बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियासँग केही लागेन न्युजिल्यान्डको, दोस्रो टेस्टमा पनि तीन विकेटले हार्‍यो

सोमबार, २८ फागुन २०८०, १० : १८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । भ्रमणकारी टोली अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटको चौथो दिन सोमबार न्युजिल्यान्डलाई तीन विकेटले हराएको छ । जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृङ्खला पनि २-० ले नै आफ्नो पक्षमा पारेको छ ।

यसअघि पहिलो टेस्टमा पनि अस्ट्रेलिया एक सय ७२ रनले विजयी भएको थियो । न्युजिल्यान्डको क्राइस्टचर्चमा सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले दुई सय ७९ रनको विजय लक्ष्य सात विकेट गुमाएर पुरा गरेको थियो ।

भ्रमणकारी टोलीले चार विकेटको नोक्सानीमा ७७ रन बनाउँदै तेस्रो दिनको खेल टुङ्ग्याएको थियो । अस्ट्रेलियाले चौथो दिन सोमबारको खेल सोही अवस्थाबाट अगाडि बढाएको थियो । त्यसपछि अस्ट्रेलियाले ६५ ओभरमै सात विकेट गुमाएर दुई सय ८१ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।

दोस्रो पालीमा अस्ट्रेलियाका लागि छैटौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्स र सातौँ नम्बरका ब्याट्सम्यान एलेक्स केरीले उत्कृष्ट प्रदर्शन गरे । मार्सले टोलीका लागि ८० रनको योगदान गरे । उनले एक सय दुई बलको सामना गरी एक छक्का र १० चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले पनि अविजित ९८ रन बनाए । उनी केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुके । उनले एक सय २३ बलको सामना गरी १५ वटा चौका हिर्काएका थिए । कप्तान प्याट कमिन्सले पनि अविजित ३२ रन बनाए ।

दोस्रो पालीमा अस्ट्रेलियाका माथिल्ला क्रमका ब्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किएका थिए । ओपनर ब्याट्सम्यान स्टिभन स्मिथले नौ र उसमान ख्वाजाले ११ रनमात्र बनाउन सके । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेन पनि ६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए ।

क्यामरुन ग्रिन पनि पाँच रन बनाउँदै आउट भए । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २२ रन पायो । घरेलु टोलीका बलर बेन सियर्सले चार विकेट लिए । म्याट हेनरीले पनि दुई विकेट हात पारे । अर्को एक विकेट टिम साउथीले लिए । साउथीको यो एक सयौँ टेस्ट पनि हो ।

त्यसअघि घरेलु टोली न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा तीन सय ७२ रन बनाएको थियो । दोस्रो पालीमा न्युजिल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । युवा ब्याट्सम्यान रचिन रवीन्द्रले ८२ रनको योगदान गरे ।

यसैगरी ओपनर टम लाथमले ७३ रन बनाएका थिए । ड्यारल मिचेलले पनि टोलीको खातामा ५८ रन थपेका थिए । केन विलियम्सनले ५१ रन बनाएका थिए । अनुभवी ब्याट्सम्यान विलियम्सनको यो एक सयौँ टेस्ट सहभागिता पनि हो ।

दोस्रो पालीमा अस्ट्रेलियाका बलर प्याट कमिन्सले चार र नाथन लियोनले तीन विकेट लिएका थिए । त्यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा दुई सय ५६ रन बनाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाम्बुसेनले ९० रनको योगदान गरेका थिए ।

पहिलो पालीमा न्युजिल्यान्डका बलर म्याट हेनरी एक्लैले सात विकेट लिएका थिए । उनले २३ ओभरमा चार मेडन राख्दै ६७ रन खर्चिएका थिए । न्युजिल्यान्डले भने पहिलो पालीमा एक सय ६२ रनमात्र बनाउन सकेको थियो ।

पहिलो पालीमा न्युजिल्यान्डका लागि ओपनर टम लाथमले सर्वाधिक ३८ रन बनाएका थिए । पहिलो पालीमा अस्ट्रेलियाका बलर जस हेजलउडले पाँच र मिचेल स्टार्कले तीन विकेट लिएका थिए । दोस्रो टेस्टमा अस्ट्रेलियाले टस जिती पहिले फिल्डिङको निर्णय लिएको थियो ।

अस्ट्रेलियाका एलेक्स केरी प्लेयर अफ द म्याच घोषित भए । अस्ट्रेलियाकै म्याट हेनरीले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । यसअघि न्युजिल्यान्डविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला पनि अस्ट्रेलियाले ३-० ले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप