आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

प्रत्येक टेस्ट खेलेबापत खेलाडीलाई ४५ लाख भारतीय रुपैयाँ दिने बीसीसीआईको घोषणा

आइतबार, २७ फागुन २०८०, १० : ५२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेट खेल्ने खेलाडीहरुलाई विशेष सुविधा दिने योजना सार्वजनिक गरेको छ । बीसीसीआईले प्रत्येक सिजनका लागि निर्धारित टेस्टको ७५ प्रतिशत वा त्योभन्दा बढी खेल खेल्ने क्रिकेटरलाई प्रति खेल अतिरिक्त ४५ लाख भारतीय रुपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा गरेको हो ।  

बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मार्फत यो योजना सार्वजनिक गरेका हुन् । टेस्ट क्रिकेटप्रति खेलाडीको आकर्षण बढाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो । पछिल्लो समय विश्वभरका प्रभावशाली क्रिकेटरहरु पैसाका कारण फ्रेन्चाइज प्रतियोगितातर्फ आकर्षित बन्दै गएको निश्कर्ष बीसीसीआईले निकालेको छ ।

भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान गौतम गम्भिरले आफू बीसीसीआईको पछिल्लो योजनाबाट निकै प्रभावित भएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई ‘उत्कृष्ट योजना’ को संज्ञा दिएका छन् ।

यसैगरी भारतीय क्रिकेट टोलीका प्रशिक्षक एवम् पूर्व ब्याट्सम्यान राहुल द्रबिडले पनि बीसीसीआईको यो योजना प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गरेका छन् ।   ‘पैसाले मात्र प्रतिभाशाली खेलाडी तयार पार्न सकिँदैन । तर, बीसीसीआईको पछिल्लो योजनाले खेलाडीहरुलाई अझ बढी परिश्रम गर्न भने उत्प्रेरित गर्नेछ,’ द्रबिडले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप