बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

आइतबार, २७ फागुन २०८०, ०७ : ३६
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । 

आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ । आज लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दै छ । यो खेलमा लिभरपुल विजयी भए पुनः शीर्ष स्थानमा फर्कने छ भने बराबरीले अंक बराबरी भए पनि दोस्रै स्थानमा रहने छ । 

शनिबार राति ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दा डेकलन राइस र काभई हार्भेट्जले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए । १९ औँ मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि  खेल एक एकको बराबरीमा आएको थियो । ८६ औँ मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २–१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो ।

प्रिमिरय लिग अन्तर्गत वुल्भ्सले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलेको बराबरी खेलेका छन् । यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।

प्रिमियर लिग अन्तर्गत आज ४ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनह्याम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङघम फरेस्ट र वेस्टह्याम तथा बर्नले आपसमा भिड्ने छन् । यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप