आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
इलाम २ उपनिर्वाचन

सुवास नेम्वाङका छोरा सुहाङसहित एमालेका ६ जना आकांक्षीले दिए निवेदन

सहमति नभए केन्द्रमा नाम पठाउने तयारी
आइतबार, २७ फागुन २०८०, १४ : १७
आइतबार, २७ फागुन २०८०

विराटनगर । इलामको २ नम्बर निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् ।

एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिए ।

उनका अनुसार निवेदन दिनेहरुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा  सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।

सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए ।

उम्मेदवार छनोट समितिका सचिव गुरुङले आज बेलुकासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताए । ‘त्यसमा पनि सहमति नजुटे ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइसक्ने तयारी छ,’ गुरुङले भने ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ । उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने सहमति भएको छ । थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको विषयमा आन्दोलनरत पक्षका प्रमुख घटकहरुले थेगिमलाई समर्थन गरेका छन् । जसमा किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा सङ्घलगायत छन् ।

उता, नेपाली कांग्रेसले भने यसअघि नेम्वाङसँगै पराजित बनेका डम्बर बहादुर खड्कालाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ६ जनाको नाम सर्ट लिस्टमा राखेको जनाएको छ । यद्यपि उनीहरुको नाम गोप्य राखेको छ ।

माओवादी केन्द्रले पनि यसपटक एक्लै चुनावी मैदानमा उत्रने जनाएको छ । यद्यपि केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सोही अनुसार बाम गठबन्धन हुने चर्चा पनि चुलिएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । कांग्रेसका उम्मेदवार खड्काले २०७९ सालमा माओवादी, नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप