राम्रो कमाइ हुने ‘क्रिम्सन ग्रेप्स’ अर्थात् रातो अङ्गुर
स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिने क्रिम्सन ग्रेप्स अथवा रातो अङ्गुर व्यावसायिक उत्पादनका हिसाबले पनि नाफामुखी मानिन्छ । अङ्गुरमा एन्टिअक्सिडेन्ट तत्त्व पाइने हुनाले यसले मुटु तथा क्यान्सरका जोखिम घटाउन सहयोग गर्छ । छाला सुन्दर बनाउन पनि यो अङ्गुरको सेवन गरिन्छ । यसमा पाइने भिटामिन ‘सी’ तथा ‘के’ले मानिसमा रोगसँग लड्न सक्ने क्षमता विकास गर्छ । यस कारण यस अङ्गुरले मस्तिष्क विकास तथा पाचन प्रणालीमा सुधार गर्ने अध्ययनहरूले देखाएका छन् ।
यस भेराइटीको अङ्गुरमा भित्र एउटा पनि दाना हुँदैन । अरुभन्दा ठूलो दाना हुन्छ र बोक्रो पनि बाक्लो हुन्छ । सामान्यतः एउटै दानाको तौल १० देखि १२ ग्रामसम्म हुन्छ । यसमा सितिमिती रोग लाग्दैन भने अरु अङ्गुर पाकेर सकिएपछि यो पाक्छ । यसर्थ व्यावसायिक हिसाबले पनि यो बढी लाभदायी मानिन्छ । सामान्यतया एक हेक्टर जमिनमा करिब २५ मेट्रिक टनसम्म फल्छ । यसको लहरा निकै फैलन्छ, लहरा २० मिटरसम्म लामो हुन्छ ।
यसको सरदर मूल्य प्रतिकेजी चार डलर अथवा पाँच सय रुपैयाँ पर्दछ, तर विदेशबाट आयात गर्दा भने यसको मूल्य हजार रुपैयाँजस्तो पर्दछ ।
एउटा बिरुवादेखि अर्कोबिचको दूरी साढे दुईदेखि तीन मिटरको फरक र एउटा लहरदेखि अर्को लहरबिचको दूरी करिब दुईदेखि साढे दुई मिटर हुनुपर्छ । खानका लागि रोपिने अङ्गुर र वाइनका लागि रोपिने अङ्गुरको व्यावसायिक उत्पादन फरक पर्छ । खानका लागि रोपिने अङ्गुरले दुई वर्षमा व्यावसायिक रूप लिन्छ भने वाइनका लागि रोपिने अङ्गुरले सात वर्षमा मात्र व्यावसायिक रूप लिन्छ । खानका लागि रोपिने अङ्गुरले बढीमा २० वर्षसम्म व्यावसायिक उत्पादन दिन्छ । यसबिचमा नयाँ भाइनयार्ड तयार पारी पुरानोलाई नष्ट गर्नुपर्छ । यसै गरी वाइनका लागि रोपिने अङ्गुरबाट मात्र १५ वर्ष व्यावसायिक रूपमा उत्पादन लिनुपर्छ ।
अङ्गुर जति स्वादिलो र स्वास्थ्यका लागि लाभदायी हुन्छ, यसको खेती गर्ने अवस्था पनि त्यत्तिकै कठिन छ । सामान्यतः वर्षामा तातो हुने र हिउँदमा चिसो मौसम हुने ठाउँमा मात्र अङ्गुर सप्रन्छ, बाक्लो तुषारो पर्ने ठाउँमा भने स्वादिलो हुँदैन ।
अङ्गुरको भेराइटी अनुसार, माटोको अवस्थामा पनि फरक पर्छ । चिसो मौसममा पाँच डिग्रीभन्दा कम तापक्रम भए अङ्गुर फस्टाउँदैन । त्यसैगरी तातो मौसममा पनि यसै आसपासको तापक्रम भए पनि अङ्गुर फस्टाउँदैन । यसैगरी अङ्गुरको मुना पलाउने बेला माटोको तापक्रम पाँच डिग्रीभन्दा कम भए माटोमा भएको जैविक तत्त्वले काम गर्दैन । अङ्गुरको भेराइटी अनुसार, माटोको पीएच लेभल ४.५ देखि ८.५ सम्म हुनुपर्छ ।
भूगोल भने समथर हुनु आवश्यक छ । साह्रै भिरालोमा पानीले मल तथा जैविक तत्त्व बगाएर लैजाने सम्भावना रहन्छ । सामान्यतः अङ्गुरको बिरुवालाई हिउँदमा छाँटकाँट गर्नुपर्छ ।
व्यावसायिक रूपमा निकै कमाइ हुन्छ, अङ्गुर खेतीबाट । भारतले सन् २०२३ मा दुई लाख ६८ हजार मेट्रिक टन अङ्गुर निर्यात गरी करिब ३१ करोड अमेरिकी डलर कमाइ गरेको थियो । त्यस वर्ष भारतमा ६५ हजार हेक्टर जमिनमा अङ्गुरखेती गरेर प्रतिहेक्टर २५ टनका दरले उत्पादन गरिएको थियो ।
यही कमाइ अस्ट्रेलियामा फरक छ । त्यहाँ १० हजार हेक्टरमा अङ्गुरखेती गर्दा दुई लाख टन उत्पादन भयो । यसमध्ये ३० प्रतिशत आन्तरिक खपत भई ७० प्रतिशत निर्यात गरियो । यसबाट वार्षिक ९० करोड अमेरिकी डलर कमाइ भयो ।
यस्तै, अमेरिकाले सन् २०२३ मा तीन लाख ६५ हजार हेक्टर जमिनमा अङ्गुरखेती गरी करिब ६ अर्ब डलर कमाइ ग¥यो । त्यहाँ प्रतिहेक्टरमा सरदर २० टन फल्यो । अमेरिकी कृषि तथा खाद्य विभागको वैदेशिक कृषि सेवा तथ्यांक अनुसार, यस आर्थिक वर्षमा विश्वमा अघिल्लो वर्षको तुलनामा पाँच लाख टन अङ्गुर थप भई कुल दुई करोड ८५ लाख मेट्रिक टन अङ्गुर बिक्री हुनेछ । सोमध्ये सबैभन्दा बढी पेरुले पाँच लाख ९५ हजार टन अङ्गुर विश्व बजारमा बेच्छ भने चीनले चार लाख ८० हजार टन बेच्छ । अमेरिकी खाद्य विभागको अध्ययन अनुसार, सन् २०२४ मा विश्वमा अङ्गुरको बजार दुई सय १५ अर्ब डलरको छ । यो बजार बढेर २०२९ सम्म तीन सय तीन अर्ब डलर नाघ्नेछ ।
समान्यतः अङ्गुरखेती गर्दा प्रतिहेक्टर तीनदेखि चार हजार बिरुवा लाग्छ । यसबाट १५ देखि २५ मेट्रिक टनसम्म फल फल्छ । चरा र असिनाबाट जोगाउनका लागि खेतीमा हेलनेट लगाउनुपर्छ । एक हेक्टर जमिनमा १५ टन मात्र फले पनि प्रतिकेजी दुई सय रुपैयाँका दरले बिक्री गर्दा १५ हजार केजीबाट ३० लाख रुपैयाँसम्म कमाइ हुन्छ, तर फल बेच्नुभन्दा वाइन बनाएर बेच्दा बढी फाइदा हुन्छ । बढीमा १३ सय ग्राम अङ्गुरको एक लिटर वाइन बन्छ । अङ्गुरबाट उत्पादित वाइनको सरदर बजार भाउ १६ अमेरिकी डलर पर्छ, हाम्रो बजारमा त्यस्तै दुई हजार प्रतिलिटर । तर वाइन उद्योग स्थापना गर्न भने ठुलै रकम लाग्छ । प्रतिहेक्टर जमिनमा १५ हजार केजी मात्रै अङ्गुर उत्पादन भए पनि त्यसबाट १२ हजार लिटर वाइन उत्पादन गर्न सकिन्छ । हजार रुपैयाँ प्रतिबोतलका दरले बेच्दा एक करोड २० लाख कमाइ हुन्छ, तर उद्योग स्थापनाका लागि ठुलै रकम लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’
-
लायन्स र निजी क्षेत्र मिलेर काम गर्दा धेरै रोजगारी सृजना गर्न सकिन्छ : अध्यक्ष ढकाल
-
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
-
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
-
टीका चौधरीलाई कांग्रेसले बनायो समन्वय प्रमुख कैलालीको उम्मेदवार
-
कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल