पोखराको जानकारी दिन ‘पोखरा घर’ : पर्यटकको गन्तव्य बन्ने विश्वास
कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो ।
पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ ।
यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए ।
उनका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्वपूर्णस्थल बन्नेछ । “पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ । यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौँ”, महानगर प्रमुख आचार्यले भने ।
पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाए । उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे ।
उनले भने, ‘महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।’ पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए ।
यसैगरी महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ । स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले रक्तदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्किएले २०२५ को लागि न्यूनतम ज्याला ३० प्रतिशतले बढायो
-
बागमती फुटबल लिग प्रतियोगिता आज, काठमाडौँ र काभ्रे भिड्दै
-
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
-
मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ
-
माओवादी पार्टी कसरी बन्छ ? यस्ता छन् आधार
-
विश्व टेनिसका लागि निराशाजनक वर्ष : तीन चर्चित खेलाडी डोपिङ परीक्षणमा असफल