बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सार्कलाई क्रियाशील तुल्याउन गम्भीर पहल आवश्यक : परराष्ट्रविद्

आइतबार, २७ फागुन २०८०, १६ : २९
आइतबार, २७ फागुन २०८०

काठमाडौैँ । दक्षिण एसिया सहयोग संगठन (सार्क)को आवश्यकता र महत्त्व अझै बाँकी रहेको र त्यसलाई क्रियाशील गर्न नेपालको तर्फबाट प्रयास हुनुपर्ने विज्ञहरुले जनाएको छन् । दक्षिण एसियाली राष्ट्रलाई जोड्ने काम गरेकाले सार्कलाई पुनः क्रियाशील गर्नुपर्ने उनीहरुको भनाइ छ ।

फ्रेण्डस अफ सिल्करोड क्लव नेपालले आयोजना गरेको ‘दक्षिण एसियाको भूराजनीतिक परिवर्तनमा नेपालको राष्ट्रिय हितको रक्षा’ विषयक संवाद कार्यक्रममा उनीहरुले बदलिँदो भूराजनीतिमा नेपालले आफ्नो भूमिका स्पष्ट गर्नुपर्ने बताए । पूर्व राजदूत डा.दिनेश भट्टराईले कनेक्टिभिटीका लागि सार्क संगठन आवश्यक रहेको धारणा राखे । उनले भने, ‘सार्क रहेन भने त्यससँग सम्बन्धित कनेक्टिभिटीलाई के गर्ने ? त्यसलाई त्यत्तिकै छाड्ने कि अगाडि बढाउने भन्ने कुरामा पनि विचार गर्नुपर्छ ।’

सार्क राष्ट्रका लागि भूराजनीति निकै महत्त्वपूर्ण रहेको चर्चा गर्दैै उनले सार्क संगठनको अध्यक्ष राष्ट्र नेपाल भए पनि सार्कलाई क्रियाशील बनाउन त्यति गम्भीर नदेखिएको गुनासो गरे ।

पछिल्लो समय सार्कको महत्त्व अझै बढ्दै गइरहेको बताउँदै भट्टराईले सार्क बिना विश्वसँग नेपाललाई जोड्न नसकिने बताए । कोभिडको समयमा सार्क राष्ट्रको आवश्यकता महसुस गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रमुखहरुको बैठक बोलाएको स्मरण गर्दै उनले अहिले पनि त्यसको आवश्यकता रहेको प्रस्ट पारे ।

अर्का पूर्व राजदूत निरन्जनमान सिंह बस्न्यातले पनि शिखर सम्मेलनबाहेक अरु सबै बैठक तथा गतिविधि भइरहेका कारण यसको आवश्यकता र महत्त्व अझै रहेको पुष्टि भएको उल्लेख गरे । सार्कको मुख्यालय सक्रिय रहेको, सदस्य राष्ट्रले कोषमा बुझाउनु पर्ने रकम पनि बुझाइरहेको र अन्य विभिन्न गतिविधि भइरहेको अवस्थामा शिखर सम्मेलन किन हुन सकिरहेको छैन भनेर त्यसतर्फ सबैले चासो र सक्रियता बढाउनुपर्ने उनले बताए ।

अहिलेको भूराजनीतिक अवस्था हेर्दा सार्कलाई पुनः सक्रिय बनाउन अध्यक्ष राष्ट्र नेपालले नै पहल गर्नुपर्ने बस्न्यातले बताए । उनले भने, ‘नेपालका मन्त्री तथा नेताहरु सार्कका विभिन्न मुलुकको भ्रमण गरिरहनु हुन्छ, त्यहाँ गएपछि यी कुरा उठाएर ती देशलाई विश्वासमा लिनुपर्छ ।’

भारत र पाकिस्तान बिचको तनावपूर्ण सम्बन्धका कारण नै सार्क सुस्ताएको भन्दै उनले दुवै देशबिच समझदारी बनाएर अगाडि बढाउने दिशामा ध्यान दिनुपर्ने बताए । परराष्ट्र मामिला अध्ययन संस्थानका स्रोत व्यक्ति मातृका पौडेलले विभिन्न देशसँग कनेक्टिभिटी गर्नमा नेपाल सुस्त रहेको बताउँदै बदलिँदो परस्थिति अनुसार परराष्ट्र नीति बनाउन जोड दिनुपर्ने बताए ।

उनले परराष्ट्रमा विदेश मामिलामा जानकारी राख्ने जनशक्तिको अभाव रहेको बताउँदै हरेक ठाउँमा राजनीतिक हस्तक्षेप रहेको बताए । उनले भने, ‘पार्टीको झोला बोक्ने व्यक्तिलाई परराष्ट्रमा ल्याउनु हुँदैन ।’ भूराजनीति विज्ञ चन्द्रदेव भट्टले परनिर्भरताले भूराजनीतिमा असर पारेको बताए । भारतसँग सम्झौता गर्दा चीन रिसाउँछ कि, चीनसँग सम्झौता गर्दा भारत रिसाउँछ कि भन्ने सोचले यहाँ काम भएका कारण पनि नेपाल सफल नभएको उनले बताए ।

‘नेपालको परनिर्भरता ६५ प्रतिशतले बढेको छ, यस अवस्थामा अरु देशसँगको भूराजीतिमा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ?’ उनले भने, ‘पहिलो कुरा, आत्मनिर्भरमा जोड दिनुपर्ने देख्छु ।’

विदेश मामिलाका जानकार गोपाल खनालले विश्वको भ्रराजनीतिबाट नेपालले फाइदा लिनुपर्ने बताए । उनले एमसीसी र बीआरआई दुवै परियोजनाबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘भूराजनीतिबाट फाइदा उठाउने हो भने नेपालका लागि अवसर नै अवसर छ, चुनौती हामीले मात्र सिर्जना गरेका छौँ ।’

नेपालमा आउने परियोजनालाई राजनीतिक आँखाले हेर्न नहुने तर्क गर्दै उनले चीन र भारतले सीमा क्षेत्रमा जसरी विकास गरेको छ। त्यसरी नेपालले गर्न नसकेको सुनाए । कार्यक्रममा अखिलेश शर्मा, वतावरण विज्ञ गणेश साह, खाद्य सुरक्षा विज्ञ विश्व पराजुली लगायतले पनि दक्षिण एसियाली मुलुक लगायत अन्य देशसँग पनि विभिन्न कनेक्टिभिटीमा जोड दिनुपर्ने बताए ।

जलविद्युत तथा पानीको स्रोतमा नेपाल धनी देश भए पनि त्यसको संरक्षण र सम्वर्द्धनमा काम नगरेको उनीहरुको गुनासो थियो । अरु देशले जलविद्युतमा लगानी गर्न चाहे पनि नेपालबाट त्यसका लागि वातावरण बनाउन नसकेको उनीहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप