‘चारै वर्ष गठबन्धन टिकाउने एमाले र माओवादीबिच सहमति छ’
काठमाडौँ । नेपाली कांग्रेससँगको गठबन्धन भत्किएर नेकपा एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा एमालेभित्रैका धेरैलाई पत्यार लागेको थिएन । तर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको सघन संवाद र गृहकार्यले धेरैलाई आश्चर्यचकित बनायो ।
अप्रत्याशित सत्ता समीकरण बदलिए पनि नागरिकका समस्या, देशको आर्थिक अवस्था र ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पुरा गर्न वर्तमान गठबन्धन सरकारसामु अनगिन्ती चुनौतीहरू छन् । ती चुनौतीको सामना गर्ने सामर्थ्य गठबन्धनले राख्ला ? यो गठबन्धनको भविष्य कहाँसम्म छ ?
प्रस्तुत छ यिनै समसामयिक विषयमा केन्द्रित रहेर नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
- कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको सत्ता गठबन्धन बनेको छ, धेरैले यसलाई अनपेक्षित भनेका छन् । तपाईंको बुझाइमा यो कति अपेक्षित थियो ?
–कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कायम रहँदासम्म देशले जुन प्रकारका सङ्कट र चुनौतीहरूको सामना गरिरहेको थियो त्यसलाई समाधान गर्ने र देशलाई सकारात्मक बाटोबाट अगाडि बढाउने सम्भावना कमै थियो । अर्थतन्त्र धराशायी बन्दै थियो, वर्षमा १० लाखभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था थियो । हरेक वर्ष उत्पादन घट्दो थियो भने विदेशमा उत्पादित वस्तुहरू आयात गरेर मुलुक चलाउनुपर्ने अवस्था आइसकेको थियो ।
सरकारका हरेक काममा ढिलासुस्ती र भ्रष्टाचार व्याप्त बनिरहेको अवस्थामा त्यो गठबन्धन (कांग्रेस नेतृत्वको गठबन्धन) तोड्नु आवश्यक थियो । अहिले समीकरण बदलिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ भने एमाले सत्ता साझेदार दल बनेको छ । यो घटनाक्रमलाई सतहमा हेर्दा आम मानिसहरूले तत्कालै यस प्रकारको परिवर्तन होला भन्ने अपेक्षा गरेका थिएनन् । तर राजनीतिमा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विगतका धेरै प्रकारका परिवर्तनहरूले देखिसकेको हो । त्यसैले अहिलेको परिवर्तनलाई पनि त्यही ढंगले नै बुझ्नु आवश्यक छ ।
हाम्रो अहिलेको निर्वाचन प्रणालीमा एउटा दलले बहुमत प्राप्त गर्न कठिन छ । यस्तो अवस्थामा मिलेर काम गर्ने, सहकार्यका साथ काम गर्नुपर्छ नै ।
यस क्रममा भित्रभित्रै नेकपा माओवादी र हाम्रो पार्टी अध्यक्षबिच विभिन्न समयमा संवाद भइरहेको थियो । छलफलमा कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमाले–माओवादी गठबन्धन निर्माण नगर्दासम्म मुलुक अघि बढ्न नसक्ने नेतृत्वमा महसुस हुनु यो गठबन्धन बन्नुको मुख्य आधार हो । त्यसकारण अपेक्षित वा अनपेक्षित भन्नुभन्दा पनि राजनीतिमा असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्ने यो परिवर्तनले बताएको छ ।
- पुस १० मा बनेको एमाले माओवादी गठबन्धन दुई महिनामै भत्केको उदाहरण धेरैले बिर्सेका छैनन् । फेरि पनि त्यही नियति नदोहोरिएला भनेर विश्वस्त हुने कुनै आधार देख्नुहुन्छ ?
–हामी २०८४ मा बहुमत प्राप्त गर्ने गरी आन्तरिक तयारीमा जुटिरहेका छौँ । त्यसका लागि आम जनताकाबिचमा पार्टीको सम्पूर्ण संगठनलाई परिचालित गर्दै जनधार वृद्धि गर्ने प्रयत्न भइरहेको छ ।
तर हाम्रो अहिलेको निर्वाचन प्रणालीमा एउटा दलले बहुमत प्राप्त गर्न कठिन छ । यस्तो अवस्थामा मिलेर काम गर्ने, सहकार्यका साथ काम गर्नुपर्छ नै । नेपालको राजनीतिमा गठबन्धन सरकारमा रहेर त्यसलाई टिकाउने कुरामा कहिलेकाहीँ समस्याहरू पनि देखापरेका छन् । कहिले नेताहरूको प्रतिष्ठाको विषय बन्ने त कहिले विभिन्न मुद्दाका कारण अन्तर्विरोध पैदा हुने त कहिले अरू शक्तिकेन्द्रको प्रभाव पर्ने जस्ता कुराहरूले गर्दा गठबन्धन निर्माण हुने तर नटिक्ने अवस्था हामीले विगतमा भोगेकै हौ । यी सबै सन्दर्भमा राम्रो पाठ सिकेका छौँ ।
यसकारण पनि यो गठबन्धन टिक्नु जरुरी छ । यसलाई टिकाउन सबैले सहकार्यको संस्कृतिलाई आत्मसात् गर्न जरुरी छ । यदि हामीले आ–आफ्ना मान्यतामात्र लाद्ने हिसाबले अघि बढ्यौँ भने सहकार्य भत्कने खतरा पनि त्यतिकै हुन्छ । त्यसैले त्यो प्रकारको अवस्था नआओस् भन्नका लागि सावधानी अपनाउन जरुरी छ ।
नेपालको राजनीतिमा भूराजनीतिक प्रभाव बेलाबखत देखिने गरेको छ । तर अहिले जुन गठबन्धन निर्माण भएको छ, यो आजको अवयस्कता र नेताहरूको आन्तरिक पहलकदमीका आधारमा प्राप्त परिणाम हो ।
चारै वर्ष यो गठबन्धन टिकाउने गरी दुई पार्टीबिच सहमति भएको छ । तर यसलाई टिकाउन हाम्रा व्यवहार, अभिव्यक्ति, आचरण र काममा पनि निर्भर पर्छ । सरकारमा सहभागी दलहरूबिचको आपसी विश्वास र कामले गठबन्धनको भविष्य निर्धारण गर्छ । हामी चारै वर्ष यो गठबन्धन टिकाउनुपर्छ भनिरहेका छौँ ।
- गठबन्धन बन्ने र भत्कने कुरामा नेपालका राजनीतिक दलको बुद्धि र स्वविवेक भन्दा पनि कुनै रिमोटले काम गरेको हुन्छ भन्ने आम बुझाई छ । पछिल्लो गठबन्धन बन्नुमा देशको आवश्यकता हो वा बाहिरी प्रभाव ?
–नेपालको राजनीतिमा भूराजनीतिक प्रभाव बेलाबखत देखिने गरेको छ । तर अहिले जुन गठबन्धन निर्माण भएको छ, यो आजको अवयस्कता र नेताहरूको आन्तरिक पहलकदमीका आधारमा प्राप्त परिणाम हो । त्यसैले यसलाई अन्यथा आशङ्का गर्ने कुरा स्वाभाविक हुँदैन । नेकपा एमाले र माओवादीले मिलेर जाने कुराहरूलाई महसुस गर्ने नै अहिलेको समीकरण निर्माणको महत्त्वपूर्ण आधार हो ।
- यो समीकरण निर्माण भएपछि वामपन्थीबिच सहकार्य गर्दै एकतासम्म पुग्ने गृहकार्य भएको भन्ने सुनिन्छ । के वामपन्थी एकताको आधार तय भएको हो ?
–आम नेपाली जनतामा वामपन्थीहरुको बिचमा एकता होस् भन्ने चाहना राखेका छन् । जनता र कार्यकर्ताको चाहना हुने कुरा एउटा हो । अहिले नेकपा एमाले र माओवादी सरकार निर्माण र सञ्चालनको सन्दर्भमा एउटै मोर्चामा छ । न्यूनतम साझा कार्यक्रममा आधारित भएर सँगै जाने कुरा आवश्यक छ । तत्काल यी दुई पार्टीबिच एकता भइहाल्छ भन्ने मलाई लाग्दैन । यद्यपि आम जनता र कार्यकर्तामा एकताको चाहाना हो ।
एमालेले ऊर्जावान्, क्षमतावान् र जोसिला साथीहरूलाई मन्त्रिमण्डलमा पठाएको छ ।
- गत पुसमा बालकोटमा गठबन्धन बन्यो, तर सहमति बाहिर सार्वजनिक भएन र गठबन्धन टुट्न पुग्यो । अहिले पनि दुई नेताबिच भएको सहमति सार्वजनिक भएको छैन । उदाहरणकै लागि शक्ति बाँडफाँट कसरी गर्ने भन्नेबारे केही ब्रिफिङ भएको छ ?
–चार पार्टीबिचमा भएको सहमति बाहिर आइनै सकेको छ । त्यो भन्दा फरक ढंगले बुझ्न जरुरी छैन । नेकपा एमाले प्रतिनिधि सभामा दोस्रो ठुलो पार्टी हो । यसकारण यो पार्टीले सरकारको नेतृत्व गर्ने, आलोपालो गर्ने सन्दर्भ उठ्नु यो अस्वाभाविक होइन ।
- एमालेले सरकारमा जुनियर नेताहरूलाई पठाएर आफै यो गठबन्धन र सरकार लामो समय जाँदैन भन्ने बुझाइले हो भनेर कतिपयले भनेका छन् । वास्तविकता पनि त्यही हो कि ?
–होइन । एमालेले ऊर्जावान्, क्षमतावान् र जोसिला साथीहरूलाई मन्त्रिमण्डलमा पठाएको छ । यो सरकारले राम्रो परिणाम दिन्छ र जनतालाई थप आशावादी बनाउने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।
- तपाईं एउटा पार्टीको नेता मात्रै नभएर स्वतन्त्र नागरिक भएर सोच्दा नेपालको राजनीति सही दिशामा गइरहेको देख्नुहुन्छ त ? के यसले निकास दिन सक्छ भन्ने सोच्नुभएको छ ?
–नेपालको राजनीतिमा केही समस्याहरू देखापरेका छन् । जनतामा गरेका प्रतिबद्धता लागु गर्ने र उनीहरूको जीवन यथार्थमा बदल्ने सवालमा कमी देखापरेका छन् । त्यसैले राजनीतिमा आवश्यक कुरा मात्र बोल्ने बोल्ने स्थापित गर्न जरुरी छ ।
दोस्रो हरेक वर्ष लाखौँ नेपालीहरू रोजगारीका लागि बाहिर गइरहेका छन् । पछिल्लो निर्वाचनयता त झण्डै दुई तीन गुणा युवाहरू अवसरको खोजीमा बाहिरिए । देशभित्र उनीहरूले आशा देखेनन् । यो अवस्था अब पनि कायमै रहने हो भने नेपालमा पाका उमेरका बुबाआमा या बालबालिका मात्र रहने अवस्था छ । पाका र बालबालिकामात्र यहाँ रहने, युवाहरू बाहिर जाने, रेमिट्यान्सबाट विदेशमा उत्पादित वस्तुहरू आयात गर्ने र देशलाई परनिर्भर बनाउने दुष्चक्रमा देश घुमिरहेको छ । यसलाई बदल्न जरुरी छ ।
सरकार साधन मात्र हो साध्य होइन भन्ने कुरा पार्टीहरूले बुझ्न जरुरी छ ।
अर्कोतिर जनतामा रहेका केही असन्तुष्टिबाट फाइदा उठाउँदै यो प्रणालीमाथि नै धावा बोल्दै लोकतान्त्रिक अभ्यासलाई पछाडि फर्काउने प्रयत्नहरू विभिन्न कोणबाट भइरहेका छन् । यो अवस्थामा नेपालको राजनीतिक नेतृत्वले जति गर्न सकिन्छ त्यति बोल्ने कुरा व्यवहारमा स्थापित गर्न जरुरी छ ।
हामी सँगसँगै विकास प्रक्रियामा प्रवेश गरेका देशहरू हामीभन्दा धेरै तीव्र गतिमा परिवर्तन गर्न सफल भएका छन् । के कारणले हामीले विकासलाई तीव्र बनाउन सकेनौँ, के कारणले तुलनात्मक रूपले देश बलियो बनाउन सकेनौँ, आर्थिक हिसाबले आत्मनिर्भर बनाउन सकेनौ ? युवाहरूलाई देशभित्रै अवसर निर्माण गर्न सकेनौ भन्ने कुरामा आत्मसमीक्षा हुन जरुरी छ । हाम्रा कामहरू, विकास वा निर्णय प्रक्रिया,मा भएका विलम्ब सच्चाएनौँ र परिणाममा आधारित राजनीति स्थापित गर्न सकेनौँ भने फेरि पनि जनताले जीवनमा परिवर्तन प्राप्त गर्न सक्दैनन् ।
- राजनीतिक नेतृत्वले निर्वाचन प्रणालीलाई दोष दिएर उम्कने प्रयास गरेको पनि देखिन्छ । तर उनीहरूले बाटो बिराएको महसुस गरेका छैनन् । के दलहरूले यो कुरा बुझ्न नसकेका हुन् ?
–सरकार साधन मात्र हो साध्य होइन भन्ने कुरा पार्टीहरूले बुझ्न जरुरी छ । साध्य त राष्ट्रलाई र जनताको जीवनलाई समृद्ध र सुखी बनाउने कुरा हो । आर्थिक सामाजिक हिसाबले मुलुकलाई रूपान्तरण गर्ने, स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कुरामा सफलता प्राप्त गर्ने महत्त्वपूर्ण हो । तर हाम्रा कतिपय राजनीति, निर्णय र नीति निर्माणमा कहिलेकाहीँ स्वतन्त्र हुन नसकेको अवस्था पनि छ । यी सब चिजलाई सुल्टो बनाएर सुदृढ राष्ट्र निर्माण गर्ने, जनताको जीवनलाई आर्थिक सामाजिक हिसाबले माथि उठाउने र समृद्ध देश निर्माण गर्ने सन्दर्भमा व्यवहारमै जनताप्रति जवाफदेही र जिम्मेवार बन्ने कुरा स्थापित गर्न जरुरी छ । र, राजनीति केबल सरकारमा पुग्ने र सत्ताप्राप्ति गर्ने दाउपेच मात्र होइन भन्ने कुरा स्थापित गर्नसकेमात्र जनतामा आशा जगाउँछ ।
सरकारमा सहभागी हुनुको तात्पर्य केवल केही थान मन्त्री प्राप्त गर्नु मात्रै होइन ।
- २०७९ को निर्वाचन परिणामपछि पुराना र स्थापित दलहरू सक्किने कि सच्चिने भन्ने प्रश्न खडा गरेको थियो । तर पनि पुराना दलहरूको गतिविधि सच्चिनेतर्फ गएको देखिँदैन । एमालेकै सन्दर्भमा पनि त्यो प्रश्न कायमै छ । किन स्थापित दलहरूले परिवर्तित भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ?
–प्रश्नहरू उठेको कुरा हामीले पनि महसुस गरेका छौँ । केही नयाँ पार्टीहरूको उपस्थिति, नागरिकमा पैदा भएको असन्तुष्टि र युवाहरूका सुझाव हेर्दा हाम्रा आफ्ना काम र सोचहरूलाई बदल्न जरुरी छ भनेर हाम्रो पार्टीले महसुस गरेको छ । त्यसैले आउँदा दिनमा व्यापक जनतामा आधारित पार्टी निर्माण गर्ने गरी हामी अघि बढ्छौँ ।
तर गठबन्धन सरकारमा सहभागी भएपछि पार्टी झन् क्षयीकरणको दिशामा जाँदैन र ?
–त्यो सम्भावना बढ्न सक्छ । तर हामी सरकार बाहिर हुँदा जनताका आवाज र समस्याहरूलाई उठान गर्ने, रचनात्मक ढङ्गले सरकारलाई दबाब दिने, संविधान र कानुनको दायराभित्र जनतालाई जागृत गर्ने काम हुन्थ्यो । अहिले हामी सरकारमा गएपछि भूमिका बदलिएको छ । यो अवस्थामा जनताका समस्या र आवश्यकतालाई सरकारमार्फत पुरा गर्दै जनताको जीवनलाई रूपान्तरण गर्दै थप आशा जगाउने काममा हामीले भूमिका निर्वाह गर्छौँ ।
सरकारमा सहभागी हुनुको तात्पर्य केवल केही थान मन्त्री प्राप्त गर्नु मात्रै होइन । जनताका अपेक्षाहरूलाई पुरा गर्ने आँटका साथ नै नेकपा एमाले सरकारमा गएको हो । यो भूमिका निर्वाह गर्नुपर्छ र त्यो हुन सकेन भने फेरि त्यसले समस्या पैदा गर्न सक्छ ।
- अघि तपाईंले तत्काल वामपन्थी एकताको सम्भावना नभएको आशय व्यक्त गर्नुभयो । मिसन ०८४ र अहिलेको गठबन्धन सँगसँगै अघि बढाउने कुरा भइरहेका बेला पार्टीभित्र चार वर्षपछि एमाले, माओवादी र समाजवादी एउटै पार्टी बनेर चुनावमा जाने वा यी तीन पार्टीबिच पार्टी एकताका लागि एमालेभित्र कुनै छलफल वा बहस हुँदै आएको छ या छैन ?
–पार्टी एकताका सन्दर्भमा नेकपा एमालेभित्र औपचारिक ढङ्गले कुनै छलफल भैसकेको छैन । तर राजनीतिमा असम्भव केही हुदैन भन्ने कुरा त पछिल्ला घटनाहरुले पनि संकेत गर्छ । त्यसैले काम र सहकार्य गर्दै जाँदा कति निकट बन्न सकिन्छ वा कति दुरी बढ्छ भन्ने कुरा भविष्यले नै निर्धारण गर्ने कुरा हो ।
फेरि पनि आज यो समीकरणलाई देश र जनताको हितमा अधिकतम उपयोग गर्ने कुरामा हामी गम्भीर हुन सकेनौँ भने अन्यथा घटना हुन पुग्यो भने जनतामा थप वितृष्णा पैदा हुने र त्यसले लोकतान्त्रिक अभ्यासमाथि चुनौती पैदा गर्ने र औँला उठाउनेहरूलाई नै फाइदा पुग्ने छ ।
- प्रमुख राजनीतिक दलका लागि आजको मुख्य आवश्यकता के के हुन् त ?
–आजको प्रमुख आवश्यकता संविधानको प्रभावकारी कार्यान्वयन नै हो । बढ्दै गएको बेरोजगारी, गरिबी र अभाव न्यूनीकरण गर्न सक्नुपर्छ । गरिबीको प्रतिशत घट्यो त भनियो तर विगत १४ वर्षमा हाम्रा छिमेकी देशहरूले गरिबीको रेखामुनि रहेका जनताको प्रतिशतलाई जुन अनुपातमा न्यूनीकरण गरे त्यो अनुपातमा हाम्रो देशमा भयो कि भएन ? भएन भने किन भएन भन्ने कुरालाई हामीले गम्भीरताका साथ समीक्षा गरेका छैनौँ, त्यो गर्नुपर्छ । उत्पादन प्रणाली ध्वस्त बनाउने, सस्तो ज्यालामा युवाहरूलाई बाहिर पठाउने, युवाहरूले पठाएको रेमिट्यान्सबाट विदेशमा उत्पादित वस्तुहरू आयात गर्ने र देश विदेशी उत्पादनलाई उपभोग गर्ने बजारमा परिणत गर्ने दुष्चक्रमा देश गइरहेको छ । यसलाई परिवर्तन गर्न आवश्यक छ ।
- तपाईंले भनेजस्तो युवाहरू बिदेसिने क्रम बढ्दो छ, देशका उद्योगधन्दा प्रायः ठप्प छन् । उद्योगधन्दा खोल्ने र रोजगारी सिर्जनामा सरकारको पटक्कै ध्यान छैन तर नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ यो नारामा जनताले कसरी विश्वास गर्ने ?
–यी हाम्रा चुनौती हुन् । यी चुनौतीहरू गम्भीर भए । यही परिस्थिति लम्बियो भने देशलाई सुधार्न सकिँदैन भन्ने निष्कर्षका आधारमा हामी सरकारमा सहभागी भएका छौँ । देशमा जति पनि नकारात्मक सूचकहरू छन् तिनलाई सकारात्मक बनाउन यो सरकार जिम्मेवार बन्नुपर्छ र सोही प्रकारको भूमिका निर्वाह गर्नुपर्छ ।
- जताततै निराशा छाएको अवस्थामा वामपन्थी गठबन्धनको सरकार बनेको छ । यो सरकारले जनतालाई आशा दिनसक्ने आधार केके देख्नुहुन्छ ?
-यस सरकारले देशमै रोजगारी सिर्जना गर्न सक्नुपर्यो । उत्पादन वृद्धि गर्नुपर्यो, मूल्यवृद्धि र भ्रष्टाचार नियन्त्रण गर्नुपर्यो । जनताले सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा सहज र छिटोछरितो बनाउनुपर्यो । देशलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने गरी उत्पादन प्रणालीलाई बलियो बनाउनुपर्यो । छिमेकीहरूसँगको सम्बन्ध राष्ट्रिय स्वार्थलाई केन्द्र भागमा राखेर सन्तुलित बनाउन सक्नुपर्यो र आम नागरिकले गौरव महसुस गर्ने गरी आधारभूत वर्गको जीवनस्तर माथि उठाउन व्यवहारिक रूपमै सरकारले परिणाम दिन सक्नुपर्छ । खान पाउनेहरू पाइरहेका छन्, नपाउने भोकै छन्, उपचार गर्न पाउनेहरू गरिरहेका छन्, नपाउनेहरू त्यसै मरिरहेका छन्, पढ्न पाउनेले पढिरहेका छन् नपाउनेहरू निरक्षर बनिरहेका छन् यो प्रकारको विसंगतिपूर्ण अवस्थालाई तोड्नपर्छ ।
यो सरकारले कम्तीमा नेपाली कांग्रेस सम्मिलित गठबन्धन सरकारको अवस्थाभन्दा फरक प्रकारको सन्देश दिनुपर्यो । त्यो सन्देश केवल भाषण, तर्क, लेखनले होइन कि कामहरूले नै जनताका जीवनमा परिवर्तन प्रतिविम्बित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत