भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास

काठमाडौँ । डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.२.८९ करोड आर्थिक सहयोगमा निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् ।
भारत सरकारको अनुदान सहयोगमा विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माण गरिने भएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो कार्यक्रमलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।
कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।
यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन्, जसमा ४ वटा परियोजना डोटीमा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ, जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।
यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको छ । सो कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची