गिद्ध : पर्यावरणको एक रक्षक
गिद्ध सुन्दै कस्तो अनौठो लाग्ने नाम . हुन त बच्चै देखि यसको नाम नकारात्मक ढङ्गले सुनाइएको भएर पनि हो कि ? जस्तो कि गिद्धलाई अलि डराउने किसिमको उखान टुक्का तिर पनि जोडिएको हुन्छ । जस्तो कि कस्तो गिद्धे नजरले हेरेको भनिन्छ, जसको अर्थ अरूको खराब समयको फाइदा उठाउने भनेर बुझिन्छ । तर यस उखानकै कारणले गिद्धको पहिचान गर्न अलि अनुचित पनि हुन सक्छ ।
अनि अर्को गिद्धकै उखानको कुरा गर्दा धेरै मासु खाने मान्छेलाई पनि कस्तो गिद्ध जस्तो भनेर नाम दिइन्छ । धेरै कुरा हामीले हाम्रो समाज र घरबाटै जानेका हुन्छौ बुझेका पनि हुन्छौ, हाम्रो संस्कार, परम्परा पनि वातावरणसँग त्यति नै जोडिएको हुन्छौ । जस अनुरूप हामीले वातावरण बुझ्न सक्ने भएका हुन्छौँ । यसको अर्थ यो होइन कि हामीले जे सिकेका छौ त्यो नै सही हो वा गलत हो ।
हुन त हामीलाई गिद्धको बारेमा के नै राम्रो कुरा होला र भन्ने पनि लाग्छ । गिद्धको बारेमा पढेर बुझेर के नै गर्नु छ र भन्ने होला तर वातावरणमा पाइने प्रजातिको जानकारी लिनु गलत पनि त होइन । मैले पनि गिद्धलाई नजिकबाट नियालेर वा प्रत्यक्ष रूपमा अहिलेसम्म देखेको छैन, फोटोमा हेर्दा पनि अरू पन्छीको तुलनामा ठिकै जस्तो मात्रै लागेको हो ।
झट्ट हेर्दा अलि डर लाग्ने जस्तो पनि देखिँदा रहेछन् । त्यसैले पनि बाहिरी बनावटकै कारण यस पन्छीको परिचयमा नकारात्मक प्रभाव परेको पो हो कि ? तर कुनै पनि वस्तुलाई उसको बाहिरी आवरण नियालेर नै उसको बारेमा कुनै धारणा बनाउन उचित नहोला कि ? हाम्रो समाजमा पनि भनिन्छ नि कुनै मानिसको आचरण उसको अनुहार भन्दा बानी र व्यवहारले बढी झल्काउने गर्दछ । त्यस्तै गिद्धलाई पनि अरू पन्छीको बाहिरी आवरणसँग तुलना गरेरै यो राम्रो छैन भन्न अलि मिल्दैन कि भनेर मात्रै यो कुरा जोड्न खोजेको मात्रै हो ।
अब लागौँ गिद्धको थोरै परिचय तर्फ, यो एउटा चराको प्रजाति हो । यस चरा पनि अन्य पन्छी जस्तै उड्ने गर्छन् र अन्डाबाट बच्चा कोरल्छन् । गिद्ध अरू पन्छीभन्दा भिन्न छ, किनभने यसले मुख्यतः सिनोको सेवन गर्छन् जसले गर्दा पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न अहम् भूमिका खेलेको हुन्छ । त्यसैले गर्दा गिद्धलाई वातावरणको कुचीकार चराको रूपमा पनि चिनिन्छ ।
यिनीहरू दूरदर्शी हुन्छन् साथै गन्ध लिन सक्ने क्षमता पनि अरू पन्छीको तुलनामा निकै तेजिलो हुन्छ । जसले टाढा भएको मरेका जीवको जानकारी सजिलोसँग पाउन सक्छन् विशेषगरि गिद्धले अरू पन्छीको भन्दा बढी महत्त्व बोकेको छ । जसले मानव समाजको स्वच्छ व्यवस्थापनको लागि निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसको मुख्य खाना भनेको मरेका जीवजन्तु हुन, जसलाई यसले खानाको रूपमा खाएर आफ्नो पेटमा भएको शक्तिशाली एसिडले हानिकारक जीवाणुहरूलाई नष्ट पार्ने गर्छन् ।
गिद्धले आफ्नो खानामा प्रयोग गर्ने सिनो समयमा सफा हुन नसकेमा त्यसबाट उत्पन्न हुने विभिन्न कीटाणुहरू वातावरणमा फैलिएर विभिन्न रोगका कारण बन्न सक्छन् । जसले हाम्रो पर्यावरणमा निकै ठुलो महामारी निम्त्याउन सक्छ । गिद्ध एउटा यस्तो पन्छी हो जसले हाम्रो वातावरणलाई यस्ता कहालीलाग्दो अवस्थामा पुग्न बाट जोगाउने गर्छ । त्यसैले पनि हाम्रो गिद्ध प्रतिको दृष्टिकोण परिवर्तन गर्न अत्यन्त जरुरी देखिन्छ ।
गिद्धलाई विभिन्न धर्मग्रन्थमा छुट्टाछुट्टै ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । जस्तै हिन्दु धर्मको कुरा गर्ने हो भने, गिद्धलाई रामायणमा सीता माताको हरणको समयमा रावणको विरोध गर्ने जटायुको नामले पनि चिनिन्छ, जसले एक साहसी पन्छीको परिभाषा दिएको छ । बुद्ध धर्ममा गिद्धलाई स्वर्ग लैजाने माध्यमको रूपमा पूजा गरिने गरिन्छ । त्यस्तै गरि अन्य विभिन्न धर्ममा पनि गिद्धको परिभाषा कतै नकारात्मक ढङ्गले त कतै सकारात्मक ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
हामीले विश्वास गर्ने ग्रन्थले गिद्धलाई जसरी प्रस्तुत गर्छ सोही कुरा सही नै हो वा पूर्णतः गलत नै हो भन्न पनि सकिँदैन कि जस्तो लाग्छ । त्यसैले हाम्रो समाजको गिद्ध प्रतिको गलत धारणा हटाउन पनि अत्यन्तै जरुरी देखिन्छ । हाम्रै टोल छिमेकमा अझै पनि घरको छानोमा गिद्ध आएर बस्दा अशुभ हुने, त्यसको छेउमा पुग्दा वा छुँदा नुहाएरै मात्रै शुद्ध हुन्छौ भन्ने जस्ता कुराहरूले निकै गलत सन्देश फैलाइरहेका हुन्छन् । जुन प्रजातिले वातावरणको हानिकारक जीवाणुलाई नष्ट गरेर हामीलाई एउटा स्वच्छ पर्यावरणको उपहार दिएको छ उसैलाई अशुद्ध भन्न अलि नमिल्ने पो हो कि ? एकपटक सोचौँ है त !
विश्वमा कुल २३ प्रजातिको गिद्धहरू पाइन्छ, जसमध्ये नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने गिद्धहरू मध्ये ४ प्रजाति अति सङ्कटापन्न र १ प्रजाति सङ्कटापन्न रातोसूचीमा रहेका छन् । सन् १९८० को दशकमा नेपालमा ५–१० लाखको हाराहारीमा गिद्धको सङ्ख्या रहेको तथ्य अध्ययनले देखाउँछ। त्यसपछिको स्थिति अवलोकन गर्ने हो भने गिद्धको सङ्ख्यामा भारी गिरावट आएको पाइएको छ । नेपालमा सन् १९९० को दशकमा गिद्ध लगभग लोप नै भैसकेको जस्तो अवस्था थियो । यसरी गिद्धको सङ्ख्यामा भारी गिरावट आउनुमा विभिन्न कारणहरू छन् जुन बढ्दो मानवीय गतिविधिले नै गर्दा भएको बुझ्न सकिन्छ । जसमा मुख्यतया पशुहरूमा प्रयोग गरिने डीक्लोफेनाक नामक औषधि जसले गर्दा पशुहरूको मांसपेशीमा विषालु पदार्थ जम्मा भएर रहेको देखियो ।
उक्त पशुको मृत्यु पश्चात् गिद्धको खानामा सोही विषालु रसायनको कारणले गर्दा गिद्धको मिर्गौलामा नकारात्मक असर परी गिद्धको मृत्यु तीव्र गतिमा भएको पाइएको थियो । सोही कारणलाई ध्यानमा राखी नेपाल सरकारले यस औषधिको प्रयोगमा सन् २००६ देखि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समयमा प्रयोग हुने औषधिहरूको पनि गिद्धमा असर परेको अध्ययनले देखाएको छ । हालसालै मात्रै कावासोतीमा ५ वटा मृत गिद्ध फेला परेका थिए जसको कारण पनि विषालु जनावरको सेवन नै आशङ्का गरियो । गिद्धको सङ्ख्यामा ह्रास आउनुको अन्य कारणहरूमा बिजुलीको नाङ्गो तार, वासस्थानको ह्रास, पर्याप्त खानाको कमीले र नदी दोहन जस्ता कार्यले गर्दा पनि गिद्धको सङ्ख्यामा प्रभाव पर्न गएको बुझ्न सकिन्छ ।
नेपालमा गिद्धको सङ्ख्यामा अचानक कमी आएपछि यस प्रजातिको पुनः स्थापनाको लागि धेरै पहल भएका थिए । सन् १९९० को दशकपछि गिद्ध संरक्षणमा मद्दत पुर्याउनको लागि चितवनमा गिद्ध प्रजनन केन्द्रको स्थापना पनि भएको थियो । जसले गिद्ध संरक्षणमा उल्लेखनीय काम गरेको थियो भने पछिल्लो समयमा नवलपरासीमा जटायु रेस्टुरेन्ट भनेर गिद्धको सङ्ख्या बढाउने उद्देश्यले काम भइरहेको छ, जुन स्थानीय निकायको सहयोग बाट नै सम्भव भएको देखिन्छ ।
हाल नेपालमा ७ वटा गिद्धको रेस्टुरेन्ट सुचारु गरिएको छ जसले गिद्ध संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने नै छ । यसको कारणले पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुगेको पाइन्छ पछिल्लो समय गिद्धको अध्ययन अनुसन्धान बढ्दै गरेको अवस्थामा यसको संरक्षणमा निकै चासो बढ्दै गइरहेको छ र नेपालको संरक्षण कार्यको विश्वमा उल्लेखनीय ख्याति प्राप्त भइरहेको छ । हाल नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट गिद्ध संरक्षणको कार्य योजना (२०२३(२०२७) बनाइएको छ जसको मुख्य उद्देश्यहरूमा पशुहरूमा प्रयोग हुने विषालु औषधिमा रोक, वैज्ञानिक अनुसन्धानमा प्रोत्साहन, वासस्थानको संरक्षण, जनचेतनाको विकास र दिगो रूपमा गिद्ध वासस्थान सुनिश्चितताको लागि स्थानीयसँगको समन्वय जस्ता कार्यहरू रहेका छन् । जसले गिद्ध संरक्षण दिगो रूपमा सुनिश्चित हुने आशाको सङ्केत पनि दिएको छ ।
गिद्धका रोचक तथ्यहरू,
- गिद्धले आफ्नो शरीरको वजन बढी भएको महसुस भयो भने उल्टी गरेर आफ्नो शरीरको वजन सन्तुलनमा राख्ने गर्छन् ।
- गिद्धले आफ्नो शरीरको तापक्रम सन्तुलनमा राख्नको लागि आफ्नै खुट्टामा पिसाब गर्ने गर्छन् ।
- गिद्धको खुट्टा कमजोर हुने भएकाले खुट्टाको भरमा आफ्नो खाना एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सक्दैनन् ।
- गिद्धले मर्न लागेको जीवजन्तु घेरेर मार्छन् भन्ने गलत विश्वास पनि छ जुन गलत हो, गिद्धले पूर्णतः मरेको जीवको मात्रै सेवन गर्छन् ।
- गिद्धको टाउकोमा कुनै प्वाँख हुँदैनन् जसले गर्दा यिनीहरूले खाना खाएपछि सफा हुनको लागि धेरै समय लाग्दैन ।
हाम्रो समाजमा गिद्धको बारेमा जान्नु एउटा निकै महत्त्वपूर्ण र आवश्यक छ । हाम्रो बुझाइले यस प्रजातिलाई कसरी ठम्याएको रहेछ त भन्ने कुराको बोध हुन जरुरी छ । मेरो हिसाबमा मैले पहिले बुझेको गिद्ध र यसको गुण अध्ययन पछिको गिद्धमा धेरै नै फरक भेटेकी छु । अब हामीले थाहा पाएको गिद्धको बारेमा थोरै पनि परिवर्तन आयो भने यसको संरक्षणको कार्यमा थप सहयोग पुर्याउन सकिन्छ ।
विगतमा गिद्धको सङ्ख्यामा आएको परिवर्तन चिन्ताजनक नै छ, त्यस्तो स्थिति फेरी पनि नदोहोरिएला भन्न पनि सकिँदैन । त्यसैले गिद्ध संरक्षण र वासस्थान सुनिश्चित गर्नको लागि हामी आफै जागरूक नभए सम्भव नहुन सक्छ । त्यसैले गिद्धको बारेमा फैलिएका अफवाह हटाउनको लागि हामीले आफ्नो घरबाट नै सुरुवात गर्न अति जरुरी छ, जसले हाम्रो पर्यावरणको कुचीकारको संरक्षण दिगो रूपमा गर्नको लागि निकै ठुलो भूमिका खेल्ने छ ।
पूजा पौडेल वातावरण अध्ययन तथा संरक्षण केन्द्रकी अनुसन्धानकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न