हेटौँडा भेट्रान्सको उपाधि बानेश्वरको पोल्टामा
हेटौँडा । हेटौँडामा भएको राष्ट्रिय भेट्रान्स क्लबको उपाधि बानेश्वर फ्रेन्डसिप भेट्रान्स क्बलको पोल्टामा परेको छ । हेटौँडाको पिप्लेक्याम्पा रंगशालामा भएको नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ्ग शिल्ड प्रतियोगिताको फाइनल खेलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौँलाई पराजित गर्दै बानेश्वरले उपाधि जितेको हो ।
शनिबार सम्पन्न फाइनल खेलमा बानेश्वरले किङ्गकमलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा बानेश्वरका जर्सी नम्बर ८ का हरिहर थापा ‘झलक’ ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको अवधि भर विपक्षी टिम किङ्गकम भेट्रान्स क्लबले कुनै पनि गोल गर्न नसकेपछि झलकको गोल नै निर्णयक सावित भएको थियो । बानेश्वरका तर्फबाट झलकले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्न पुगेको थियो ।
बानेश्वरले बगरभाइ खलक पोखरालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने किङ्गकमले एबीसी भेट्रान्स क्लब पोखरालाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधि भिडन्तका लागि फाइनल यात्रा तय गरेको थियो । एबिसी पोखरा हेटौंडा भेट्रान्स कपको डिफेन्डिङ च्याम्पियन हो । सो क्बलले त्यस अघिको प्रतियोगिता समेत जितेको थियो ।
खेलमा उपाधिसहित बानेश्वरले एक लाख ११ हजार १११ रुपैयाँ तथा रनिङ्ग शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता किङ्गकमले ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको म्यनअफ द म्याच गोलकर्ता झलक घोषित भएका थिए । उनले प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसंगै नगद ५ हजार रुपैयाँ र शिल्ड प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बानेश्वरका प्रदिप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित भएका थिए भने प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर किङ्गकमका विपीन शाह घोषित भएका थिए ।
विधागत तर्फबाट उत्कृष्ट घोषित भएका खेलाडीहरुलाई नगद ५ हजार रुपैयाँसहित शिल्ड प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भइ नगद १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खेलकुद प्रतियोगितहरु स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण सावित भएको बताइन् । पछिल्लो समय युवा पुस्ताहरुमा खेलकुद प्रति आकर्षण बढिरहेकाले हेटौंडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई महत्व दिएर काम गरिरहेको बताइन् ।
हेटौँडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरु उत्पादनका लागि फुटबल एकेडेमी स्थापना गर्न प्रक्रिया अघि बढाएको उनको भनाई छ । स्वास्थ्यका लागि खेलिने भेट्रान्स प्रतियोगितामा उपमहनगरपालिकाले विषेश रुपमा सहयोग गर्दै आएको उनले बताइन् ।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा देशभरका १९ वटा टिमको सहभागिता रहेको थियो । ४५ वर्ष उमेर समूहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टिमहरुमा ५० वर्ष उमेरका २ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?