेटकिपर ब्याट्सम्यान दोरिगाले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाएका थिए । १७.४ ओभरमा दोरिगा आउट हुँदा पीएनजीले एक सय ३७ रन बनाएको थियो ।

पीएनजीको आठौँ विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका ब्याट्सम्यान चाड सोपरलाई १३ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आकाश चन्दले लिएको यो तेस्रो विकेट थियो । १८.५ ओभरमा चाड सोपर आउट हुँदा पीएनजीले एक सय ५४ रन बनाएको थियो ।

त्रिकोणात्मक शृंखलामा हङकङ तेस्रो भयो । बुधबार विहान खेलिएको खेलमा हङकङले आफ्नै ‘ए’ टोलीलाई हराउँदै तेस्रो स्थान हासिल गरेको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप